कर्णाली राजमार्गमा यात्रुलाई सधैँ सास्ती

सुर्खेत । कर्णाली राजमार्गमा यात्रुहरूले सधैँ समस्या भोग्ने गरेका छन् । त्यसमा पनि राजमार्ग साँघुरो, हिलाम्य र खाल्डाखुल्डीका वर्षायाममा यात्रुले थप सास्ती खेप्दै आएका छन् ।

तर राजमार्गमा बर्खा र पहिरो गएका बेला जोखिमपूर्ण यात्रा गर्नुपर्ने भए पनि राजमार्ग स्तरोन्नतिका लागि राज्यको ध्यान पुग्न नसकेको कर्णालीवासीको गुनासो छ । यो राजमार्गमा हुने सडक दुर्घटनाले बर्सेनि धेरै यात्रुको मृत्यु समेत हुने गरेको छ ।

कालिकोटको पाचँलझरना गाउँपालिकाका स्थानीय मदन कठायतले कालोपत्रे गरिएको भए पनि साँघुरो र खाल्डा खुल्डीले गर्दा दुर्घटनाको जोखिम उच्च रहेको भन्दै त्यसमा राज्यले छिट्टै ध्यान दिनुपर्ने बताए । सामान्यतया एक दिनको यो बाटो पार गर्न वर्षातको बेला सुर्खेत पुग्नै तीन दिनसम्म कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको यात्रुहरूको भनाइ छ ।

वर्षातमा दैलेख र कालिकोट क्षेत्रका दर्जनौँ स्थानमा सडक अवरुद्ध भई सवारी जाममा पर्ने गरेका छन् । हुम्लाका कृष्ण बोहोराले पनि कर्णाली राजमार्ग र कर्णाली करिडाेरमा यात्रुहरू कष्टपूर्ण यात्रा गर्न बाध्य भएको बताएका छन् । उनले सडक गुणस्तरीय र दिगो रूपमा स्तरोन्नति गर्न आग्रह गरे ।

राजमार्गको स्तरोन्नतिका लागि सरकारले बर्सेनि बजेट विनियोजन गरे पनि टालटुलमै सकिने गरेको छ । राजमार्ग अन्तर्गत दैलेख खण्डको सियाँला, जाक्सी, राकम कर्णाली, घट्टेखोला क्षेत्रमा सडकको अवस्था नाजुक छ । दैलेखको आठविस नगरपालिका प्रमुख तर्क बहादुर बडुवालले बजेट अभावका बाबजुद पनि नगरपालिका भित्र पर्ने राजमार्गको स्तरउन्नतीमा लागि परेको भनाई छ ।

कर्णाली विकासको मेरुदण्ड मानिएको कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडकको कालोपत्रे वर्ष दिनसम्म पनि टिक्दैन । कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत-जुम्ला सडक खण्ड २ सय ३२ किलोमिटर छ । त्यसमध्ये एक सय ३२ किलोमिटर सडक डिभिजन कार्यालय सुर्खेतले हेर्दै आएको छ ।

सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर तुलाराम शर्माले प्रत्येक वर्ष दर्जनौँ ठाउँमा पहिरो गए पनि पन्छाउने गरेको भन्दै, राजमार्ग सिङ्गल लेन र भिरालो हुँदा सडक समयमै मर्मत गर्ने समस्या हुने गरेको बताउँछन् ।

यता, प्रदेश सरकारले भने आफ्नो कर्णाली राजमार्ग आफ्नो मातहतमा नपर्ने भन्दै पन्छिने गरेको छ । प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले सरकारले राजमार्ग सुधारका लागी केन्द्र सरकारलाई समन्वय गर्दै आएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *