वीरेन्द्रनगरका मासु पसलमा अनुगमन

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरका मासु पसलहरूको संयुक्त अनुगमन गरिएको छ । दशैं तिहारको समयमा मासु बिक्री वितरण बढ्ने भएकाले उपभोक्ताहरूको हित संरक्षणको लागि वीरेन्द्र नगर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, उपभोक्ता हित संरक्षण निर्देशनालय खाद्य तथा गुणस्तर कार्यालय सुर्खेत लगायतका कार्यालयका प्रतिनिधिहरूको संयुक्त टोलीले वीरेन्द्रनगरका मासु पसलहरूको अनुगमन गरिएको हो ।

चाड पर्वको बेलामा उपभोक्ता ठगिने, गुणस्तरहीन मासु बिक्री वितरण हुन सक्ने भन्दै वीरेन्द्रनगर भित्र रहेका २६ वटा मासु पसलहरूको अनुगमन गरिएको वीरेन्द्रनगर नगरपालिका उद्योग शाखा प्रमुख टंक प्रकाश लामिछानेले जानकारी दिए ।

अनुगमनका क्रममा विगतका वर्षहरुभन्दा धेरै सुधार गएको भन्दै लामिछानेले आम उपभोक्ता पनि आफूले उपभोग गर्ने वस्तुहरूको बारेमा जानकार हुनुपर्ने सुझाव दिए । अनुगमन क्रममा नापतौलका सामग्री नियम अनुसार प्रयोग नभएको, खसी र कुखुराको मासु एउटै पसलबाट बिक्री वितरण भइरहेको, लामो समयसम्म मासुलाई डी फ्रिजमा राख्ने गरिएको भेटिएको भन्दै आगामी दिनमा यस्ता क्रियाकलापहरू सुधार गर्न सुझाव दिइएको उद्योग शाखा वीरेन्द्रनगरका चक्र थापाले बताए।

त्यसैगरी, सरसफाइमा ध्यान दिनुपर्ने, मासु ढाकछोप गरेर राख्नुपर्ने, व्यवसाय दर्ता गरेर सञ्चालन गर्नुपर्ने, दर्ता नभए सम्बन्धित कार्यालयमा गएर दर्ता गराउनुपर्ने लगायतका सुझाव दिइएको छ । अनुगमनका क्रममा मानव स्वास्थ्यमा असर गर्ने खालको रङ प्रयोग गरिएको एक किलो मासु समेत जफत गरी नष्ट गरिएको छ । खाद्य तथा गुणस्तर कार्यालय सुर्खेतका प्रमुख भेष बहादुर थापाले दशैं तिहारमा हुन सक्ने अखाद्य वस्तुको मिसावट, उपभोक्ता ठगी गर्ने जोकोहीलाई पनि कारबाही गरिने बताए ।

यस सन्दर्भमा बजार अनुगमन र व्यापारीहरुलाई पनि बारम्बार निर्देशन दिने गरिएको बताए । मासु व्यवसायीहरूले भने आफूहरूले सकेसम्म ताजा मासु बेच्ने गरेको भन्दै वधशालामा लिएर खसी, राँगा काट्न टाढा र झन्झटिलो भएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *