वीरेन्द्रनगर नगरपालिकाले हटाउन थाल्याे अवैध संरचना

सुर्खेत । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिका सुर्खेतले अवैध संरचना हटाउन सुरु गरेको छ । वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा अवैध संरचनाका कुरूप बनेको र सडक विस्तारमा कठिनाइ देखिएपछि नगरपालिकाले सात दिनभित्र संरचना हटाउन दिएको अल्टिमेटमअनुसार संरचना हटाउनु सुरु गरेको हो ।

नगरपालिकाले मंगलगढी चौकबाट प्रवेश गर्ने मुख्य बजार क्षेत्रमा रहेका विद्युत्, नेपाल टेलिकमका पोल तथा तारहरू र सडक किनारामा रहेका अशोकका रुखहरू हटाउन थालेको छ ।

वीरेन्द्रनगरको मुख्य बजार क्षेत्र मंगलगढी–गणेश चौकसम्मको झन्डै एक हजार सात सय मिटर सडक विस्तार गर्नुपर्ने भएकाले सडकका दुवै किनारामा रहेका अवैध संरचना हटाउन यसअघि नै जारी सूचनाअनुसार आजदेखि काम थालिएको प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले जानकारी दिए ।

‘गत वर्ष नै सडक विस्तारका लागि ठेक्का आह्वान गरिएको हो । अवैध संरचनाका कारण निर्माण काम सुरु गर्न सकिएको थिएन,’ तिवारी भन्छन्, ‘सर्वदलीय र सर्वपक्षीय बैठकमा सहमति जुटाएर सडक विस्तार गर्न अन्तिम सूचना प्रकाशन गरेपछि त्यसैको निरन्तरताका लागि आजबाट काम थालेका हौँ ।’

नगरपालिकाले अवैध संरचनासहित सडक क्षेत्राधिकार भित्र पर्ने नक्सापास अनुमति नलिई निर्माण भएका स्थायी र अस्थायी भौतिक संरचना पनि हटाउने जनाएको छ । प्रदेशको पूर्वाधार विकास निर्देशनालयले मंगलगढी–गणेशचौक, वीरेन्द्रचौक–भानुचौक, हुलाक चोक–राम मन्दिर, वीरेन्द्रचौक–खोर्के खोला लाइनसम्मको सडक स्तरोन्नति गर्न विभिन्न प्याकेजमा बजेट विनियोजन गरेको छ ।

यी सबै सडक डवल लेनको निर्माण गरिने निर्देशनालयका इन्जिनियर सूर्य शाहीले जानकारी दिए । ‘मुख्य बजार क्षेत्रको सडक निर्माण लागत करिब १३ करोड ६७ लाख रहेको छ,’ शाहीले भने, ‘यो आर्थिक वर्ष सक्ने गरी अघिल्लो आर्थिक वर्षमा खड्का निर्माण सेवा बाँकेसँग सम्झौता भइसकेको छ । नगरपालिकाले साइट क्लियर गरेपछि निर्माण थालनी गरिनेछ ।’

८३४ मिटर लम्बाइसहित सडकको १५ मिटर चौडाइसम्म कालोपत्रे गरिने र बाँकी पार्किङका लागि रहने छ । निर्देशनालयले सृजनशील टोल तार र पोलका कारण कुरूप बनेको बजार क्षेत्रमा रहेका संरचना समयमै नहटाएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित कानुन अनुसार अटेरी गरे कारबाही गर्ने नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *