गठबन्धनको सरकारले देशमा आत्मनिर्भरता स्थापित गर्छ : प्रवक्ता महत (भिडिओ)

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनको सरकारले नै देशमा आत्मनिर्भरता स्थापित गर्नसक्ने दाबी गरेका छन्।

शनिवार बाम लोकतान्त्रिक गठबन्धन नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस रामेछाप जिल्ला काठमाडौं सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रवक्ता महतले गठबन्धन सरकारले नै देशमा पर्यावरणमैत्री अर्थतन्त्रलाई अघि बढाउने बताए।

उनले देशमा विद्युत उत्पादनलाई व्यापक वृद्धि गरी निर्यात र खपत बढाउने, परनिर्भरतालाई समाप्त गर्ने, विद्युतमा आधारित ट्रान्सपोटेशन सिस्टम सञ्चालन गरी पेट्रोलियम पदार्थको आयात घटाउने, देशभित्रै उद्योग व्यवसाय बढाउने, पर्यटन प्रवर्द्ध देशभर गर्ने काम गठबन्धनबाट नै सम्भव रहेको बताए।

उनले देशमा समृद्धिको विकल्प नरहेको भन्दै नेपाली युवाहरु देशभित्रै रोजगारी प्राप्त गर्ने अवसर सिर्जना गर्नुपर्ने पहिलो आवश्यक्ता भएको जिकिर गरे।

प्रवक्ता महतले रोजगारीको लागि वैदेशिक निर्भरताको अन्त्य गरी समृद्धिका लागि लगानी बढाउन, लगानीको लागि लगानीमैत्री वातावरण निर्माण गर्न आवश्यक भएको बताए। उनले आगामी निर्वाचन गठबन्धनले जितेमात्रै देशले लय समात्ने बताए।

‘देशमा अब समृद्धिको विकल्प छैन । नेपाली युवाहरु देशभित्रै रोजगारी प्राप्त गर्ने अवसर सिर्जना गर्नुछ । रोजगारीको लागि वैदेशिक निर्भरताको अन्त्य गर्नुछ । त्यसका लागि समृद्धि आवश्यक छ’, उनले भने, ‘समृद्धिका लागि लगानी आवश्यक छ । लगानीको लागि लगानीमैत्री वातावरण आवश्यक छ । सुशासन, स्थायित्व आवश्यक छ । त्यसका लागि गठबन्धनको बाटोमा हामी छौँ । यसले लय पनि समातेको छ । गठबन्धनमा रहेर हामीले निर्वाचन जित्यौँ भने, देशले लय समात्छ।’

प्रवक्ता महतले संविधानको रक्षा, स्थायित्व र समृद्धिको लागि गठबन्धन बनेको जिकिर गर्दै पार्टीको केन्द्रिय नेतृत्वको नारा संविधानको रक्षा, स्थायित्व र समृद्धिको लागि गठबन्धन हुन आवश्यक भएको बताए। उनले नेपालमा शान्तिको नारा अहिलेको लागि महत्वपूर्ण नरहेको बताए। उनले संविधानमा भएको भावना, मर्मलाई कार्यान्वयन गर्ने चुनौती रहेको बताए।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारीताले देश अस्थिरतातिर धकेलिएको आरोप पनि उनले लगाए। प्रवक्ता महतले गठबन्धनको मुल लक्ष्य प्रतिगमनको दिशामा देशलाई लैजाने प्रयासलाई रोक्न र संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको दाबी गरे।

गठबन्धनको सहयोगमा नै कोभिड १९ को समस्या समाधान र अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलन गरेको उनले दाबी गरे। महतले अध्यक्ष ओलीकै नेतृत्व रहेको खण्डमा देशमा भयरहीत वातावरणमा स्थानीय तहको निर्वाचन हुन नसक्ने दाबी गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *