संविधान एवं सिंगो व्यवस्था रक्षा लागि गठबन्धनको जीत अपरिहार्य : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत मात्र गरेको नभई समानुपातिक, समावेशी, मौलिक हक, पहिचान र अधिकारलगायत विषयमा अग्रगामी रहेको बताएका छन् ।
संविधान दिवस-२०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना सन्देश दिँदै उनले लामो सङ्घर्ष र नेपाली जनताको त्याग र बलिदानको प्रतिफलका रुपमा वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त भएको बताए । प्रचण्डले सन्देशमा भनेका छन्, ‘यो संविधानका लागि जीवन उत्सर्ग गर्ने महान् शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्गता भएका योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दछु ।’
अध्यक्ष प्रचण्डले सिंहदरबारमा रहेको एकात्मक राज्य व्यवस्थाको केन्द्रीकृत शासन प्रणालीलाई नागरिकको घरदैलोमा पुर्याउने श्रेय पनि वर्तमान संविधानलाई जाने बताए । यसले नागरिकलाई ‘गाउगाउँमा सिंहदरबार’को अनुभूति गराएको पनि उनको भनाइ छ । ‘वर्तमान संविधानकै कार्यान्वयनका क्रममा हामी आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा/प्रदेशसभा सदस्य निर्वाचनको प्रक्रियामा छौँ । संविधान एवं सिङ्गो व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि यस निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको जीत अपरिहार्य भएको छ,’ अध्यक्ष प्रचण्डले अगाडि भनेका छन् ।
उनले प्रतिगमन विरोधी अग्रगामी सबै नेपालीलाई गठबन्धनमा रहेका दलहरुलाई विजयी गराई संविधान रक्षा एवं सफल कार्यान्वयनका लागि अपिल गरेका छन् ।








