एउटा घरमा महिला एमाले भए उक्त घरपरिवार नै एमाले हुन्छन् : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेको पोलिटब्यूरो सदस्य महेश बस्नेतले आम नेपाली महिलाहरु न्यायीक फैसला गर्ने र एमालेलाई भोट हाल्ने दाबी गरेका छन्। उनले एउटा घरमा महिला एमाले भए उक्त घरपरिवार नै एमाले हुने समेत बताए ।
अखिल नेपाल महिला संघ भक्तपुर क्षेत्र नं. २ ले सोमबार भक्तपुरको थिमीमा आयोजना गरेको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा महिलाले खेलेको भूमिका अतुलनिय रहेको बताए।
भक्तपुर क्षेत्र नम्बर २ का एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका बस्नेतले महिला एमालेको भोट बैंक भएको समेत बताएका छन्। ‘एमालेका महिलाले हक अधिकारलाई स्थापना गर्न मात्र हैन, मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रको नेतृत्व समेत पुरुषले गरेको नेतृत्वभन्दा बढी सफल भएको हो,’ बस्नेतले भने, ‘एक महिला शिक्षित भयो भने त्यो परिवार नै शिक्षित हुन्छ। त्यसैले एउटा घरमा महिला एमाले भए उक्त घरपरिवार नै एमाले हुन्छन्। त्यसैले महिला एमालेको भोट बैंक हो।’
महिला आन्दोलनकै उपलब्धीले अनेमसंघको पूर्वअध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति हुन सफल भएको उल्लेख गर्दै बस्नेतले एमालेकै नेतृत्वमा प्रत्येक स्थानीय तहमा प्रमुख वा उपप्रमुख मध्ये एक महिला अनिवार्य व्यवस्था आएको दाबी गरे।








