गल्फ : बागमतीलाई तीन स्वर्ण

पोखरा । नवौँ राष्ट्रिय प्रतियोगिता अन्तर्गत गल्फको व्यक्तिगत विधाको उपाधि नेपाल आर्मीका सुवास तामाङले जितेका छन् ।
पोखरा–१४स्थित हिमालयन गल्फ कोर्समा भएको प्रतिस्पर्धामा सुवासले सद्भाव आचार्यलाई एक स्ट्रोकले पछि पार्दै स्वर्ण जितेका हुन् । प्रदेश नं १ का युवराज भुजेलले कास्य पदक जिते ।
पहिलो दिन एक अन्डर ६८ खेलेका सुवासले दोस्रो दिन लेभल पार खेल्दै १३७ स्कोरसहित स्वर्ण पदकमा आफ्नो नाम लेखाए । सद्भावले रजत पदकमा चित्त बुझाए । युवराज भुजेल भने कास्य पदकमा चित्त बुझाए । भुजेल आचार्य भन्दा तीन स्ट्रोकले पछि परेका थिए ।
टिम इभेन्टको प्रतिस्पर्धामा बागमतीले स्वर्ण पदक जित्दा प्रदेश १ ले रजत र त्रिभुवन आर्मीले कास्य पदक जितेको छ । महिला तर्फको प्रतिस्पर्धामा बागमतीकी कष्मिरा शाहले स्वर्ण, बागमतीकै तारा कार्कीले रजत र प्रदेश नं १ की सुष्मा सिग्देलले कास्य पदक जितिन् ।
महिला टिम इभेन्टमा बागमतीले स्वर्ण जित्दा प्रदेश १ ले रजत र गण्डकीले कास्य पदक जितेको छ । व्यक्तिगत विजेताले नगद २५ हजार प्राप्त गरे ।








