निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने दलहरूको सामूहिक प्रतिबद्धता

सुर्खेत । कर्णालीका राजनीतिक दलहरूले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । सेभ द चिल्ड्रेनको सहयोगमा बाल अधिकारका लागि साझा अभियान (सीसीआर) ले प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको निर्वाचन र बालबालिकाको सवाल विषयक राजनीतिक दल र नागरिक समाजबिचको अन्तरक्रिया कार्यक्रममा सहभागी ९ राजनीतिक दलहरूले आउँदो मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका हुन् ।

नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी (केन्द्र), एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल स्वतन्त्र पार्टी लगायतले बालअधिकार हनन नगर्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् । उनीहरूले बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन भन्ने अवधारणालाई आत्मसाथ गर्दै विद्यालयमा राजनीतिक दलका कुनैपनि कार्यक्रमहरु सञ्चालन नगर्ने उनीहरूले प्रतिबद्धता जनाएका छन् ।

यस्तै, बालबालिका र शिक्षकलाई कुनैपनि प्रकारका राजनीतिक गतिविधिहरू धर्ना, जुलुस, आमसभा जस्ता कार्यक्रमहरूमा सहभागी नगराउने साथै विद्यालय तहमा राजनीतिक दलका भातृ संगठनहरु गठन नगर्ने, बालबालिकाहरूलाई राजनीतिक तवरले पक्ष विपक्षमा सहभागी गराउने र दलगत बिचार व्यक्त गर्न नलगाउने, राजनीतिक दल नेतृत्वले व्यक्त गर्ने बिचार स्वस्थ आलोचनाहरू गर्दा बालबालिका, महिला, लैङ्गिक तथा यौनिक अल्प सङ्ख्यक समुदायलाई प्रत्यक्ष असर पुग्ने उखान, टुक्काहरूको प्रयोग नगर्ने र परिवार, समाज र विद्यालयमा कुनैपनि बहानामा बालबालिका विरुद्ध कुनैपनि किसिमका शारीरिक सजाय, मानसिक हिंसा, शोषण, दुर्व्यवहार र भेदभाव नगर्ने प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका हरिहरनाथ योगीले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न सबै राजनीतिक दलहरूले प्रारूप तयार गर्नुपर्ने बताए । आफ्नो पार्टीको घोषणा पत्र तयार भइरहेको भन्दै बालअधिकारका विषयलाई गम्भीरताका साथ उठाउन पहल गर्ने उनको भनाई छ ।

कार्यक्रममा नेपाली काँग्रेसका हजारी बादी, माओवादी केन्द्रका अर्जुन कुमार कटुवाल, राष्ट्रिय जनमोर्चाका पूर्ण शाही लगायतले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने वातावरण बनाइने बताइन् । प्रदेश निर्वाचन अधिकारी दुर्गा प्रसाद चालिसेले निर्वाचन आचार संहितालाई दलहरूले पालना गरे निर्वाचनमा बालबालिका प्रयोग नै नहुने बताए ।

बालअधिकारका लागि साझा अभियान कर्णाली प्रदेशका अध्यक्ष टिकाराम आचार्यले दलहरूले गरेका प्रतिबद्धता व्यवहारमा लागु गर्न आग्रह गर्दै नीति निर्माण तहमा पनि बालअधिकारको विषयलाई हल्का रूपमा लिन नहुने सुझाव दिए । उनले पूर्वाधार विकासलाई मात्र विकास नसोचेर बालबालिका पनि लगानी गर्न आग्रह गर्दै बालबालिकामा अहिलेको लगानी भोलिको दिगो विकास र समाज परिवर्तनका लागि हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *