प्रचण्डलाई चितवनका माछा किसानकाे चेतावनी- ‘आयातित माछा रोक्नूस्, नत्र आन्दोलित हुन्छौँ’

चितवन । चितवनका माछा उत्पादक किसान तथा व्यवसायीहरू यतिबेला चितवनको पूर्व-पश्चिम राजमार्ग र काठमाडौँ जाने सडक वरिपरि नै हुन्छन् । माछा यहाँका माछा उत्पादक किसान तथा व्यवसायीले असोज १ गतेदेखि हालसम्म करिब २६ क्विन्टल भारतीय अखाद्य माछासमेत नियन्त्रणमा लिएर नष्ट गरिसकेका छन् ।  किसानहरू भारतीय माछा बोकेर आएको गाडीको सुइँको पाउनसाथ गाडी नै नियन्त्रणमा लिएर माछा जफत गर्दै आइरहेका छन् ।

भारतबाट भन्सार छली गरेर ल्याइएका माछाका कारण नेपाली माछाले बजार पाउन सकेको छैन । नेपाली माछा तालतलैयामा विक्री नभएर बसिरहेको छ भने भारतीय माछा धमाधम बजारमा आउन थालेपछि यहाँका किसान आन्दोलनको तयारीमा समेत छन् ।

लुकिछिपी वैकल्पिक मार्गबाट भारतीय माछा आयातित भइरहेको हुनाले यहाँका माछा उत्पादक किसानहरू थप मर्कामा परेका छन् । आयातित माछा रोक्नलाई दबाब दिँदै माछा उत्पादक किसान तथा व्यवसायीहरूले नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ज्ञापनपत्र बुझाएका छन् ।
किसानहरूले अध्यक्ष प्रचण्डसमक्ष भनेका छन्, ‘आयातित माछा रोक्नूस्, नत्र हामी किसान तथा व्यवसायीहरू आन्दोलित हुन्छौँ ।’

आइतबार मत्स्य व्यवसायी संघ चितवनले प्रचण्डलाई ज्ञापनपत्र नै बुझाएर माछा आयात भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण गराए । ‘हामीलाई कि त उत्पादन नगर भन्नुपर्छ सरकारले, कि त हाम्रो उत्पादनलाई राज्यले ग्यारेन्टी गर्नुपर्छ,’ त्यहाँ भनिएकाे छ । नेपाल मत्स्य व्यवसायी चितवनका अध्यक्ष खगेन्द्र सुवेदीले भनेका छन्, ‘तपाईंले (प्रचण्डतर्फ केन्द्रित हुँदै) कमसेकम स्वदेशी उत्पादन र स्वदेशी किसानलाई संरक्षण गर्ने वातावरण बनाउन सहयोग गर्न जरुरी छ ।’

राज्यको निकायमा बसेकाहरूले नै नेपाली किसानको कुरा नसुने त्यसबाट सरकार, सरकारमा रहेका दल र किसान कसैलाई पनि फाइदा नहुने उनले प्रष्ट्याए । ‘अवैधरूपमा माछा भित्रिएको छ, जसले गर्दा भन्सार छली भएको छ,’ उनले भने, ‘त्यसैले अवैध माछा नेपाल भित्रिँदा सरकार, किसान, राजनैतिक दल र उपभोक्ता सबैलाई यसले मारमा पारेको छ ।’

चितवनका माछा किसानहरू आठ दिनदेखि राम्रोसँग निदाउन नपाएको कुरालाई मनन गरिदिन पनि उनले आग्रह गरे । नेपालमा माछाको उत्पादन प्रशस्त रहेको हुँदा भारतबाट माछा ल्याउनुपर्ने कुनै आवश्यकता नै नरहेको उनले बताए । ‘नेपालकै उत्पादनले पुग्दापुग्दै पनि भारतबाट विषाक्त माछा ल्याएर हामीलाई डुबाउने काम भयो,’ उनले भने ।

ज्ञापनपत्र बुझिसकेपछि पूर्वप्रधानमन्त्री प्रचण्डले गठबन्धन सरकारमा यो कुरा राखेर चाँडोभन्दा चाँडो सम्बोधन गर्न वातावरण सिर्जना गर्ने आश्वासन दिए । ‘तपाईंहरूको यो समस्याप्रति नीतिगतरूपले राज्य पोजेटिभ छ । तर, कार्यान्वयनमा नगएको साँचो हो । त्यसैले गठबन्धन सरकारमा म यो कुरा राख्छु,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *