रुपन्देहीका स्थानीय तहको बजेट: पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रमा प्राथमिकता

काठमाडौं । रुपन्देही जिल्लाका अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि आज बजेट प्रस्तुत गरेका छन् । आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका अधिकांश स्थानीय तहले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन तथा रोजगारी प्रवद्र्धनलाई प्राथमिकतामा राखेका छन् ।

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सबैभन्दा ठूलो आकारको बजेट ल्याएको छ । उपप्रमुख सावित्रादेवी अर्यालले आज नगरसभामा रु तीन अर्ब ९९ करोड २२ लाख २१ हजार २०० बराबरको बजेट प्रस्तुत गरिन् । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि आज सार्वजनिक गरेको बजेट चालु आवको तुलनामा झण्डै रु ६४ करोड बढी हो ।

चालु आव २०८२र८३ का लागि रु तीन अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको थियो । बजेटमा शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता दिइएको छ । ‘समानता, स्वाभिमान र अवसर, बस्न योग्य बुटवल सहर’ नारालाई आत्मसात् गर्दै ल्याइएको प्रस्तावित बजेटको स्रोत व्यवस्थापनका लागि सङ्घीय सरकारबाट सङ्घीय समानीकरण अनुदानबापत रु २९ करोड २२ लाख, सशर्त अनुदान (चालु)तर्फ रु ५० करोड २५ लाख, सशर्त अनुदान (पुँजीगत)तर्फ रु सात करोड चार लाख, विशेष अनुदान (पुँजीगत)तर्फ रु ९० लाख र समपूरक अनुदान (पुँजीगत)तर्फ रु २० लाख प्राप्त हुने अनुमान छ ।

यस्तै, प्रदेश सरकारबाट प्रदेश समानीकरण अनुदानबापत रु दुई करोड तीन लाख ६५ हजार, सशर्त अनुदान (चालु)तर्फ रु ५६ लाख ५० हजार, सशर्त अनुदान (पुँजीगत)तर्फ रु एक करोड ७३ लाख, समपूरक अनुदान (पुँजीगत) बापत रु एक करोड ५० लाख र विशेष अनुदान (पुँजीगत)तर्फ रु २० लाख प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

राजस्व बाँडफाँटतर्फ सङ्घीय सरकारबाट रु १९ करोड ४३ लाख ८६ हजार र प्रदेश सरकारबाट रु दुई करोड ७५ लाख ६१ हजार प्राप्त हुने अनुमान छ । नगरको आन्तरिक स्रोत व्यवस्थापनतर्फ स्थानीय आन्तरिक स्रोतबापत रु एक अर्ब ५० करोड ३८ लाख ५९ हजार २०० सङ्कलन हुने लक्ष्य राखिएको छ । यसबाहेक स्थानीय राजस्व बाँडफाँटअन्तर्गत विज्ञापन, मनोरञ्जन कर र दहतार बहत्तरको बिक्रीबाट रु ७८ करोड ७७ लाख ७८ हजार ८०० प्राप्त हुने तथा गत आर्थिक वर्षको बचत (अल्या) रु ४० करोड गरी कूल स्रोत रु तीन अर्ब ८५ करोड रहने अनुमान गरिएको छ ।

बजेटले उज्यालो, सफा, सुन्दर र हरियालीसहितको सुरक्षित र समुन्नत सहरको रुपमा विकास गर्ने, सूचना तथा सञ्चार प्रविधिको उच्चतम उपयोग गरी सहरलाई जीवन्त बनाउने, नागरिक वडापत्रलाई कार्यान्वयन गर्दै सेवाग्राहीलाई जनउत्तरदायी, पारदर्शी र सुशासनयुक्त बनाउने, मौलिक भाषा, संस्कृति र सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने, प्राकृतिक जलस्रोत तथा जलाधार क्षेत्रको संरक्षण गर्ने प्राथामिकतामा राखेको छ ।

तिलोत्तको बजेट तीन अर्ब पाँच करोड

तिलोत्तमा नगरपालिकाले आगामी आवका लागि रु तीन अर्ब पाँच करोडको बजेट सार्वजनिक गरेको छ । नगरसभाको २१औँ अधिवेशनको आजको दोस्रो बैठकमा उपप्रमुख जागेश्वरी चौधरीले रु तीन अर्ब पाँच करोड ६७ लाख आठ हजारको बजेट प्रस्तुत गरेका हुन् ।

कूल बजेटमध्ये चालुतर्फ रु ९२ करोड तीन लाख ३०।२२ प्रतिशत विनियोजन गरिएको छ । यस्तै पुँजीगततर्फ रु एक अर्ब ६७ करोड ८४ लाख अर्थात् ५४.९१ प्रतिशत र सामाजिक सुरक्षातर्फ रु ४५ करोड अर्थात् १४.७२ प्रतिशत विनियोजन गरिएको उपप्रमुख चौधरीले जानकारी गराए ।

त्यस्तै वित्तीय व्यवस्थापनतर्फ रु ४५ लाख अर्थात् ०.१५ प्रतिशत खर्च प्रस्ताव गरिएको छ । बजेटमा आन्तरिक राजस्वबाट रु ३६ करोड ६ लाख, सङ्घीय र प्रदेश सरकारबाट अन्तरसरकारी वित्तीय हस्तान्तरण तथा राजस्व बाँडफाँट र नगद मौज्दातबाट रु दुई अर्ब ६९ करोड ६१ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

तिलोत्तमाले ल्याएको आगामी आवको बजेट चालु आवको भन्दा रु १३ करोड बढी हो । बजेटलाई सकेसम्म वस्तुनिष्ठ बनाइएको बताउँदै उपप्रमुख चौधरीले यसको सफल कार्यान्वयनमा सबैको रचनात्मक सहयोगको अपेक्षा गरे । उनले चालु आवमा रु दुई अर्ब ९२ करोड ९३ लाख बजेट विनियोजन भएकामा हालसम्म रु एक अर्ब ६३ करोड ५८ लाख अर्थात् करिब ५३ प्रतिशत खर्च भएको जानकारी दिए।

लुम्बिनी सांस्कृतिक नगरपालिकाले ल्यायो एक अर्ब ७५ करोडको बजेट

बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी सांस्कृतिक नगरपालिकाले आगामी आवका लागि रु एक अर्ब ७५ करोड ७८ लाख ७३ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । नगरसभामा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक तथा कार्यवाहक प्रमुख कल्पना हरिजनले आज उक्त बजेट प्रस्तुत गरे।

नगरपालिकाले प्रशासनिक भवन, बसपार्क तथा पहुँचमार्ग निर्माणलाई उच्च प्राथमिकतामा राख्दै उक्त परियोजनाका लागि मात्रै रु ७३ करोड ३४ लाख विनियोजन गरेको छ । साथै बृहत्तर लुम्बिनी क्षेत्र विकास कार्यक्रमका लागि रु नौ करोड छुट्याइएको छ । शिक्षा सुधार, स्थानीय पाठ्यक्रम निर्माण, स्वास्थ्य, सामाजिक सुरक्षा तथा विश्व सम्पदा क्षेत्र लुम्बिनीको संरक्षण र विकासलाई पनि बजेटले प्राथमिकता दिएको छ।

सैनामैनाद्वारा डेढ अर्बको बजेट सार्वजनिक

सैनामैना नगरपालिकाले आगामी आवका लागि रु एक अर्ब ५५ करोड ६७ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख बिना रानाले प्रस्तुत गरेको बजेटमा कृषि, पर्यटन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारी प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ।

देवदहको बजेट एक अर्ब ६९ करोड ९९ लाख

देवदह नगरपालिकाले आगामी आव २०८३र८४ का लागि रु एक अर्ब ६९ करोड ९९ लाख पाँच सय २९ बराबरको बजेट प्रस्तुत गरेको छ । उपप्रमुख विद्यालक्ष्मी गुरुङले प्रस्तुत गरेको बजेटमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी विस्तार तथा भौतिक पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखिएको नगरप्रमुख ध्रुव खरेलले जानकारी दिए।

ओमसतियाको बजेट ५१ करोड १० लाख

रुपन्देहीको ओमसतिया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि रु ५१ करोड १० लाख ५४ हजारको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाको १९औँ गाउँसभामा उपाध्यक्ष सुनिता चौधरीले उक्त बजेट तथा कार्यक्रम सभासमक्ष प्रस्तुत गरेकी हुन् ।

सहभागिता, समावेशीता, सामाजिक न्याय, पारदर्शीता, दिगो विकास र सुशासनलाई आधार मानेर तयार पारिएको बजेटले गाउँपालिकावासीको आवश्यकता तथा अपेक्षालाई सम्बोधन गर्ने लक्ष्य लिएको उनले बताइन् । बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी, वातावरण संरक्षण तथा प्रशासनिक सुदृढीकरणलाई प्राथमिकतामा राखेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + seven =