चितवन –२ : राज्यमन्त्री र सांसदलाई रवि लामिछानेको टक्कर

चितवन । चितवन क्षेत्र नम्बर २ तराई र पहाडलाई जोड्ने जिल्ला हो । यो क्षेत्र जिल्लाकै सबैभन्दा अग्लो पहाड सिराइचुलीदेखि नारायणगढ बजारसम्म फैलिएको छ । कालिका नगरपालिकाका ११ वटा वडा, इच्छाकामना गाउँपालिकाका ७ वटा वडा र भरतपुर महानगरपालिकाका १० वटा वडा मिलेर चितवन क्षेत्र नम्बर २ बनेको हो ।

गिठ्ठा–भ्याकुर खाएर जीविकोपार्जन गर्ने चेपाङदेखि चिल्ला गाडीमा गुड्ने धनाढ्यसम्म यस क्षेत्रका मतदाता छन् । मंसिर ४ गते हुने संघीय चुनावमा भौगोलिक विविधताले भरिएको यस क्षेत्रमा कसले बाजी मार्ला भनेर चर्चा–परिचर्चा हुनथालेको छ ।

यो क्षेत्रबाट यसअघि निर्वाचित भएका नेकपा एमालेका कृष्णभक्त पोखरेल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको विश्वासपात्र हालका राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वसञ्चारकर्मी रवि लामिछानेलगायत चुनावी मैदानमा छन् ।

२०७४ सालको संघीय चुनावमा यस क्षेत्रमा नेकपा एमालेका नेता कृष्णभक्त पोखरेल विजयी भएका हुन् । उनी एमालेबाट दुई पटक सांसद भइसकेका नेता हुन् ।

वाम गठबन्धनबाट उमेदवार बनेका पोखरेलले कांग्रेसका उमेदवार शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीलाई १७ हजार ३ सय ५६ मतले पराजित गरेका हुन् । पोखरेलले ४४ हजार ६ सय ७० मत ल्याउँदा अधिकारीले २७ हजार ३ सय १४ मत प्राप्त गरेका थिए । नेता पोखरेल फेरि चुनावी मैदानमा होमिएका छन् । उनी भन्छन्, ‘नेकपा एमाले १० हजार बढी मतान्तरले विजयी हुन्छ ।’ उनले आफ्नो प्रतिस्पर्धी नै नभएको बताए । उनले भने, ‘रवि लामिछाने प्रतिस्पर्धी नै होइनन्, उमेश श्रेष्ठलाई मतदाताले चिन्दैनन्, १० वर्षभन्दा बढी समय मैले यहाँका मतदातासँग बसेर बिताएको छु ।’ नेता पोखरेलले आफ्नो जित सुनिश्चित भएको दावी गरे ।

चितवन क्षेत्र नं २ सत्तारुढ गठबन्धनको सहमतिअनुसार कांग्रेसको भागमा परेको हो । कांग्रेसले यस क्षेत्रमा पार्टी सभापति शेरबहादुर देउवाको विश्वास पात्रको रुपमा चिनिएका उमेश श्रेष्ठलाई चुनावी मैदानमा उतारेको छ । श्रेष्ठ हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री हुन् ।

नेता श्रेष्ठले चितवन क्षेत्र नं २ का जनताको माग अनुसार नै आफ्नो उमेदवारी रहेको बताउँदै आएका छन् । उनी भन्छन्, ‘चितवन क्षेत्र नं २ का जनताले मलाई जिताउँछन्, मैले यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ, यस क्षेत्र मेरो लागि कुनै नौलो छैन, वर्सौदेखि परिचित छ ।’

यस क्षेत्रमा पहिलो पटक सञ्चारकर्मको जगतमा चर्चा कमाएका रवि लामिछाने पनि उठेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने आफ्नो अब स्थायी बसोबास नै चितवन क्षेत्र नं २ मा हुने बताए । उनले आफ्नो प्रतिस्पर्धीलाई सामान्य रुपमा लिँदै प्रतिस्पर्धा गरेर अघि बढ्ने बताए । उनले भने, ‘जतिबेला म समस्यामा थिएँ, त्यतिबेला चितवनका जनताले मलाई साथ दिएका थिए, मलाई राजनीतिमा ल्याउन प्रेरणाा दिएकै चितवनले हो ।’ उनले चितवन क्षेत्र नं २ ले देखाएको सदासयता, माया, उत्साह र प्रेरणा नै आफ्नो जित्ने आधार भएको बताए ।

स्थानीय तहको चुनावलाई फर्केर हेर्दा

भरतपुर महानगरका १० वटा वडाको हिसाब : चितवन क्षेत्र नं २ मा भरतपुर महानगरपालिकाका १० वटा वडा पर्छ । भरतपुरको १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ नम्बर वडा यस क्षेत्रमा पर्छ । अहिलेको स्थानीय तहको चुनावमा यस क्षेत्रमा पर्ने भरतपुरको ३, ११ र १२ मा मात्र एमाले विजयी भएको हो भने अन्य ७ वटा वडामा गठबन्धनका उमेदवारले जितेका थिए । वडा नं ७ मा एकीकृत समाजवादीका उमेदवार विजयी भएका हुन् ।

स्थानीय तहको चुनावमा भरतपुरका यी १० वटा वडामा आएको मतगणना गर्दा गठबन्धनको मत धेरै छ । १० वटा वडामा स्थानीय तहको चुनावमा गठबन्धनले १९ हजार २८१ मत ल्याएको छ ।

यता, राप्रपासँग मिलेको एमालेले १० वटा वडामा जम्मा १७ हजार १२८ मत ल्याएको थियो । भरतपुरका १० वटा वडामा गठबन्धनले एमालेको भन्दा २१५३ मत बढी ल्यायो । मंसिर ४ को चुनावमा पाँच दलीय गठबन्धन इमानदाररुपमा कायम भएमा स्थानीय तहमा बढी आएका मत संघीय चुनावमा पनि गठबन्धनका उमेदवारले ल्याउन सक्ने देखिन्छ । यसरी हेर्दा एमालेका उमेदवारलाई भरतपुर महानगरभित्रबाट भने गठबन्धनका उमेदवारले उछिन्ने सम्भावना देखिन्छ ।

कालिका नगरपालिकाको हिसाब : पूर्वी चितवनको कालिका नगरपालिका चितवन क्षेत्र नम्बर २ मा पर्छ । अहिलेको स्थानीय तहको चुनावमा कालिका नगरपालिकाको मेयर र उपमेयरमा एमाले उमेदवार निर्वाचित भएका छन् । मेयरमा विनोद रेग्मी निर्वाचित भएका छन् ।

रेग्मी १४३ मतअन्तरले विजयी भएका हुन् । रेग्मीले १० हजार ७१४ मत ल्याउँदा पाँच दलीय गठबन्धनबाट कांग्रेसका शिवराम केसीले १० हजार ५७१ मत प्राप्त गरे ।

कालिका नगरपालिकामा पाँच दलीय गठबन्धन कायम भएमा एमाले र गठबन्धनका उमेदवारको कडा टक्कर हुने देखिन्छ । स्थानीय तहको चुनावमा पनि कडा टक्करका बीच रेग्मी विजयी भएका हुन् । त्यो बेलाको मतगणनाको ट्रेन्ड हेर्दा मंसिर ४ को चुनावमा पनि कडा टक्कर हुने प्रक्षेपण गरिएको छ ।

कालिका नगरपालिकामा जम्मा ११ वटा वडा छन् । स्थानीय तहको चुनावमा कालिकाको वडामा आएको मतको हिसाब गर्दा गठबन्धनका उमेदवारले जम्मा १० हजार ६५७ मत ल्याएका थिए । यस्तै, वडामा एमालेका उमेदवारले जम्मा १० हजार ४९० मत ल्याएका थिए ।

यस पालिकाका मेयर तथा उपमेयर एमालेका उमेदवार विजयी भए पनि वडामा गठबन्धनका उमेदवारले १६७ मत बढी ल्याएका थिए । सर्सर्ती हेर्दा कालिका नगरपालिकामा गठबन्धन र एमालेका उमेदवार चुनावी मैदानमा उत्रेको खण्डमा कडा टक्कर हुने देखिएको छ । स्थानीय तहमा एमालेले बढी मत ल्याएको हुनाले कालिकामा एमालेका उमेदवारले बढी मत ल्याउन सक्ने देखिएको छ ।

इच्छाकामना गाउँपालिकाको हिसाब : चितवन क्षेत्र नम्बर २ मा इच्छाकामना गाउँपालिका पनि पर्छ । यस पालिकाले जित–हारमा निर्णायक भूमिका खेल्न सक्ने देखिन्छ । यस पालिकामा अहिलेको स्थानीय तहको चुनावमा मेयर र उपमेयर दुवै एमालेका उमेदवारले जितेका हुन् ।

इच्छाकामना गाउँपालिकामा अहिलेको स्थानीय तहको चुनावमा दानबहादुर गुरूङ विजयी भएका हुन् । उनले ६ हजार ११०मत ल्याएर गठबन्धनकी उमेदवार गीताकुमारी गुुरूङलाई पराजित गरेका हुन् । गीताकुमारीले ४ हजार ६०८ मत ल्याएकी थिइन् ।

यस पालिकामा सातवटा वडा छन् । यस पालिकाको वडामा एमालेका उमेदवारले ५ हजार ५१५ मत ल्याएका थिए ।

गठबन्धनका उमेदवारले ५ हजार १६ मत ल्याएका थिए । वडामा आएको मतको हिसाब गर्दा इच्छाकामना गाउँपालिकामा ४९९ मत एमालेको बढी आएको थियो । इच्छाकामनामा पनि एमालेले गठबन्धनका उमेदवारको तुलनामा बढी मत ल्याउने देखिन्छ ।

इच्छाकामना र कालिका नगरपालिकामा मेयर र उपमेयर एमालेले जितेको हुनाले यहाँबाट एमालेले भोट बढाउन सक्ने देखिन्छ । यसरी हेर्दा अबको चुनावमा भरतपुरका वडाहरुमा गठबन्धनका उमेदवारले उछिन्ने सम्भावना रहन्छ भने कालिका र इच्छाकामनाका वडाहरुमा एमालेले बढी मत ल्याउन सक्ने देखिएको छ ।

त्यसकारण चितवन क्षेत्र नम्बर २ हात पार्न एमाले र गठबन्धन दुवैलाई सकसपूर्ण नै छ । यद्यपि उमेदवार छनोट, कार्यशैली, प्रचारशैलीलगायतका कारणले मत धेरै नै फेरबदल हुन पनि सक्नेछ ।

रवि लामिछानेको ‘इन्ट्री’

चितवन क्षेत्र नम्बर २ मा कांग्रेस एमाले दुवैले जित्ने दाबी गरिरहँदा रवि लामिछानेको इन्ट्रीलाई पनि कम आंकलन गर्न नहुने देखिएको छ । जतिबेला लामिछाने आत्महत्या दुरुत्साहनको मुद्दामा प्रहरीको नियन्त्रणमा थिए, त्यतिबेला चितवन २ नं क्षेत्रमा नै ठूलो जनसागर उर्लेको थियो । लामिछानेले अदालतबाट सफाइ पाएपछि उनको स्वागतमा चितवन पूरा उर्लेको थियो ।

सञ्चारकर्ममा गरेको छविका कारण धेरै मतदाताले रविलाई भोट दिने सम्भावना पनि रहेको छ । पटकपटक हेरिरहेको उमेदवारलाई भन्दा नयाँ उमेदवारलाई भोट दिने ट्रेन्डलाई रवि लामिछानेले ‘क्याच’ गर्न सकिने पनि देखिएको छ ।

चितवन २ मा एकपटक रविलाई भन्ने नारा पनि चल्रिहेको पाइन्छ । स्वतन्त्रदेखि एमाले र कांग्रेस पार्टी रुष्ट बनेका कार्यकर्ताहरुको मत रविलाई आउने सम्भावना पनि छ । चितवन २ मा रवि लामिछानेको इन्ट्रीले त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *