आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

तानसेन । पाल्पाका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न थालेका छन् । स्थानीय सरकारको सहयोगमा उनीहरू प्रशिक्षणमा सहभागी भएका हुन् ।
विपन्न वर्ग तथा समुदायलाई लक्ष्य गरी स्थानीय सरकारले सीप विकाससम्बन्धी तालिम सञ्चालन गरेपछि उद्यम गरेर आत्मनिर्भर हुन उनीहरू प्रशिक्षणमा आकर्षित भएका हुन् । केही महिला सीप सिकेर स्वरोजगार बनेका छन् भने केही सीप सिकिरहेका छन् ।
तानसेन नगरपालिका–५ कैलाशनगरकी मालती अधिकारीले भनिन्, “सीप सिक्छौँ, आत्मनिर्भर बन्छौँ, आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न हुन्छौँ, यसअघि स्वेटर, टोपी, मोजालगायत बुन्न सिकेको र अहिले वडा कार्यालयको सहयोगमा जुत्ता, चप्पल बनाउन सिकेको सीपले हाम्रो जीवनस्तर सुधार हुने ठानेकी छु ।”
उद्यमी अधिकारीजस्तै यहाँका ३४ जना महिलाले जुत्ता, चप्पल बनाउन सिकेका छन् । सीप विकासमार्फत विपन्न समुदायका महिलालाई आत्मनिर्भर बनाउन तालिम दिइएको वडाध्यक्ष रामबहादुर रावलले बताए ।
सीप र रोजगारलाई प्राथमिकता दिँदै दक्ष जनशक्ति र उद्यमी उत्पादन गर्नेगरी वडाले काम गरिरहेको उनले बताए ।
उनले भने, “महिला र युवालाई सीपसँग जोड्दै क्षमता विकास गर्ने र उत्पादन गरेका वस्तु बजारसम्म पुर्याउनका लागि हामीले सहजीकरण गर्दै आएका छौँ ।”
तालिमबाट महिला उद्यमी बन्ने र नगरभित्र आर्थिक चलायमान बढ्ने उनले विश्वास व्यक्त गरे । सानो पुँजीमा व्यवसाय सञ्चालन गर्न सकिने भएकाले महिला सजिलै आत्मनिर्भर बन्न सक्ने रावलको भनाइ छ ।
सधैँजसो मेलापात, चुलोचौका र घरधन्दामै दैनिकी बिताउँदै आएका रामपुरका महिला पनि ४५ दिने होजियारी तालिमपछि गाउँमै स्वेटर, मोजा, टोपी र मफलर बुन्न सक्ने भएका छन् ।
रामपुर नगरपालिकाले होजियारी तालिम सञ्चालन गरेपछि सुइडा पनि नदेखेका महिलाले स्वेटर, मोजा, टोपी र मफलर बुन्ने भएका छन् ।
तालिममा सहभागी सीता रेग्मीले भने, “हामीले सुइडा पनि देखेका थिएनौँ । पहिलो दिनमा त निकै अलमलिएका थियौँ । सीप सिक्ने इच्छाका साथ दैनिक प्रयास गरेपछि अब स्वेटर, मोजा, टोपी र मफलर बुन्ने भएका छौँ ।”
रामपुर नगरपालिकाले उपप्रमुख ग्रामीण महिला उत्थान कार्यक्रमअन्तर्गत आधारभूत होजियारी तालिम लिएका ग्रामीण महिलाका लागि ४५ दिनको तालिम दिएपछि महिलाहरू स्वरोजगार बन्ने दिशामा लागेका हुन् ।
नगरप्रमुख रमणबहादुर थापाले महिलालाई व्यावसायिक र आत्मनिर्भर बनाउन नगरपालिकाले सीपमूलक तालिम सञ्चालन गर्दै आएको बताए । कतिपय महिला तालिम लिएर व्यवसाय बजारको सुनिश्चितता पनि पालिकाले गर्ने उनले बताए ।









