विद्यालयको तालिम सञ्चालन रकममा भ्रष्टाचार, अख्तियारद्वारा ११ जनाविरुद्ध मुद्दा

सुर्खेत । दैलेखको चामुण्डा माध्यमिक विद्यालयलाई तालिम सञ्चालन गर्नुपर्ने रकममा भ्रष्टाचार गरेको भन्दै ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट विभिन्न तालिम सञ्चालनका लागि प्राप्त रकम अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

चामुण्डा बिन्द्रासैनी नगरपालिका-३ स्थित उक्त विद्यालयलाई आफैँले सञ्चालन गर्नुपर्ने तालिम इलाइट इन्फ्रास्ट्रक्चर एण्ड डिभलपमेन्ट कन्सल्टयान्ट प्रा.लि. काठमाडौँलाई दिएको भन्दै उजुरी दर्ता गरिएको हो । तालिम परिषद् प्रदेश कार्यालय वीरेन्द्रनगर सुर्खेतका तत्कालीन का.मु. निर्देशक (कार्यालय प्रमुख) भीमकान्त लामिछाने र मोहनबहादुर कार्की, लेखा अधिकृत, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, कन्सल्ट्यान्ट प्रा.लि.का सञ्चालक गरी ११ जनामाथि सार्वजनिक सम्पत्ति हानि नोक्सानी र भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

निजी संस्थाका सञ्चालक समेतसँगको मिलेमतोमा सरकारी सम्पत्ति हानिनोक्सानी पुर्‍याउने नियतले सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारको ठहर छ । उजुरी उपर अनुसन्धान हुँदा परिषद्ले विना सूचना र प्रतिस्पर्धा आवश्यक पूर्वाधारसमेत अध्ययन नगरी तालिम सञ्चालनको अनुमति दिएको खुलेको र मिलेमतोमा तालिम सञ्चालन गर्न दिएको खुलेको छ ।

अख्तियारका अनुसार छोटो अवधिको सीपमूलक तालिम कार्यक्रम सञ्चालन कार्यविधि २०७५ अनुसार प्रशिक्षार्थी छनौट प्रक्रिया र तालिमका सहभागीहरूको योग्यता तोकिएकोमा सो पालना नगरी सिधै निजी संस्थाले प्रशिक्षार्थी छनोट गरेको देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *