निर्वाचन अधिकृतको अभिमुखिकरण सकियो, सम्बन्धित क्षेत्रमा नै कार्यालय राखिने

विराटनगर । निर्वाचन आयोगले आयोगले प्रदेश १ मा आगामी १५ देखि २० गते भित्रमा कार्यालय संचालन हुने भएको छ। दशैँकै बिचमा नै कार्यालय संचालनको तयारी भएको निर्वाचन आयोगले जनाएको छ । विराटनगरमा निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन अधिकृतहरुको अभिमुखिकरणको क्रममा निर्वाचन आयोगले अहिलेसम्मको तयारीको बारेमा जानकारी दिएको हो ।
२८ वटा निर्वाचन क्षेत्र रहेको प्रदेश १ का निर्वाचन अधिकृतहरुलाई अभिमुखिकरण दिईएको हो । दुई दिने अभिमुखिकरणको क्रममा अब निर्वाचन अधिकृतका कार्यलयहरु सम्बन्धित निर्वाचन क्षेत्रमा नै रहने भएको छ। प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार मोरङ जिल्लाका ६ वटा निर्वाचन क्षेत्रमा नै कार्यालय संचालनको लागि ठाउँ हेर्ने क्रम शुरु भएको छ।
प्रदेश १ निर्वाचन कार्यालयका प्रमुख लेवनकश्यप अधिकारीले मोरङ जिल्लाको क्षेत्र नम्बर १ को उर्लावारी, क्षेत्र नम्बर २ को रतुवामाई, क्षेत्र नम्बर ३ को बेलवारी र बाँकी ३ वटा क्षेत्र विराटनगरसँग जोडिने भएकोले सम्बन्धित निर्वाचन क्षेत्रमा पर्नेगरि कार्यालय रहने जानकारी दिए ।
‘दुई दिने अभिमुखिकरण सकिएको छ, उनले भने, आगामी असोज २० गतेसम्ममा सबै निर्वाचन अधिकृतको कार्यालय संचालन गरिसक्ने तयारी छ, त्यसको लागि प्रदेश भरी नै एकैपटक कार्यालय उद्घाटन गर्ने की भन्ने पनि कुरा भईरहेको छ।’ २०७४ सालको निर्वाचनको बेलामा विराटनगरमा नै ६ वटै निर्वाचन क्षेत्रका कार्यालय राखिएको थियो । निर्वाचन क्षेत्रहरुमा नै कार्यालय रहने र त्यहीँ मत गणना गर्ने तयारी छ ।
निर्वाचन आयोगले यो बर्ष एक भन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाहरुमा सम्बन्धित क्षेत्रमा नै कार्यालय राखेर त्यहीँ मत गणना गर्ने जनाएको छ। प्रदेश १ मा सबैभन्दा धेरै निर्वाचन क्षेत्र मोरङमा ६ वटा रहेको छ भने झापामा ५ निर्वाचन क्षेत्र र सुनसरीमा ४ निर्वाचन क्षेत्र छ । ईलाम र उदयपुरमा दुई÷दुई निर्वाचन क्षेत्र रहेका छन् भने प्रदेश १ का अन्य ९ जिल्लामा एक मात्र प्रतिनिधि निर्वाचन क्षेत्र रहेको छ।








