सुर्खेत १ : कांग्रेसका ‘हेभिवेट’ नेताका ३ प्रतिस्पर्धी

सुर्खेत । मंसिर ४ का लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरू उम्मेदवार छनौटमा जुटेका छन् । यस्तोमा हामीले सत्ता गठबन्धनका एकजना हेभिवेट उम्मेदवारको सम्भावित प्रतिस्पर्धीबारे सामाग्री तयार पारेका छौँ ।

नेपाली कांग्रेसका शक्तिशाली उपसभापति पूर्ण बहादुर खड्काको नाम सुर्खेत निर्वाचन क्षेत्र नं. १ बाट सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस भएको छ ।

२०४८ सालदेखि सुर्खेत क्षेत्र नं. १ (२०६४ मा समानुपातिक तर्फबाट) बाट निरन्तर चुनाव जित्दै आएका खड्का २०७४ को निर्वाचनमा भने बाम गठबन्धनका उम्मेदवार ध्रुवकुमार शाहीसँग पराजित भएका थिए ।

आसन्न निर्वाचनका लागि पाँच दलीय गठबन्धन कायम रहेको भए पनि नेपाली कांग्रेसलाई सुर्खेत १ मा निर्वाचन जित्न हम्मेहम्मे नै पर्न सक्ने जानकारहरू बताउँछन् । खड्कालाई यसपटक पनि नेकपा एमालेका ध्रुवकुमार शाहीले चुनौती दिनेछन् ।

बहालवाला सांसद मात्र नभई २०७४ सालको बाम गठबन्धनमा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य निर्वाचित ठम्मर विष्ट एमाले प्रवेश गरी एमालेबाट पुनः प्रदेशसभा सदस्यका लागि सर्वसम्मत सिफारिस भएका कारण पनि शाही कम्फर्ट जोनमा रहेको जानकारहरू बताउँछन् ।

सुर्खेतमा गठबन्धन नभएमा माओवादी केन्द्रका उम्मेदवार उदिराम डाँगी पनि हेभिवेट खड्काका चुनौती नै हुनेछन् । डाँगी सुर्खेत १ मा लोकप्रिय माओवादी नेताका रूपमा चिनिन्छन् ।

यसअघि स्थानीय तह निर्वाचनमा सुर्खेतमा माओवादी कांग्रेस गठबन्धन हुन नसकेकै कारण कांग्रेसले दुई पालिकाको नेतृत्व गुमाएको थियो । अहिले पनि प्रदेशसभाका ‘क’ र ‘ख’ पाए मात्रै प्रतिनिधिसभामा खड्कालाई समर्थन गर्ने अन्यथा एक्लाएक्लै चुनाव लड्ने रणनीतिमा माओवादी केन्द्र देखिएको छ ।

यसैगरी स्वतन्त्रहरूको लहर चलेका बेला खड्काको अर्को चुनौती विवेकशील साझाका उम्मेदवार सूर्य दीप रेग्मी समेत हुन सक्नेछन् । रेग्मीलाई राष्ट्रिय स्वतन्त्र पार्टी, पुनर्जागरण पार्टी र स्वतन्त्र अभियानको समेत समर्थन हुने सम्भावना बढ्दो छ ।

लामो समय सत्तामा रहेका कांग्रेस एमालेको विकल्पका रूपमा युवा पुस्ताको नेतृत्व गर्दै रेग्मी चुनावी मैदानमा होमिने उनी निकट स्राेत बताउँछ ।

यद्यपि रेग्मीलाई सुर्खेत १ मा उम्मेदवार बनाउनेबारे विवेकशील साझाले अहिलेसम्म औपचारिक निर्णय गरेको छैन ।

प्रतिक्रिया

One thought on “सुर्खेत १ : कांग्रेसका ‘हेभिवेट’ नेताका ३ प्रतिस्पर्धी

  1. जितेर मात्रा हुदैन हजुर हो जनताले सोचे जस्तो बिकास गरेर
    जनताको मन जि त्नु पर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *