‘दलीयकरण’मा स्वतन्त्रहरू !

काठमाडौँ । शुरूमा ‘स्वतन्त्र’ उम्मेदवारीको हबला दिने र पछि कुनै पार्टी समाहित हुने लहर चलेको छ । स्थानीय सदस्य निर्वाचनबाटै शुरू भएको यो लहर अझै देखिँदैछ, सम्भवत: अझै देखिनेछ । बिहीबार (हिजो) मात्रै काठमाडौँ क्षेत्र नं. ६ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेका अब्दुस मियाँ नेकपा (एमाले) प्रवेश गरे । विवेकशील साझा पार्टीमा लामो समय काम गरेका उनले अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएसँगै पार्टी त्यागेका थिए ।

काठमाडौँ क्षेत्र नं. १ बाट स्वतन्त्ररूपमै चुनाव लड्ने घोषणा गरिसकेका पुकार बमसमेत अन्तत: स्वतन्त्र रहेनन् ।  भदौ २७ गते राति मात्रै उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित भए । विवेकशील साझा पार्टीमै आफ्नो राजनीतिक पहिचान बनाएका बम अन्ततः रास्वपा छिरे ।

वातावरणविद् अरनिको कुमार पाँडे पनि दलीयकरण नै भए । उनले पनि पूर्वसञ्चारकर्मी रवि लामिछानेकै पार्टी रास्वपा रोजे । उनी बमभन्दा केही दिनअघि गत भदौ २३ गते मात्रै रास्वपा प्रवेश गरेका हुन् । उनले पनि ललितपुर क्षेत्र नं. ३ बाट स्वतनत्ररूपमै उम्मेदवारी दिने घोषणा गरिसकेका थिए ।

हुन त गत वैशाख ३० गतेको स्थानीय तह सदस्य निर्वाचनका बेला पनि यो शृङ्खला देखिएको थियो । त्यो हेर्न धेरै टाढा जानै पर्दैन, काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल नै त्यसरी निर्वाचित बनेकी हुन् । शुरूमा स्वतन्त्ररूपमा प्रमुखमा उम्मेदवारी दिनेगरी प्रचारप्रसारमा जुटेकी सुनिता चुनावको पूर्वसन्ध्यामा उपप्रमुखको उम्मेदवार बन्नेगरी नेकपा (एमाले) प्रवेश गरिन् र जितिन् पनि ।

यी केही प्रतिनिधि पात्रहरू मात्रै हुन्, जसले शुरूमा स्वतन्त्रको हबला लगाएपनि पछि दलीयकरण नै हुन पुगे । सुनिँदैछ— स्वतन्त्रहरूको दलीयकरण अझै सकेको छैन, हुनेवाला छ । सूत्रहरूकाअनुसार ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्ररूपमा उम्मेदवार बन्छु भन्नेहरू अझै दलीयकरण हुँदैछन् । दलहरूले पनि उसैगरी स्वतन्त्रहरूसँग संवाद बढाएका छन् । काठमाडौँ क्षेत्र नं. ४ बाट दलहरूलाई चुनौती दिँदै आएकी ‘शेयर सुन्दरी’ राधा पोखरेल, काठमाडौँ ८ मा राजनीति फराकिलो बनाइरहेका सुमन सायमीलगायतलाई दलहरूले फकाइरहेका छन् । यो पङ्क्तिकारसँग एमालेका एक नेताले अनौपचारिक भेटमा भनेका थिए, ‘यसपटकको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गठबन्धन भर्सेस एमाले हुने नै भयो । यसो हुँदा हामीले दुईवटा कामलाई चाहिँ तीव्रता दिनेछौँ । पहिलो, अन्य दलहरूबाट पार्टी प्रवेश र दोस्रो, जित्नसक्ने जस्तो स्वतन्त्रहरूलाई पार्टीमा ल्याउने ।

उसो त खासगरी एमालेले धेरैभन्दा धेरै नेता/कार्यकर्ताहरू र स्वतन्त्ररूपमा उम्मेदवारी दिन लागेकाहरूलाई पार्टीमा तान्न खोजिरहेको छ । उसले कतिपय स्वतन्त्रहरूसँग संवादसमेत गरिरहेको छ । ती नेताको दाबी छ— अझै धेरै स्वतन्त्रहरू एमाले प्रवेश गर्छन् ।

जे होस्— स्वतन्त्रहरू अन्ततः दलीयकरण नै हुने रहेछन् भन्ने कुरा त माथि उल्लिखित व्यक्तिहरूबाट प्रष्टै भयो । तर, योसँगै केही सवालहरू भने अवश्य उठ्छन् । शुरूमा स्वतन्त्रको हबला दिने र पछि किन दलीयकरण हुने ? के स्वतन्त्रहरू पार्टीबाट स्वार्थपूर्ति हुने भएपछि दलीयकरण हुने हुन् ? अथवा उनीहरूले अन्तिममा कुनै पार्टी नै राेज्नुकाे कारण के हाे ? यी सवालहरूका जवाफ व्यक्तिपिच्छे/विश्लेषकपिच्छे फरक होला । यहाँ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यसँग याे सन्दर्भकाे अन्तर्यबारे साेधकाे थियाे ।

किन हुन्छन् स्वतन्त्रहरू दलीयकरण ?

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य शुरूमा नबुझेर स्वतन्त्रको नाममा हौसिनेहरू धेरै भएको तर्क गर्छन्, उनको सटिक जवाफ छ— अज्ञानताका कारणले यस्ताे हुन्छ ।

वास्तविक राजनीतिक धरातल नबुझेर शुरूमा हौसिने र पछि सबै बुझ्दै गएपछि उनीहरू दलीयकरण हुन बाध्य हुने विश्लेषण आचार्यको छ । ‘स्वतन्त्र भनेको स्वतन्त्र नै हुन्,’ उनले भनेका छन्, ‘उनीहरू दल होइनन्, तर अहिले हाम्रो व्यवस्थाचाहिँ दलीय व्यवस्था छ र त्यहाँ स्वतन्त्रहरूको केही नचल्ने देखिन्छ । जस्ताे तपाईं मान्नूस् न, एकजना स्वतन्त्र संसद् पसेर के गर्ने ? कि त उनीहरूले दल बनाउनुपर्‍याे, कि त फेरि पनि कुनै दललमा जानुपर्‍याे । यही हो, अन्तिममा दलीयकरण नै हाे, त्याे बाध्य भइन्छ ।’

सँगै उनले नेपालजस्तो दलीय र संसदीय व्यवस्था भएको देशमा एक/दुईजना स्वतन्त्र सांसद संसद् छिरेर केही नहुने बताउँछन् । ‘उनीहरूले स्वतन्त्रको औचित्य पुष्टि गर्न सक्दैनन्,’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.