दसैँमा घरजाने यात्रुहरूलाई बसपार्कमा सास्ती (तस्बिरहरू)

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको सिटी बसपार्कको छतमा राखिएको माइकमा सूचना प्रसारित भइरहन्छ, ‘यदि सवारी साधनले तोकिएको भाडा दर भन्दा बढी भाडा लगेको खण्डमा सिधै यात्रु सहायक कक्षमा सम्पर्क गर्नुहोला । सवारी साधनमा असुरक्षित ठानेपछि, गाडी चालकले मनोमानी गरे र सिट क्षमताभन्दा बढी यात्रु बोकेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ।’

तर बसपार्कमा ठिक उल्टो भइरहेको छ । बसपार्कमा काउन्टरवाला र सवारी चालकहरूको मनोमानीले यात्रुको बिचल्ली भइरहेको छ । १९ गते दसैँ मनाउनका लागि प्रदेश राजधानीबाट बाहिरिने यात्रुहरूमाथि काउन्टरवाला र चालकहरूले धम्कीपूर्ण व्यवहार गर्ने गरेका छन् । उनीहरूले एउटै सिटको २ देखि तीन पटकसम्म टिकट काट्नेदेखि सिट क्षमताभन्दा बढी मान्छे गाडीमा कोच्दै पठाउने गरेको छन् । तर त्यहाँको यातायातलाई व्यवस्थित गर्न खटिइएका ट्राफिक प्रहरी र नेपाली प्रहरी भने रमिते बनिरहेका छन् । यात्रुहरूले टिकटमा तोकिएको समयमा सवारी साधन नछुट्दा खाना, पानी पनि खान नपाइएको गुनासो गरे ।

जुम्लाका दिलबहादुर बुढा आज बिहान साढे ७ बजे गाडी छुट्ने भनेर बसपार्क आए पनि बिहान १० बजेसम्म गाडी नछुट्दा तनावमा छन् । उनले गाडी छुट्ने डरले अहिलेसम्म न खाना खान पाएका छन् न त पानी नै । छोरालाई लिएर दसैँ मनाउन गाउँ फर्कन थालेका उनले टिकट लिएको हिजो शनिबार नै हो । ‘मैले अहिलेसम्म गाडीको पर्खाइमा बस्दा बस्दा भोग पनि लागिसक्यो तर न गाडी हिँड्छ, नत हामीलाई खाना खानुस् त्यसपछि हिँडौला भनेको छ,’उनले भने,‘ हाम्रो त बिचल्ली नै हुने भयो ।’ साथै उनले काउन्टरवाला र चालकहरूले धम्कीपूर्ण व्यवहारले यात्रुलाई सास्ती भइरहेको गुनासो गरे । उनले भने,‘ एउटै सिटको डबल सिट काट्छन् अन्तिममा यात्रुलाई ‘गए जाऊ नगए नजाऊ’ भन्दै धम्की दिन्छन् ।’

उनले काउन्टरमा बस्ने स्टाफहरूको लापरबाहीका कारण सवारी दुर्घटनाको जोखिम बढेको बताए । ‘उनीहरूले बुझेर पनि डबल–डबल टिकेन काट्न नहुने हो,’उनले भने,‘ सिट क्षमता भन्दा बढी मान्छे हुँदा सडक दुर्घटना हुने जोखिम पनि उत्तिकै छ । जो ट्राफिक नियम विपरीत हो ।’ दिलबहादुरले भाडा पनि विगतको भन्दा २ सयका दरले बढी तिरेको सुनाए । ‘पहिला हामी दुई हजार २ सयमा जुम्ला पुग्थ्यौँ भने अहिले प्रति जनाको रु. दुई हजार ५ सय तिरेको छु,’उनले भने ।

दैलेखको दुल्लुकी चेतना खड्काले पनि काउन्टरवाला र चालकहरूको यात्रुमाथि मनोमानी गर्ने गरेको दुखेसो पोखिन् । ‘बसपार्कको भद्रगोल व्यवस्थापनका कारण यात्रु मर्कामा परिरहेका छन्,’उनले भनिन,‘तर पनि सम्बन्धित निकाय यसबारे वेखबर बनिरहेको छ ।’

जुम्लाका मोतीलाल रोकाया (६५) पढ्न जान्दैनन् । उनले भोलि सोमबारका लागि जिपमा जाने भन्दै आइतबार बिहानै टिकट लिएर बसपार्कमै बसिहरेका छन् । तर उनको टिकट भने हाइसको छ । मकालु खबर सङ्ग कुरा गर्दै उनले भने,‘ हामीले जिपको टिकट भनेर भनेका हौँ, हाईसको होइन ।’ यद्यपि उनको टिकटमा सिट नम्बर ९ र १० उल्लेख गरिएको छ । जिपको सिट क्षमता त्यत्ति हुँदैन । मोतीलालले आफ्नी भाउजूलाई लगेर दसैँ मनाउन गाउँ फर्कन लागेको सुनाए । उनले एक जनाको २४ सय रुपैयाँ तिरेको टिकटमा उल्लेख छ ।

यी त केही उदाहरण मात्रै हुन् बसपार्कभित्रको अस्तव्यस्त यातायात व्यवस्थाले यात्रुहरू न त समयमा गन्तव्यमा पुग्न सकिरहेका छन् नत समयमै खाना खा पाएका छन् । बसपार्कभित्रै यात्रु सहायक कक्ष पनि स्थापना गरिएको छ । यद्यपि उक्त सहायक कक्षले यातायात व्यवस्थालाई सुरक्षित बनाउन सकिरहेको छैन । यात्रुको अत्यधिक चाप र गन्तव्यमा पुग्नुपर्ने बाध्यताका कारण पनि बसपार्कभित्रको यातायात व्यवस्था सुरक्षित हुन् नसकेको हो । यात्रु सहायक कक्षमा कार्यरत ट्राफिक प्रहरी जवान रीतिका थारु घटस्थापनादेखि अहिलेसम्म जम्मा ७० जनाले मात्रै गुनासो टिपाएको बताउँछिन् । ‘दसैँको समयमा थुप्रै समस्याहरू छन्, तर यात्रु स्वयं व्यक्ति पनि जसरी पनि आफ्नो घर फर्किनुपर्ने बाध्यताका कारण गुनासो गर्न चाहँदैनन्,’उनले भनिन,‘ हामी कहाँ आएका अधिका‌ंश गुनासाहरूको समस्या समाधान गरेर पठाएका छौँ ।’

दसैँ आउन अब दुई दिन मात्रै बाँकी छ । तर यात्रुको चाप अझ बढ्दो क्रममा छ । यात्रु सहायक कक्ष र बसपार्कमा कार्यरत ट्राफिक प्रहरी र नेपाल प्रहरीले भरपर्दो रूपमा यातायात व्यवस्थालाई व्यवस्थित बनाउन सकिरहेका छैनन् । कालिकोटतर्फ जाँदै गरेका एक जना यात्रुले भने,‘प्रहरीले बाहिर–बाहिर मात्रै चेकजाँच गर्छ, गाडीभित्रको सुरक्षा अवस्थाबारे खासै ध्यान पुर्‍याएको हुँदैन ।’ ट्राफिक नियम अनुसार सिट भन्दा बढी गाडीमा मान्छे नबोक्ने भनेर भनिए पनि प्रहरीकै अगाडी सवारीको क्षमता भन्दा दोब्बर मान्छे बोक्दा प्रहरी भने मूकदर्शक बनिरहेको हुन्छ । सिट क्षमता भन्दा बढी यात्रु बोक्नाले सवारी दुर्घटनाको जोखिम उत्तिकै बढेको सरोकारवालाहरूले बताउने गरेका छन् ।

ट्राफिक प्रहरी थारु भने प्रहरीको केही कमजोरी भए पनि सक्दो प्रयत्न गरिरहेको बताउँछिन् । उनका अनुसार बिहान र बेलुका ४–६ बजेको समयमा बसपार्कमा निकै भिड हुने गरेको छ । यता काँक्रेविहार यातायात प्रा.लीका अध्यक्ष रमेश सापकोटा यात्रुको चाप बढेकाले समस्या भइरहेको बताउँछन् । उनले भने,‘ दसैँको समयमा यात्रुलाई उभिएर नै भए पनि गन्तव्यमा पुर्‍याउनुपर्ने बाध्यता एकातिर छ भने जोखिम पनि उत्तिकै छ,’उनले भने,‘ यात्रुको चाप थेगिनसक्नु छ ।’ साथै उनले एउटै सिटको डबल टिकट काट्न नपाइने बताए । ‘यदि त्यसो भएको हो भने सरासर गलत हो,’सापकोटाले भने,‘ म यो बारेमा बुझ्छु ।’ यता प्रदेश ट्राफिक कार्यालयका डीएसपी भीम खड्का बसपार्कलाई व्यवस्थित गर्न थप जनशक्ति खटाइने बताउँछन् । सिट क्षमताभन्दा बढी यात्रु बोक्नु ट्राफिक नियम विपरीत भएकाले त्यसलाई रोक्न बसपार्कमा कार्यरत प्रहरीलाई निर्देशन दिइने उनी बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *