ह्वात्तै बढ्यो दल अदलबदल

काठमाडौँ । ३० भदौ २०७९ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका बागमती प्रदेश सदस्य गिरीधारी सुवेदी र चितवन माडी-७ का उपाध्यक्ष सुरेश थापालाई एमाले प्रवेश गराए ।

तर, एमालेमा प्रवेश गरेको दुई साता नबित्दै दुवै नेता बिहीबार फेरि माओवादी केन्द्रमै फर्किए । बिहीबार दुवै नेतालाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीमा टिका लगाएर स्वागत गरे । यसअघि एमाले प्रवेश गरेका माडीका अर्का माओवादी नेता सोमबहादुर विक साता नबित्दै माओवादीमै फर्किएका थिए ।

यो त एउटा उदाहरण मात्रै हो । चुनाव नजिकिएसँगै दल अदल बदल व्यापक रूपमा बढेको छ । ४ मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभाको चुनावमा टिकटको सर्त र जित सुनिश्चितताका लागि समेत दल नै परिवर्तन गरेको विभिन्न घटनाक्रमले देखाएको छ । एमालेले अभियान नै चलाएका कारण काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी छोडेर एमालेमा प्रवेश गर्ने धेरै देखिएका छन् ।

७ असोज २०७९ मा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तिलक श्रीपाइली नेकपा (एमाले) मा प्रवेश गरे । श्रीपाइलीलाई एमाले महासचिव शंकर पोखरेलले प्रवेश गराए । १३ असोजमा एमाले नेता गंगाराम यादव जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरे । उनलाई जसपा अध्यक्ष उपेन्द्र यादवले फूलमाला लगाएर पार्टीमा प्रवेश गराए । २०३६ सालदेखि नै एमालेको राजनीतिमा सक्रिय धनुषा–२ का नेता गंगाराम एमालेको केन्द्रीय सल्लाहकार समिति सदस्य थिए ।

भूमिका नपाएपछि र पाउने सम्भावना नदेखेपछि पार्टी नै छाड्ने क्रम सबै पार्टीमा छ । अर्को दलबाट आउनेले उम्मेदवारको टिकट पाउने प्रवृत्तिले पनि दल बदल संस्कृत मौलाएको देखिन्छ ।

यसपटक प्रमुख प्रतिपक्षी नेकपा एमालेले अभियानकै रूपमा पार्टी प्रवेशलाई अगाडि बढाएको छ । अघिल्लो साता लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता उमाशंकर अरगरिया पनि एमालेमा प्रवेश गरे । गत शनिबार धनुषाको विदेह नगरपालिका स्थित तीनकौरिया चोकमा आयोजित विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा नेता अगरिया आफ्ना समर्थकसहित एमाले प्रवेश गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले अरगरियालाई पार्टीमा स्वागत गरे । अरगरिया प्रतिनिधि सभाका निवर्तमान सदस्य एवं लोसपा सचेतक पनि थिए ।

नेकपा एकीकृत समाजवादीका डोल्पा जिल्ला कमिटी अध्यक्ष तथा कर्णाली प्रदेशका मन्त्री नन्दसिंह बुढा पनि एमालेमै फर्किएका छन् । प्रवेश गर्नेहरूलाई एमाले महासचिव शंकर पोखरेलले स्वागत गरे ।

नेताहरूका अनुसार भूमिका नपाएपछि र पाउने सम्भावना नदेखेपछि पार्टी नै छाड्ने क्रम सबै पार्टीमा छ । अर्को, दलबाट आउनेले उम्मेदवारको टिकट पाउने प्रवृत्तिले पनि दल बदल संस्कृत मौलाएको देखिन्छ । यस्तो गलत संस्कृतिका कारण शीर्ष नेताहरू नै आजित हुन थालेका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सधैँ अवसर दिए जिन्दाबाद, नभए अर्को पार्टीमा गइहाल्ने प्रवृत्ति बढेको बताउँछन् । उनी भन्छन्, ‘पटक-पटक पद नपाए पार्टी नै त्याग्ने प्रवृत्ति बढेको छ ।’

अखिल नेपाल महिला सङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अवसरका लागि पार्टी बदल्ने र पदका लागि पार्टीमा आउनेलाई अवसर दिँदा राजनीति थप नकारात्मक हुने बताउँछन् । उनी भन्छन्, राजनीतिक संगठनलाई सिस्टममा अघि बढाउनुपर्नेमा जोड दिँदै उनी भन्छन्, ‘पटक–पटक अवसर दिए पार्टी जिन्दाबाद । एक पटक पद नपाए त्यही पार्टी मुर्दावाद भन्ने र पार्टी छाडेर राजनीतिक जीवन समाप्त पार्ने प्रवृत्ति देखिएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 18 =