निर्वाचन २०७९ : आन्तरिक किचलो नै दलहरूको मुख्य चुनौती

सत्ता गठबन्धन र एमाले नेतृत्वको गठबन्धन दुबैतिर बागी उम्मेदवार समस्याका रुपमा देखा परेको छ । बागी उम्मेदवारी फिर्ता गर्न सक्नु र नसक्नुले पनि चुनावी परिणामलाई तालमाथि पार्नेछ ।

काठमाडौं, २४ असोज । आगामी चुनावका लागि उम्मेदवारी दर्ता गरेका दलहरु बागी उम्मेदवार व्यवस्थापनमा लागेका छन् ।
निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत आइतबार मनोनयन दर्ता गराएका उम्मेदवारहरूको विरोधमा उजुरी लिएको छ । मङ्गलबारसम्म प्राप्त उजुरीउपर अध्ययन गरेर निर्णय लिनेछ ।

मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने समय असोज २४ गते अपरान्ह ३ बजेदेखि २५ गते साँझ ५ बजेसम्म तोकिएको छ । असोज २५ गते साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

त्यसपछि मनोनयन दर्ता गराएका उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिने भए असोज २६ गते बिहान १० देखि दिउँसो १ बजेसम्मको समय दिइएको छ । उम्मेदवारी फिर्ता लिने समयसम्म दलहरु आन्तरिक असन्तुष्टि मिलाउने र वागी उम्मेदवारी फिर्ताका लागि वातावरण मिलाउनेमा केन्द्रित हुनेछन् । दलहरुले अन्तिम समयमा आएर आफ्ना निर्णयहरु फेरबदल गरेको र कतिपय अवस्थामा दलीय पद्धति विपरीत नेतृत्वले मनोमानी गरेको भन्दै देशका बिभिन्न निर्वाचन क्षेत्रमा नेताहरुको पार्टीको निर्णय लत्याएर विद्रोह गरेका छन् । कतिपयले भने दलको विकल्पमा स्वतन्त्र उम्मेदवारीको घोषणा पनि गरेका छन् ।

नेकपा एमालेलाई मधेश प्रदेशमा बागी उम्मेदवारले टाउको दुखाएको छ । नेता प्रभु साहले पार्टीले दिएको टिकट लत्याएर रौटहट ३ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । जनता समाजवादी पार्टी (जसपा)सँगको तालमेलका कारण रुष्ट उनले आफूले मात्रै बागी उम्मेदवारी दिएका हेनन् । आफ्नो नेतृत्वमा एमाले प्रवेश गरेका अन्य नेतालाई एमालेले टिकट नदिएको भन्दै साहले मधेश प्रदेशमा जसपाको भागमा परेका सबै क्षेत्रमा साह समूहले स्वतन्त्र उम्मेदवारी दिएको छ । यो बागी समस्या सल्ट्याउन नसक्दा एमालेलाई मधेश प्रदेशमा अप्ठ्यारो पर्नेछ ।

अन्यत्र पनि बागी उम्मेदवार छन् । दाङ १ मा एमालेका उम्मेदवार शान्ता चौधरीविरुद्ध गंगा चौधरी सत्गौवाले उम्मेदवारी दिएकी छन् ।
काठमाडौं–७ मा एमाले उम्मेदवार विरुद्ध एमालेकै रामवीर मानन्धरले बागी उम्मेदवारी दिएका छन् । एमालेबाट कास्की ३ का उम्मेदवार दामोदर बैरागीविरुद्ध एमालेकै प्रदेश सचिवालय सदस्य जगन्नाथ बास्तोलाले बागी उम्मेदवारी दिएका छन् ।

एमाले सचिव पद्मा अर्यालविरुद्ध एमालेकै कपिलदेव न्यौपानेले बागी उम्मेदवारी दिएका छन् । एमाले–जसपा गठबन्धनका उम्मेदवार प्रमोद साहविरुद्ध सर्लाहीमा एमालेकै मानबहादुर खड्काले बागी उम्मेदवारी दिएका छन् । एमाले नेतृत्वको गठबन्धन र सत्ता गठबन्धन दुबैतिर बागी उम्मेदवार समस्याका रुपमा देखा परेको छ ।
नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालकै विरुद्ध कांग्रेसकी माधवी भट्टले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । चितवन–३ मा पनि माओवादी उम्मेदवार भोजराज अधिकारी विश्रद्ध कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले उम्मेदवारी दिएका छन् । काठमाडौं १० मा सत्तागठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार राजन केसीविरुद्ध माओवादी नेता अञ्जना विशंखेले उम्मेदवारी दिएकी छन् ।

कपिलवस्तु १ मा माओवादी कांग्रेसका साझा उम्मेदवार चन्द्रप्रसाद खनाल (वलदेभ)विरुद्ध कांग्रेसका ललित गुरुङले उम्मेदवारी दिए । गठबन्धनका तर्फबाट कास्की ३ का माओवादी उम्मेदवार रामजी बरालविरुद्ध अनिता भुर्तेलले उम्मेदवारी दिए । गुल्मी २ मा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीविरुद्ध कांग्रेसका दामोदर भुसालले उम्मेदवारी दिएका छन् ।

नेपाली कांग्र्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध तनहुँ–१ मा गोविन्दराज जोशीको स्वतन्त्र उम्मेदवारी परेको छ । निवर्तमान सांसद अमरेशकुमार सिंहले सर्लाही–४ बाट कांग्रेसका उम्मेदवार नागेन्द्रकुमार रायविरुद्ध बागी उम्मेदवारी दिएका छन् । सिन्धुपाल्चोक–२ मा कांग्रेस उम्मेदवार मोहन बस्नेतविरुद्ध कांग्रेसकै पूर्वक्षेत्रीय सभापति बद्री चौलागाईंले उम्मेदवारी दिएका छन् ।

टिकट वितरणको असन्तुष्टि बागी उम्मेदवारका रुपमा प्रकट नभएर राजीनामा दिएका उदाहरण पनि छन् । यसको पनि दलहरुले सम्बोधन गर्न सक्नुपर्ने देखिन्छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मानबहादुर रावलले पार्टीबाटै राजीनामा दिए ।

यसकारण दलहरुका लागि आगामी चुनावको पहिलो चुनौती भनेकै आन्तरिक असन्तुष्टि व्यवस्थापन गर्नु रहेको देखिन्छ । किनभने, प्रत्येक जसो दलभित्रबाट बागी उम्मेदवारी परेको छ । बागी उम्मेदवारी फिर्ता गर्न सक्नु र नसक्नुले पनि चुनावी परिणामलाई तालमाथि पार्नेछ । यो विषयलाई दलहरुले ख्याल गरेको पनि देखिन्छ । पार्टीका बिभिन्न कमिटीहरुले गाबी उम्मेदवारी फिर्ताका लागि आग्रह, अनुरोध र निर्देशन औपचारिक र अनौपचारिक रुपमा दवाब दिइरहेका छन् ।

सत्तागठबन्धन मोरङको सोमबार बसेको बैठकले आधिकारिक उम्मेदवार विरुद्धबागी उम्मेदवारी दिनेहरूलाई उम्मेदवारी फिर्ता लिन आग्रह नै गरेको छ । यदि स्वतन्त्र उमेदवारहरूले नामावली फिर्ता गर्न नमाने पार्टीको साधारण सदस्यबाट निलम्बन गरी सम्बधित पार्टिको केन्द्रिय समितिमा सिफारिस गर्ने चेतावनी दिइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *