पोखरामा नवौं राष्ट्रिय खेलकुदको भब्य उद्घाटन

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको छ । पोखरा रंगशालामा शुक्रबार साँझ उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् ।
समारोहा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले झण्डोत्तोलन, सातौं दक्षिण एशियाली खेलकुद (साग) का स्वर्ण पदकधारी तथा ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक टर्च प्रज्ज्वन गरेका थिए । सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देश वाचन गरिएको थियो ।

उद्घाटन समारोहमा विभिन्न प्रस्तुतिले पर्यटकीय नगरी पोखरा गुलजार बनेको थियो ।

एकताबद्ध देश, खेलकुदको सन्देश नाराका साथ २८ असोजदेखि ३ कात्तिकसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा हुने प्रतियोगितामा ७ प्रदेश, ३ विभागीय र एनआरएनसहित ११ टिमले भाग लिएका छन् ।

समारोहमा सबै सहभागी टिमहरुले मस्कटसहित मार्चपास गरेका थिए । सातै प्रदेशका सांस्कृतिक झाँकी, विद्यार्थीबाट ड्रिल प्रदर्शन, विभिन्न सांस्कृतिक कार्यक्रम, आतिशवाजी र मनोरञ्जनात्मक कार्यक्रमबीच उद्घाटन भव्य बनेको थियो ।

गायिका इन्दिरा जोशी, गायक एवं संगीतकार कालिप्रसाद बास्कोटा, कुन्ती मोक्तान लगायतले गीत प्रस्तुत गरेका थिए । उद्घाटन समारोहमा उपराष्ट्रपति पुन, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतियोगितामा खेलाडी तथा टिमले कुल ४०४ स्वर्ण र सोही अनुपातमै रजत र कास्य पदक हात पार्ने छन् ।

२०३८ सालमा काठमाडौंमा पहिलो राष्ट्रिय खेलकुद प्रारम्भ भएको थियो । २०४० सालमा पोखरामा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा ४ दशकपछिमात्र अर्को संस्करणको मौका पाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *