बाढीपीडित भन्छन् :‘चारपटक बाढी पस्यो, नेताहरू सुखमा थिए, हामी भोकभोकै पीडामा छट्पटायौँ’

टीकापुर, । कैलालीको भजनीका बाढीपीडित बाढीको दीर्घकालीन समस्या समाधान गर्ने नेतालाई मात्र भोट दिने बताउन थालेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेताहरू भोट माग्न घरदैलोमा जान थालेपछि त्यहाँका स्थानीय नेतालाई बाढीले तहसनहस भएको बस्ती देखाउन थालेका छन् । उनीहरु भोट माग्नुअघि पीडितको पीडामा मल्हम लगाउन माग गरिरहेका छन् । भजनीमा यस वर्ष पटक–पटक गरी आएको बाढीले हजारौँ परिवार प्रभावित भएका छन् भने सयौँ परिवार विस्थापित भएका थिए । भजनीमा विस्थापित भएका केही परिवार अझै घर फर्कन नसकेको अवस्था छ । बाढीले भजनीमा घरखेत डुबानमा पर्नुका साथै कतिपयका घर भत्किएर बस्ने अवस्था नभएपछि उनीहरु अझै सडक किनार र खुला ठाउँमा पाल टाँगेर बसिरहेका छन् ।

बाढीले सबैभन्दा बढी क्षति पुगाएको वडा नं ८ का नागरिक यो पार्टी, त्यो पार्टीभन्दा पनि बाढीको दीर्घकालीन समाधानको योजना ल्याएर आउने नेता जिताउने बताउन थालेका छन् । भजनी–८ जनकपुर कालिकाटोलका प्रकाश साउद निर्वाचन नजिकिएपछि नेताहरु भोट माग्न आउन थालेकाले दीर्घकालीन समस्या समाधान गर्नेलाई मात्र मतदान गर्ने तयारी भएको बताउँछन् । ‘हामीलाई ड्यामसहित नदी नियन्त्रण गर्ने, पीडितका समस्या दीर्घकालीनरूपमा समाधान गर्नेलाई भोट दिन्छौँ’, उनी भन्छन् , ‘यसपटक चारपटक बाढी पस्यो, नेताहरू सुखमा थिए, हामी भोकभोकै पीडामा छट्पटायौँ, हाम्राबारेमा सोच्ने नेतृत्व चाहियो ।’

भजनीको सोनाहाफाटाकी कृष्णा चौधरी पनि बाढीको समस्या समाधान गर्ने नेता चाहिएको बताउँछन् । उनी पीडित बस्ती अन्यन्त्र सार्ने, बाढीपीडितलाई कम्तीमा छ महिना खाद्यान्न उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने माग गर्छन् । उनी काम गर्ने नेतालाई मात्र भोट दिने बताउँछन् । ‘हरेक वर्ष बाढीले धनजन क्षति गरिरहेको छ । बाढीले नागरिकको समेत बिचल्ली हुने गरेको छ’, उनी भन्छन्, ‘हामीले हरेक निर्वाचनमा नेता चुन्यौँ, चुनेका नेताहरू सुखको जीवन बिताइरहेका छन् । हाम्रा समस्या उस्तै छन् । हामीलाई सुखका दिन ल्याउने नेता चाहियो ।’

कृष्णा एक महिनासम्म भजनीका नागरिकले बाढीका समस्या झेल्दा नेताहरूलाई कुनै फरक नपरेको गुनासो गर्छन् । ‘हामी एक महिनासम्म खुला आकाशमा बस्यौँ, घाम पानी, दुर्गन्धले सतायो, सडकमा लामखुट्टेले सताए’, उनी थप्छछन्, ‘गर्भवती, सुत्केरी, बालबालिका पनि सडकमै बसे, लामखुट्टेको टोकाइबाट बच्ने झुलसमेत थिएन । अब कस्ता नेतालाई भोट हाल्नु, हामी रनभुल्लमा छौँ ।’

भजनीका नागरिक हरेक वर्ष बाढीले पीडित हुन्छन् । यस वर्षजस्तो पीडा कहिल्यै भोगेका थिएनन् । यस वर्ष पटक–पटक बाढीले सतायो । यसरी बाढीले सताए पनि नेता सघाउन नआएको भजनीकै फागुराम चौधरीको गुनासो छ । ‘अब गफ होइन, काम गर्ने नेता चुन्ने हो’, उनी भन्छन्, ‘बाढीबाट जोगाउने योजनाबारे हाम्रा बस्तीमा छलफल हुनुपर्छ । हामीलाई वाचामात्र गर्ने होइन बलियो आधार चाहिन्छ । अनिमात्र भोट दिन्छौँ नभए यसपालि हामी मतदान गर्दैनौँ ।’

बाढीलगत्तै निर्वाचनका गतिविधि सुरु भएपछि पीडित बस्तीका माग बाढी समाधानकै हुने गरेका छन् । उनीहरु अन्य समस्याभन्दा पहिले बाढीबाट मुक्ति दिलाइदिन माग गर्न थालेका हुन् । विभिन्न राजनीतिक दल निर्वाचन केन्द्रित गतिविधि गर्न जान थालेपछि बाढीपीडितले बाढीले उजाडेको बस्ती, नोक्सान गरेको खेतबारी देखाउन थालेका छन् । उनीहरु नेताका भाषण सुन्नुभन्दा घर र खेतबारी अवलोकन गरिदिन आग्रह गर्न थालेको बताउँछन् । ‘‘नागरिकहरू दिक्क छन्, नेता आए भेटौँला भन्नुभन्दा पनि आफ्ना समस्या हेर्ने मानिस आए हुन्थ्यो भन्ने चाहन्छन्”, स्थानीय उद्धारकर्मी जयप्रसाद ढुङ्गाना भन्छन् , ‘यहाँका नागरिक राहतमा एक कट्टा चामल नभइ समस्या समाधान गरिदिन माग गर्न थालेका छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + seven =