वीपी सङ्ग्रहालयमा वीपी सम्झिइयो (तस्बिरहरू)

काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको १०९ औँ जन्मजयन्ती आज मनाइँदैछ ।  कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्रीसमेत हुन् ।

नेपाली कांग्रेस तथा नेपाली साहित्यकारहरूले देश र विदेशमा विभिन्न कार्यक्रमका साथ कोइरालालाई सम्झदैछन् । पटक पटक गरी करिब १२ वर्ष कारागार जीवन बिताएका कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते बनारसमा भएको थियो । कोइरालाले नेपाली जनतालाई अधिकार उपलब्ध गराउन जहानियाँ राणा शासनविरुद्ध सङ्घर्ष गरेका थिए । उनले भारतको स्वतन्त्रताका लागि समेत सङ्घर्ष गरेका थिए ।

कोइरालाले साथीहरूसँग मिलेर विसं २००३ मा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेका थिए भने पछि विसं २००६ मा सुवर्णशम्शेरले स्थापना गरेको नेपाली प्रजातान्त्रिक कांग्रेससँग एकीकरण गरी कोइराला सभापति बनेका थियो । उनी विसं २००७ मा अन्तिम राणा प्रधानमन्त्री मोहनशम्शेरको मन्त्रिपरिषदमा गृहमन्त्री बनेका थिए ।

विसं २०१५ फागुन ७ मा भएको संसद्को निर्वाचनमा पार्टीलाई बहुमत दिलाई उनी पहिलो जननिर्वाचित प्रधानमन्त्री भई मुलुकको नेतृत्व गरेको समयमा विसं १०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले कोइरालाको सरकारलाई अपदस्थ गरेपछि विसं २०१७ देखि ०२५ सालसम्म सुन्दरीजलस्थित बन्दीगृहमा बसेका थिए ।

वीपी सफल राजनीतिज्ञका साथै सफल साहित्यकार समेत हुन् । उनका ‘दोषी चस्मा’ कथासङ्ग्रह, ‘सुम्निमा’ ‘मोदिआइन’, ‘तीन घुम्ती’, ‘हिट्लर र यहुदी’, ‘बाबु, आमा र छोरा’, ‘नरेन्द्र दाइ’उपन्यास र कविता कृति प्रकाशित छन् । वीपीको निधन विसं २०३९ साउन ६ गते काठमाडौँमा घाँटीको अर्बुदरोगबाट भएको थियो ।

यहिबीच वीपीले आफ्नो जेल जीवनको पटक पटक गरी ९ वर्ष बिताएको सुन्दरीजलस्थित बन्दी गृह (हालको वीपी सङ्ग्रहालय) मा पनि आज एक कार्यक्रम आयोजना गरी वीपी जयन्ती मनाइएको छ ।

नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस  काठमाडौँ क्षेत्र ३ का सभापति सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिसाल, वीपी सङ्ग्रहालयका अध्यक्ष परशुराम पोखरेलसहित स्थानीय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा शर्माले वीपी कोइरालाको पूर्ण कदको सालिकमा माल्यार्पण समेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *