उम्मेदवारी खारेज भएपछि माइतीघरमा र्याली गर्दै डा. तोसिमा कार्की

काठमाडौँ । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेकी डा. तोसिमा कार्कीले आज माइतीघर मण्डलामा र्याली गर्ने भएकी छन् । उनले बिहान ११ बजे समर्थकसहित र्याली तथा भेला गर्ने भएकी हुन् ।
निर्वाचन आयोगले शनिबार कार्की उम्मेदवार हुन अयोग्य रहेको विज्ञप्ति निकालेको थियो । सार्वजनिक पदमा बसेर लाभ लिइरहेका व्यक्तिले राजीनामा नदिई उम्मेदवारी दिएको भन्दै आयोगले कार्कीको उम्मेदवारी खारेज गरेको हो । कार्की नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य हुन् ।
उनी काउन्सिलको बैठक तथा अनुगमनमा जाँदा भत्ता लिएको पाइएकोले पनि आयोगको भनाइ छ । तर कार्कीले भने काउन्सिलमा निश्चित तलब नहुने, बैठकमा उपस्थित हुँदा भत्ता मात्रै पाउने र निर्वाचित सदस्य भएकोले नेपाल मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नहुने धारणा पाइएको उल्लेख गर्दै आएकी छन् ।
आफूले गत भदौ २८ मा पत्र लेखेर काउन्सिलको सदस्य पद लाभको पद हो वा होइन भन्नेबारे आयोगलाई सोधेको पनि उनले उल्लेख गरेकी छन् । तर यो पत्रमा आयोगले कार्कीलाई जवाफ दिएको थिएन । उम्मेदवारी खारेजविरूद्ध आफू सर्वोच्च अदालत जाने पनि उनले बताएकी छन् । ‘उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयविरुद्ध म सर्वोच्च जान्छु,’ उनले भनिन् ।








