विनोद चौधरी छाए नारायणीपारि, किन भए तीन ठाउँबाट सिफारिस ?

काठमाडौँ । नेपालका एक मात्र डलर अर्बपति उद्योगी एवं नेता विनोद चौधरी आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ३ ठाउँबाट प्रत्यक्ष उम्मेदवारको रूपमा सिफारिसमा परेका छन् । उनको पार्टी नेपाली कांग्रेसले उनलाई ३ ठाउँबाट सिफारिस गरेको हो ।
नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवं हालको प्रतिनिधिसभामा सदस्य (सांसद) रहेका चौधरीलाई ३ ठाउँबाट पार्टीले सिफारिस गर्नुले पार्टीमा र त्यस क्षेत्रमा चौधरीको योगदान तथा लोकप्रियता के छ भन्ने आम चासोको विषय बनेको छ ।
नवलपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट खास गरी कांग्रेसका पूर्व महामन्त्री डा. शेखर कोइराला ३ पटक संसदीय निर्वाचनमा निर्वाचित भइसकेका छन् । कांग्रेसका सभापतिका दाबेदारसमेत रहेका कोइरालाले निर्वाचन जित्दै आएको क्षेत्रमा पार्टीले चौधरीको नामसमेत सिफारिस गर्नुले पनि राजनीतिक वृत्तमा चौधरीबारे आम चासो बढेको हो । त्यसो त कोइराला र चौधरीसहित ५ जनाको नाम यो क्षेत्रबाट सिफारिस भएको छ ।

त्यस्तै, नवलपुरको निर्वाचन क्षेत्र नम्बर २ र नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ बाट पनि उनी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्ष उम्मेदवारमा सिफारिसमा परेका छन् । नवलपुर–२ मा त उनलाई प्रत्यक्ष उम्मेदवार बनाउन स्थानीय आम नागरिकले नै माग गरेका छन् ।
२०७४ सालमा पार्टीको समानुपातिक सूचीबाट प्रतिनिधिसभामा सांसद बनेका चौधरीलाई अहिले मैदानमै उत्रिएर प्रत्यक्ष चुनाव लड्नुपर्ने बाध्यता पनि छ । पार्टीले विगतमा समानुपातिकमा परेकालाई यस पटक उक्त सूचीमा नदोहोर्याउने नीति लिएपछि चौधरीसामु यस्तो बाध्यता आएको छ । ३ ठाउँबाट सिफारिसमा परेका चौधरीलाई पार्टीले १ ठाउँमा टिकट दिने पक्कापक्की जस्तै छ । विगतमा जस्तो एक व्यक्ति दुई ठाउँबाट चुनाव लड्न पाउने व्यवस्था अहिले छैन ।
चौधरी पनि आफू पार्टीको निर्णय अनुसार जुनसुकै क्षेत्रबाट चुनाव लड्न तयार रहेको बताउँदै आएका छन् । यसको अर्थ प्रत्यक्ष निर्वाचनमा भारी बहुमतका साथ विजयी हुने पूर्ण आत्मविश्वासका साथ चौधरी मैदानमा खडा हुन लागेका छन् । त्यसो त तुलनात्मक रूपमा हेर्ने हो भने चौधरीले प्रत्यक्ष निर्वाचन नजित्नुपर्ने कारण देखिँदैन । बरु उनले जित्ने र जित्नुपर्ने तथ्य र कारणहरू नै बलिया देखिन्छन् ।
के हो त चौधरीप्रतिको आकर्षण ?
जनजनमा विस्तारित उद्योगी एवं राजनीतिक नेता :
चौधरी समूह(सिजी ग्रुप)को औद्योगिक तथा व्यावसायिक छवि जनजनमा विस्तारित छ । तयारी खाजाको रूपमा चाउचाउलाई देशका बालबालिकादेखि वृद्धसम्ममा पुर्याउने चौधरी ग्रुप र यसका सञ्चालक विनोद चौधरीलाई सबैले चिनेका छन् । ‘वाइवाइ’ चाउचाउमार्फत नै यो समूह नेपालका जनमनमा भिज्न सफल भएको छ । यद्यपि, सिजीको व्यावसायिक विरासत कम्ती पुरानो छैन । अर्थात् नेपालमा झण्डै ८७ वर्ष पुरानो व्यावसायिक इतिहास बोकेको छ यो समूहले ।
सन् १९३५ मा न्युरोडको जुद्ध सडकमा एउटा पसलबाट सुरु भएको यो समूह, अमेरिका र युरोपमा जुट निर्यात, युनाइटेड विल्डर्समार्फत सडक तथा भवन निर्माण, फ्लोरिङ तथा फर्निसिङ व्यापार, धागो उद्योग, इलेक्ट्रोनिक्स सामानको आयात व्यापार, कपडा व्यापार, स्टिल उद्योग, विस्कुट उद्योग, मैदा उद्योग, इलेक्ट्रोनिक्स समानको एसेम्बलिङ उद्योग, खाद्य उद्योग हुँदै अन्य क्षेत्रमा समेत विस्तार हुँदै आएको हो । व्यापारबाट सुरु भएको यो समूह उद्योग हुँदै सेवालगायत विभिन्न क्षेत्रमा फैलिने क्रममै छ । हाल यो समूह बैंक, वित्त, बीमा, अस्पताल, स्कुल तथा कलेज, होटल जस्ता सेवा व्यवसायमा पनि फैलिएको छ । त्यस्तै, घरजग्गा व्यवसाय, जलविद्युत्, सपिङ मल जस्ता उद्योग व्यवसायमा सक्रिय गराएको छ । नेपालसहित विश्वका २० देशमा फैलिसकेको छ । नेपालमा प्रधान कार्यालय रहेको एक मात्रै बहुराष्ट्रिय कम्पनी बनेको छ अहिले सिजी ग्लोबल । आफ्नै छवि, उदाहरणीय व्यक्तित्वका कारण पनि विनोद चौधरी अहिले नेपालीले मात्रै नभई विश्वले नै चिनेका डलर अर्बपति हुन् । त्यसो हुँदा पार्टी र आम नागरिकका उनीप्रति आकर्षण हुनु स्वभाविक देखिन्छ ।
पार्टीका लागि आर्थिक सहयोगी, अर्थमा आत्मनिर्भर उम्मेदवार :
नेपालको पहिलो र एक मात्र तथा दक्षिण एसियामा भारतबाहेकका देशको एक मात्र डलर अर्बपति हुन् चौधरी । सबैजसो मुख्य उद्योग, व्यापार तथा सेवा क्षेत्रमा व्यवसाय विस्तार गरेका चौधरी पार्टीका लागि आर्थिक सहयोगी हुन् । उनले आवश्यक परेका बेला आफ्नो पार्टीलाई आर्थिक सहयोग गर्न सक्छन् । र, आफूलाई चुनाव लड्न पनि अरुसँग चन्दा माग्नुपर्ने अवस्थामा छैनन् । त्यसो हुँदा उनी आर्थिक रूपमा आत्मनिर्भर उम्मेदवार भन्दा पनि हुन्छ । नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका चौधरी पार्टीले उम्मेदवार बनाउन सिफारिस गर्नु स्वभाविक र जायज नै देखिन्छ ।
नवलपुर, परासी र देशकै मुहार फेर्ने सिजी औद्योगिक ग्राम र शास्वत धामको प्रभाव :
चौधरी ग्रुप नेपालकै निजी घरानामा एक मात्र त्यस्तो घराना हो, जसले नवलपरासीको दुमकौलीमा एकल औद्योगिक ग्राम (सिजी इन्डस्ट्रियल पार्क) नै सञ्चालन गरेको छ । उक्त पार्कमा कम्पनीले विभिन्न खाद्य तथा पेय पदार्थका लागि उत्पादन, प्रशोधन तथा प्याकेजिङ प्लान्टहरु सञ्चालन गरेको छ । उक्त पार्कका उद्योगमा मात्रै झण्डै ३ हजारभन्दा बढीले रोजगारी पाएका छन् ।
त्यस्तै, चौधरी ग्रुपले एसियाकै नमुना धार्मिक तथा पर्यटकीय धाम सञ्चालन गरिएको छ । नवलपुरको देवचुली नगरपालिकाको दुमकौलीमा रहेको सिजी शास्वत धाममा वर्षेनी १५ लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गर्ने गरेका छन् । यसले यहाँको पर्यटकीय गतिविधि बढाएको छ । हस्पिटालिटी तथा अन्य आर्थिक गतिविधिलाई पनि बढावा दिएको छ । रोजगारी सिर्जनामा भरपुर मद्दत मिलेको छ । त्यसो हुँदा नवलपुर तथा परासी क्षेत्रका आम जनताले चौधरीलाई चाहनु स्वभाविक हो ।
विकासको भोक र डलर अर्बपति उम्मेदवारप्रतिको विश्वास :
आर्थिक रूपमा विपन्न र सैद्धान्तिक प्रवचन तथा वैचारिक तर्क वा वाक्कलामा मात्रै निपूर्ण नेताले पदमा पुगेपछि देश र जनतामाथि गर्ने गरेको अन्याय र पदीय अधिकारको दुरुपयोग आम प्रवृत्ति नै बनेको छ । त्यसो हुँदा आम नागरिकमा त्यस्तै नेताप्रति वितृष्ण चुलिएको छ । जितेको भोलिपल्टबाट ठेक्का, पट्टा, कमिसन र भागबन्डामा रमाउन मरिमेट्ने नेताबाट जनता वाक्क छन् । अपेक्षित विकासको फल चाख्न नपाएका वा विकासको सुख भोग गर्न नपाएका जनतामा विकासप्रति चरम भोक छ । यस्तो अवस्थामा आर्थिक रूपमा पनि सम्पन्न विश्वकै डलर अर्बपतिहरुले चिनेका र देशमा वैदेशिक लगानीसमेत भित्र्याउन सक्ने व्यक्तिका रूपमा नवलपुर र नवलपरासी क्षेत्रका नागरिकले विनोद चौधरीलाई चाहेका छन् । चौधरीले प्रत्यक्ष निर्वाचनमा जिते केही गर्न सक्छन् भन्ने आशा र विश्वास पनि जनता तथा पार्टीका स्थानीय नेता कार्यकर्तामा छ ।
संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) वहन गर्ने सिलसिलामा चौधरी समूहले वर्षेनी नेपालको सामाजिक क्षेत्रमा धेरै काम गर्दै आएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, पुल, विद्यालयलगायत अनेक क्षेत्रमा सहयोग गर्दै आएको छ । चौधरी फाउन्डेशनमार्फत सिजी ग्रुपले सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउँदै आएको छ । चौधरीले जितेको अवस्थामा उनले आफ्नो निर्वाचन क्षेत्रलाई आर्थिक सामाजिक रूपमा सम्पन्न बनाउन दीर्घकालीन आर्थिक विकासका योजना ल्याउने र कार्यान्वयन गर्न सक्नेमा समेत स्थानीय आशावादी देखिन्छ । त्यसो हुँदा आसन्न चुनावमा नारायणीपारि चौधरीप्रतिको आकर्षण चुलिनु वा उनी ३ ठाउँबाट सिफारिसमा पर्नु स्वभाविक देखिन्छ ।









