सेप्टेम्बरमा मात्र युक्रेनले रुसले कब्जा गरेको कति क्षेत्र फिर्ता लियो ?

काठमाडौँ । रुसी सेनाले कब्जामा लिएका अधिकांश क्षेत्र फिर्ता गरिएको युक्रेनीले जनाएको छ । युक्रेनी सेनाले रुसी सेनाबाट थप क्षेत्र आफ्नो कब्जामा लिन सकेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको बताएका हुन् ।

जेलेन्स्कीका अनुसार सेनाले सेप्टेम्बरयता युक्रेनको पूर्व र दक्षिणमा रुसी नियन्त्रणमा रहेका ६,००० वर्ग किलोमिटर भन्दा बढी क्षेत्र फिर्ता लिइएको हो । यद्यपि, यी तथ्याङ्कहरूको स्वतन्त्र पुष्टि गर्न सकेको छैन । तर रुसले उत्तरपूर्वी खार्किभ क्षेत्रका प्रमुख सहरहरू गुमाएको स्वीकार गरेको छ ।

यो स्वीकारोक्तिलाई सैन्य विज्ञहरूले युद्धको उल्लेख्य घटनाक्रमका रूपमा हेरेका छन् । मस्कोले युक्रेनको पूर्वमा रहेको लुहान्स्क र डोनेट्स्क क्षेत्रहरूमा ध्यान केन्द्रित गर्ने उद्देश्यले आफ्नो सेना ‘पुनः सङ्गठित हुन’का लागि फिर्ता गरेको बताएको छ । तर उक्त दाबीलाई रुसमा समेत हाँसोको विषय बनाइएको छ । अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले सेनाको फिर्तीलाई लज्जास्पद भनेर व्याख्या गरेका छन् ।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङकेनले युक्रेनी फौजले आफ्नो प्रत्याक्रमणका बेला उनकै शब्दमा उल्लेख्य प्रगति हासिल गरेको बताए । अमेरिकास्थित थिङ्क ट्याङ्क द इन्स्टिच्युट फर द स्टडी अफ वार (आईएसडब्लू)का मेसन क्लार्कले त्यो रुसी सेनाहरूको सम्पूर्ण हार भएको जिकिर गरे । रुसी सेनाको लागि गत मार्चको अन्त्यमा राजधानी किएभ नजिकैको असफल अभियान पछिको यो अर्को महत्त्वपूर्ण असफलता हो ।

भिडिओ सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले भनेका छन्, ‘सेप्टेम्बरको सुरुवातदेखि आजसम्म हाम्रा योद्धाहरूले पूर्व र दक्षिणका ६,००० वर्गकिलोमिटर भन्दा बढी युक्रेनी क्षेत्रफललाई स्वतन्त्र पारिसकेका छन् ।’ प्रत्याक्रमणको यो स्तर पुष्टि भयो भने निकै छिटो भएको देखिन्छ । बिहीवार राष्ट्रपति जेलेन्स्कीले १,००० वर्गकिलोमिटर भूमि, शनिवार साँझ २,००० वर्गकिलोमिटर र आइतवार उक्त तथ्याङ्क झन्डै तीन गुना बढेर ३,००० वर्गकिलोमिटर पुनःप्राप्ति गरेको दाबी गरेका हुन् ।

उनले कुनकुन युक्रेनी सहर तथा गाउँहरू रुसी नियन्त्रणबाट मुक्त गरिएको हो भन्नेबारे कुनै जानकारी दिएनन् । रुसले यसअघि आफ्नो सेनाले खार्किभ क्षेत्रका प्रमुख सहरहरू बालाक्लिया, इज्युम र कुपियान्स्क छोडेको स्वीकार गरेको थियो । रुसले अहिले यस क्षेत्रको सानो पूर्वी भाग मात्र नियन्त्रणमा राखेको छ ।

क्राइमियासँगको सिमानामा रहेको दक्षिणी खेरसन क्षेत्रमा पनि युक्रेनी सेनाले महत्त्वपूर्ण प्रगति गरेको विवरणहरू आएका छन् । युक्रेनी प्रायद्वीप क्राइमियालाई सन् २०१४ मा रुसले कब्जा गरेको थियो । ब्रिटेनका रक्षा अधिकारीहरूले युक्रेनी सेनाको पछिल्लो सफलताले रुसको समग्र परिचालन योजनामा महत्त्वपूर्ण प्रभाव पार्ने बताएका छन् । -बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *