बाथरुममा चिप्लिएर एमाले नेता बालकृष्ण ढुंगेलको मृत्यु

काठमाडौँ । नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको मृत्यु भएको छ । ओखलढुंगा घर भएका ढुंगेलको शनिबार बिहान काठमाडौंको जडीबुटीस्थित निवासको बाथरुममा चिप्लिएर लड्दा मृत्यु भएकाे हाे ।
घरमा एक्लै रहेका उनको मृत्युपछि आफन्त र एमाले कार्यकर्ता भेला भइरहेका छन् । मिर्गौला फेलसहित मुटुको समेत समस्या झेलिरहेका उनी एमालेको पोलिटब्युरो सदस्य थिए ।
माओवादीले चलाएको जनयुद्धका क्रममा ओखलढुंगाकै उज्जनकुमार श्रेष्ठको हत्या अभियोग लागेर शान्ति प्रक्रियापछि जेल जीवन समेत बिताएका उनी पछिल्लो समय एमालेमा थिए । ढुंगेल माओवादीका तर्फबाट ०६४ मा ओखलढुंगाबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए । २०६४ को संविधानसभा निर्वाचनमा माओवादीबाट निर्वाचित उनी तत्कालीन नेकपा भंग हुँदा माओवादी छाडेर एमालेमै रहेका थिए ।
उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा उनलाई सर्वोच्च अदालतले २०६६ सालमा सर्वस्वसहित जन्मकैद सुनाएको थियो । जिल्लाको फैसला सदर गर्दै सर्वोच्चले सुनाएको उक्त फैसलाका कारण उनी जेल पुगेका थिए । तर उनले २०७४ मा आममाफी पाउँदै जेलबाट छुटेका थिए । उनी आफूलाई जेल हालिँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुनै चासो नदिएको भन्दै रुष्ट थिए ।








