समाजको विभेद र असमानतालाई नहटाइए शहीदको सपना पूरा हुँदैन : उपेन्द्र यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले समाजमा धेरै किसिमको विभेद र असमानता कायम रहेको बताएका छन् । यी विभेद र असमानतालाई नहटाएसम्म शहीदहरुको बलिदानी पूरा नहुने उनले बताए ।
जनकपुरधाममा शनिबार आयोजित शहीदहरुको श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले समाज, महिला, दलित र अल्पसंख्यकप्रतिको विभेद र असमानता बिद्यमान रहेको बताए ।
जाती र भाषा र संस्कृतिको आधारमा पनि समाजमा विभेद, असमानता, शोषण र उत्पीडन कायम रहेको बताउँदै उनले जबसम्म यस्ता विभेदलाई जडबाटै उखालेर नफयाँकेसम्म शहीदको सपना पूरा हुन नसकिने उनले उल्लेख गरे ।
ऐतिहासिक मधेश जनविद्रोह लगायतका आन्दोलनमा बीर सपूतहरुको बलिदानीकै कारण मधेशी जनता देशको नागरिक बन्न पाएको भन्दै उनले संघीय गणतन्त्र आउनुअघि मधेशीलाई धोती, बिहारी भन्ने गरिएको र अहिले त्यो न्न बन्द भएको बताए ।
लोकतन्त्र र संघीयताबिरोधी शक्ति, विभेदकारी शाषकवर्ग आज पनि संघीय गणतन्त्रलाई समाप्त गर्ने खेलमा लागेको भन्दै अध्यक्ष यादवले यसको रक्षा गर्न संघर्ष गरिरहनुपर्नेमा जोड् दिए ।








