ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडभन्दा बढीको बजेट

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

बुधबार महानगरपालिकाको बजेट प्रस्तुत गर्दै उपमेयर मञ्जली शाक्य बज्राचार्यले आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षकै हाराहारीमा रहेको जानकारी दिइन् ।

बजेटअनुसार चालु खर्चतर्फ ३ अर्ब २५ करोड १८ लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ । महानगरपालिकाले बजेटलाई मितव्ययी, पारदर्शी र औचित्यपूर्ण ढंगले खर्च गर्ने उद्देश्यका साथ चालु खर्चको व्यवस्था गरेको जनाएको छ ।

उपमेयर बज्राचार्यले भनिन्, ‘आगामी आर्थिक वर्षका लागि कुल ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार रुपैयाँ बजेट विनियोजन गरेकी छु । यो रकम चालु आर्थिक वर्षको हाराहारीमा रहेको छ । बजेटलाई मितव्ययी, पारदर्शी र औचित्यपूर्ण रूपमा खर्च गर्ने गरी चालु खर्चका लागि ३ अर्ब २५ करोड १८ लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।’

उनका अनुसार कर्मचारीहरूको तलब वृद्धि, प्रोत्साहन भत्ता, प्रशासनिक खर्च तथा सामाजिक सुरक्षा भत्ताजस्ता अनिवार्य दायित्वका कारण चालु खर्च गत वर्षको तुलनामा करिब २८ करोड रुपैयाँले बढ्ने अनुमान गरिएको छ । यो चालु आर्थिक वर्षको तुलनामा करिब ९ प्रतिशत बढी हो ।

त्यसैगरी पुँजीगत खर्चतर्फ ४ अर्ब २३ करोड ६९ लाख २७ हजार रुपैयाँ विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा पुँजीगत खर्चका लागि ४ अर्ब ५० करोड ७७ लाख २९ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।

संघीय र प्रदेश सरकारबाट पुँजीगत शीर्षकमा कम बजेट प्राप्त भएकाले आगामी आर्थिक वर्षमा पुँजीगत खर्च करिब २७ करोड रुपैयाँले घटाइएको महानगरपालिकाले जनाएको छ ।

‘संघीय सरकार र प्रदेश सरकारबाट पुँजीगत शीर्षकमा कम बजेट प्राप्त भएकाले गत वर्षको तुलनामा करिब २७ करोड रुपैयाँ कम पुँजीगत बजेट प्रस्ताव गरिएको हो,’ उपमेयर बज्राचार्यले भनिन् ।

महानगरपालिकाले वडास्तरीय कार्यक्रम तथा विषयगत क्षेत्रका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिएको जनाएको छ । चालु आर्थिक वर्षमा विनियोजन गरिएकै आधारमा आगामी वर्षका लागि पनि बजेट प्रस्ताव गरिएको उपमेयर बज्राचार्यले बताइन् ।

बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबाट मासिक प्रतिवेदन प्रणाली लागू गरिने व्यवस्था गरिएको छ । साथै, निर्माणाधीन आयोजनाहरूका लागि आवश्यक बजेट सुनिश्चित गरिएको महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =