यसपटक जित्छु भन्नेमा ‘कन्फिडेन्ट’ छु : पुकार बम (भिडिओवार्ता)

काठमाडाैँ । पुकार बम; एक सामाजिक अभियन्ता हुन् । जसले झन्डै एक दशकयता सडकबाट सरकारलाई घच्घच्याइरहेका छन् । उनी अकुपाई बालुवाटार, नेताज्यू खबरदार, नेपाल खुला छ, संविधान कहिले, इनफ इज इनफलगायतका दर्जनाैं अभियानहरूका अभियन्ता हुन् । पहिले विवेकशील अभियन्ता उनी विवेकशील साझा पार्टीका संस्थापक नेतासमेत हुन् । तर अहिले विवेकशील साझ पार्टी भद्रगाेल अवस्थामा छ । यसपछि उनले आसन्न सङ्घीय निर्वाचनमा स्वतन्त्ररूपमा काठमाडाैँ क्षेत्र नं. १ बाट उम्मदेवारी दिएका छन् ।

पुकारकाे याे तेस्राे पटककाे उम्मेदवारी हाे । उनले यसअघि पनि दुईपटक; ७० र ७४ सालमा उम्मेदवारी दिएर पनि चुनावी शिक्षा हासिल गरिसकेका छन् । सडकबाट बाेलिरहेका उनले अब सदनबाट बाेल्ने प्रण गरेका छन् ।

‘अब सदनबाट बाेल्छु’

पुकार अब सडकबाट बाेलिएका बाेलीहरू सदनबाट बाेल्ने चाहन्छन्, भन्छन्— ‘विगत १०/११ वर्षयता सडकबाट बाेलेँ, अबचाहिँ त्यही आवाज सदनबाट बाेल्नेछु ।’ उनी  आफूले उठाउँदै आएकाे सामाजिक तथा राजनीतिक मुद्दाहरूबारे सदनबाटै बाेल्दा अझ सान्दर्भिक र आधिकारिक हुने ठान्छन् । हुन पनि सदन नीति निर्माण गर्ने ठाउँ हाे, त्यसबारे सवाल-जवाफ गर्ने र प्रश्नाेत्तर गर्ने थलाे हाे । त्यसमा युवा र सक्षम पुस्ताले सार्थक हस्तक्षेप गरेकाे खण्डमा त्यहाँबाट सिर्जित परिणाम अहिलेकाे युगसापेक्ष नहुने कुरै भएन । उनी थप्छन्, ‘नयाँ र सक्षम पुस्ताले अब पनि सार्थक हस्तक्षेप नगर्ने हाे भने मुलुक उही गतिबाट गुज्रिरहन्छ । युवा पुस्ता र सक्षम पुस्ता हुनुकाे सार्थकता पनि हुँदैन । सही बेला यही हाे ।’

विगत एक दशकयता सडकबाट सरकारलाई घच्घच्याइरहँदा आर्जन गरेकाे शक्ति, क्षमता र ज्ञान समाजकै लागि खर्चिन चाहन्छन् पुकार । उनलाई एक्लै सदन छिरेर ठूलै परिवर्तन हुँदै भन्ने राम्राेसँग थाहा छ । तर राम्राे कामकाे सुरुवात एकैजनाबाट हुन्छ भन्नेमा पनि कम विश्वस्तचाहिँ छैनन् । ‘म एक्लै त्यहाँ पुगेर केही कायापलट नहाेला,’ उनले भने, ‘तर फेरि पनि एकजनाकाे शक्तिलाई पनि नकार्न मिल्दैन । हामीले सदनमा एकजना निर्णायक बनिरहेकाे देख्छाैँ । त्यतिमात्रै हाेइन, सम्भावनाहरू धेरै छन् ।’

‘उम्मेदवारबारे मतदाताले अध्ययन गरून्’

पुकार मतदाताहरूले हरेक उम्मेदवारहरूबारे अध्ययन गर्नुपर्छ भन्ने ठान्छन् । २ महिनायता घरदैलाे गरिरहेका उनलाई ‘तपाईंलाई मतदाताहरूले कस्ताेरूपमा लिँदारहेछन् ?’ भन्ने प्रश्नमा उनले भनेका छन्, ‘भन्न त उहाँहरूले तपाईंले जित्नुहुन्छ, तपाईं सही उम्मेदवार हाे भनेर भन्नुहुन्छ । तर वास्तविकतामा पनि राम्रैरूपमा लिनुहुन्छ भन्ने लाग्छ । म जहाँ जहाँ पुगेँ, त्यहाँ राम्राे प्रतिक्रिया पाएकाे छु । मलाई त लाग्छ, मतदाताहरूले हरेक उम्मेदवारहरूबारे अध्ययन गर्नुपर्छ । विगत हेर्नुपर्छ र मात्रै मतदान गर्नुपर्छ । जस्ताे मेले विगत १०/११ वर्षता कस्ताे खाले काम गरेँ, त्याे पनि मतदाताहरूले हेर्नु आवश्यक छ ।’

विगतमा जितेका जनप्रतिनिधिहरूबारे अध्ययन र विगत नबुझीकन जिताइदिँदा समस्याहरू ज्यूँका त्यूँ रहेकाे भनाइ छ पुकारकाे ।

‘यसपटक जित्छु, कन्फिडेन्ट छु’

पुकार यसपटक तेस्राेपटक उम्मेदवार बन्दैछन् । ७० र ७४ मा उम्मेदवार बनेका उनकाे हातमा चुनावी नतिजा भने परेन । यसपटक भने आफूले बाजी मार्ने बताउँछन् पुकार, भन्छन्— ‘यसपटकचाहिँ जित्नकै लागि उठेकाे हुँ । यसकाे तयारी धेरै लामाे छ । विगत १० वर्षयता हामीले तयारी गरिरहेका थियाैँ ।’

यसबीचमा दुईवटा निर्वाचनहरूबाट पनि धेरै पाठहरू सिकेकाे बताउँछन् उनी ।

पुकार पुराना नेताहरूमा ‘पाँच वर्षका लागि जिताइहाले अब जे गर्दा पनि हुन्छ’ भन्ने साेच रहेकाे आराेप लगाउँछन् । उनले भने, ‘अब यसलाई हामी चिर्छाैँ । हामी याे पुस्ताकाे प्रतिनिधित्व गर्दैनाैँ । हामी मुद्दाले पनि युवा पुस्ता हाैँ, पुस्ताले पनि हाैँ ।’

अब पुरानाे पुस्ता भर्सेस नयाँ पुस्ता हुनुपर्ने धारणा पुकारकाे छ ।

‘अलाइन्स पार्टी बन्नसक्छ’

पुकारसहितका स्वतन्त्ररूपमा चुनावमा हाेमिनेहरूकाे एउटा माेर्चा छ । जुन अलाइन्सकाे पहिलाे मुद्दा हाे, राजनीतिमा युवा पुस्ता अथवा पुस्तान्तरण । त्यसका लागि अलाइन्सले काम गरिरहेकाे बतउँछन् उनी । यही अलाइन्स पछि गएर पार्टी बन्नसक्ने कुरा नकार्न नमिल्ने पुकार बताउँछन् । ‘पार्टीमा कन्भर्ट हुँदैन भनेर भन्न सकिन्न,’ उनले भनेका छन् ।

त्यसका लागि २/३ वटा विकल्पहरू रहेकाे उनकाे भनाइ छ । ‘पुरानाे, निष्क्रिय, मुद्दाहरूमा एकरूपता भएकाे र निर्वाचन आयाेगमा दर्ता भएका पार्टीहरूसँग मिलेर एउटै चुनाव चिह्नबाट पनि जान सक्छाैँ । अथवा नयैँ दल दर्ता गरेर पनि जान सक्छाैँ । आवश्कयताअनुसार हामी अगाडि बढ्छाैँ,’ उनले भनेका छन् ।

धेरै जना वा धेरैवटा समूह नबनाेस् भनेर पनि आफूले यसतर्फ गृहकार्य गरिरहेकाे उनले बताए । मागमुद्दाहरू मिल्नेहरू फरक फरक ठाउँ रहेर केही नहुने बताउँछन् उनी । ‘पहिले हामी २०/३० वटा फाेरमहरूमा थियाैँ, अहिले हामी घटेर १२/१५ भएका छाैँ । अब यसलाई पनि घटाएर एकजुट भएर २/३ वटामा सीमित गर्‍याैँ भने त्यसले चाहिँ सिङ्गाे पुस्ताकाे प्रतिनिधित्व गर्छ र त्यसले केही अर्थ राख्छ भन्ठानेर हामी त्यही गृहकार्यमा छाैँ र यसमा सफलता हात पार्छाैँ भन्ने छ,’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *