कर्णालीमा ५ सय ४१ जनामा डेंगी संक्रमण

सुर्खेत । कर्णाली प्रदेशभर ५ सय ४१ डेंगीका संक्रमित फेला परेका छन् । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका अनुसार प्रदेशभर गरिएको परिक्षणमा डेंगीको संक्रमित फेला परेका हुन् ।

जसमा सुर्खेतमा सबैभन्दा बढी ४ सय २२ जनामा डेंगी संक्रमीत फेला परेका छन् । सुर्खेत जिल्लामा पनि वीरेन्द्रनगर नगरपालिका अझै बढी जोखिममा रहेको निर्देशनालयको तथ्याङ्क रहेको छ ।

वीरेन्द्रनगर नगरपालिकामा २ सय बढीमा डेंगी संक्रमण देखिएको हो । यस्तै जिल्लागत तथ्याङ्कमा जुम्ला जिल्लमा २२, सल्यानमा २२, रुकुम पश्चिममा १८,कालिकोटमा २१, जाजरकोटमा १२, दैलेखमा १४, मुगुमा ८, डोल्पामा १ र हुम्लामा १ जनामा डेंगी फेला परेको हो ।

स्वास्थ्यकर्मीहरूका अनुसार डेंगी एक प्रकारको भाइरस भएकोले यो जुनसुकै उमेरकालाई पनि हुनसक्छ । डेंगी संक्रमित लामखुट्टेले टोकेपछि ४ देखी ७ दिनसम्म यसको लक्षण देखिने र यसको लक्षणहरूमा धेरै टाउको दुख्ने, आँखाको गेडी दुख्ने, हाड जोर्नी र मांसपेशीहरू र ढाड देख्ने, शरीरमा बिबिरा आउने, रिंगटा लाग्ने र वाकवाकी तथा बान्ता हुने गर्दछ ।

यसका साथै बान्तामा रगत देखा पर्ने, धेरै पेट दुख्ने, लगातार बान्ता हुने, रक्तस्राव हुने, बेहोस हुने समेट डेंगीको जटिल अवस्था भएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । बिहीबार पत्रकारहरूसँग डेंगी रोग विषयमा अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्दै प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले सावधानी अपनाउन आग्रह गरेका छ ।

यसैबिच, नेपालमा डेंगी सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८ जना पुगेको छ । गएको साउनदेखि आज बिहीबारसम्म डेंगीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

डेंगीको सङ्क्रमण देशभर फैलिएको छ । अहिलेसम्म देशभरका २८ हजार एक सय नौ जनामा डेंगी पुष्टि भएको सरकारी तथ्याङ्क छ । डेंगीबाट जोगिने एक मात्रै उपाय भनेको लामखुट्टेको टोकाइबाट नै जोगिनु हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *