फाष्ट ट्रयाकको ठेक्कामा संलग्नलाई कारबाही गर्न समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौँ–निजगढ द्रुतमार्ग (फास्टट्रयाक) आयोजनाको ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्न आयोजना प्रमुखलगायत जिम्मेवार पदाधिकारीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।

समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले आयोजनाको ठेक्का सम्झौतासम्बन्धी छानवीन समितिको प्रतिवेदनका आधारमा ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्न आयोजना प्रमुखलगायतका जिम्मेवार पदाधिकारीलाई कारबाही गर्न निर्देशन दिएको हो।

सार्वजनिक खरिद ऐन अनुसार ठेक्का प्रक्रियाको काम अघि नबढेकाले उक्त ठेक्का प्रक्रियामा संलग्न जिम्मेवार पदाधिकारीलाई कारवाही गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालय र रक्षा मन्त्रालयलाई सचेत गराइएको समिति सभापति कल्याणी खड्काले बताइन् ।

‘ठेक्का सम्झौताको काम सार्वजनिक खरिद ऐन अनुसार नभएको पाइयो,’ बैठकको अन्त्यमा उनले भनिन्, ‘समितिले पनि आयोजनाको ठेक्का प्रक्रिया कानुन बमोजिम सम्पन्न गर्न पटक पटक निर्देशन दिइसकिएको सन्दर्भमा निर्दिष्ट कानुन बमोजिम ठेक्का व्यवस्थापन कार्यमा संलग्न आयोजना प्रमुखलगायत जिम्मेवारी पदाधिकारीहरुलाई कानुन बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउन र आगामी दिनमा यस्ता कमीकमजोरी नदोहोरिने गरी आयोजनाको काम अगाडि बढाउन समिति नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय र रक्षा मन्त्रालयलाई निर्देश गर्दछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =