देवघाटमा ३० फिट अग्लो भगवान शिवको मूर्ति निर्माण हुने

चितवन । चितवनको धार्मिक स्थल देवघाटमा ३० फिट अग्लो अष्ठ धातुको भगवान शिवको मूर्ति निर्माण हुने भएको छ । मूर्ति निर्माणको लागि ठाउँको पहिचान गरी आयोजक संस्था देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनलाई जग्गा उपलब्ध गराएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले बताए ।
देवघाट क्षेत्र विकास समितिको डिपिआरमा समावेश भए बमोजिमको जमिनको चार किल्ला निर्धारण गरी देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनलाई जमिन उपलब्ध गराएको र अब छिट्टै शिलान्यास गर्ने तयारी भएको उनी बताउँछन् । प्रदेश सरकारले निर्माण गरेको देवघाट धामको डिपिआरमा ३० फिट अग्लो अष्ठ धातुको शिवको मूर्ति पनि समावेश भएकाले त्यही डिपिआरमा समावेश भएको चितवनतर्फ रोटरी वृद्धाश्रम तलको नदी किनारको स्नान घाट छेउको जग्गामा मूर्ति निर्माण हुने उनले बताए ।
जमिनको चार किल्ला निर्धारण गर्न डिपिआर निर्माण गर्ने कन्सल्टेन्ट कम्पनीको टोली नै आएर काम गरेको घिमिरेले बताए । विश्वमै नभएको यो मूर्ति देवघाटमा निर्माण भएसँगै यसले देवघाटको धार्मिक तथा पर्यटकीय महत्वलाई थप उर्जागर गर्ने उनी बताउँछन् ।
मूर्ति निर्माणका लागि प्रदेश सरकार भरतपुर महानगर देवघाट क्षेत्र विकास समिति तथा दाताहरुले सहयोग गरेको आयोजक संस्थाका अध्यक्ष ढुन्डिराज सिलवालले बताए । मूर्ति निर्माणमा ६ करोड खर्च हुने अनुमान रहेको र दाताहरुलाई सहयोगको अपिल गरिएको उनी बताउँछन् । मूर्तिको उचाइ ३० फिटको हुनेछ भने मोटाइ ८ फिटको रहनेछ ।
मूर्ति निर्माणमा ३ हजार केजी तामा, २ हजार केजी पित्तल, २ सय केजी जस्ता, २५ केजी कास, ३० केजी सिसा, चाँदी ५०० ग्राम, सुन ५०० ग्राम, फलाम १० केजी प्रयोग हुने अध्यक्ष सिलवालले बताए ।
वैदिक धर्मको आदर्श परम्परा अटल राखेर हिन्दुत्वको महत्वलाई स्थापित गराउँदै पर्यटन प्रवद्र्धनमा योगदान गर्ने उद्देश्य सहित मूर्ति निर्माण गर्न लागेको आयोजक संस्थाका संरक्षक प्रखर भागवत वाचक आचार्य बालकृष्ण अर्यालले बताए । यो महान र पुण्य काम भएकाले सबै मिलेर यसलाई पुर्णता दिनु पर्ने उनको भनाइ छ ।








