टिप्पणी

पुष्पकमल : राजनीतिका प्रचण्ड, प्रतापी, भूपति !

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवहरू दौडधुप गरिरहेका छन् । प्रचण्डले जे भने गठबन्धनभित्र त्यही नै चल्छ । मानाैँ— मुलुकको राजनीति नै प्रचण्डको हातमा छ । प्रचण्डको हात समाएर हिँडिरहेका अन्य पार्टीलाई आउँदाे चुनावमा जनताले भोट दिन्छ ? देउवा, नेपालसँगै यादवहरूलाई कान्छी औँलामा राखेर प्रचण्डले फनफनी घुमाइरहेका छन् । सरकार देउवाले नभइ प्रचण्डले चलाएको भन्दा पनि त्यति फरक नपर्ला । प्रचण्ड राजनीतिमा कति चतुरे छन् भन्ने कुरा हरेक जनतालाई थाहा छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने उनी नै थिए । यता, पद चैट बनाएर भित्तामा पुर्‍याउने पनि प्रचण्ड नै हुन् । प्रचण्डले नाैटङ्की र नाटक गर्न राम्ररी जानेका छन् ।

उनले घुर्की लगाउन, छिनमै कुरा फेर्न, रुन र हाँस्न राम्राेसँग जानेका छन् । आफ्नो फाइदाका लागि जुनै हदसम्म पनि गर्नसक्ने व्यक्ति हुन्, प्रचण्ड । २०६४ सालको चुनावमा जनताले माओवादी केन्द्रलाई भारी मतका साथ पहिलो पार्टी बनाए । तर, कांग्रेस र एमालेको हातेमालोले उनको प्रधानमन्त्री पद एक झट्कामै चैट भयाे । प्रधानमन्त्री पद गुमेर रन्थनिएका उनले अहिले यता चिप्किने र उता लस्किने काम गरिरहेका छन् । कहिले कांग्रेस त कहिले एमालेसँग नजिक भएर उनी सरकारमा गएका गयै छन् । २०७० सालको चुनावमा माओवादी केन्द्र थोरै सिटमै सीमित बन्यो । २०७४ मा पनि सोचेअनुसार नतिजा पाएन । न्यून सिटमै थन्कियो । जनताले भोट नदिएपनि कांग्रेसलाई भर्‍याङ बनाएर २०७० सालपछि पनि उनी प्रधानमन्त्री बने । जनताले नपत्याए पनि माओवादी केन्द्रका नेताहरू सरकारमा गइरहेका छन् । सरकारको मुख्य-मुख्य मन्त्रालय माओवादी केन्द्रकै कब्जामा हुन्छन् प्राय: समय । अनि जनताले भोट नदिएर माओवादी केन्द्रलाई के फरक पर्दोरहेछ त ?

माओवादी केन्द्रलाई जनताले सानो पार्टी बनाए पनि प्रचण्डले अन्य पार्टीका नेतासँग लटपट गरेर सरकार चलाइ नै रहेका छन् । माओवादी केन्द्रले काम गर्न नसकेको प्रमाण त जनताको आँखा अगाडि छ । २०५२-२०६३ सालसम्म जनयुद्ध गर्‍याे । परिवर्तनको बाढी ल्याउने भन्दै माओवादी केन्द्रले एक दशक बढी युद्ध गर्‍याे । १७ हजार नेपाली युद्धमा परेर मरे । अझै पनि कति बेपत्ता छन् । सरकारको सम्पत्ति त्यतिबेला कति क्षति भयो कति । माओवादी केन्द्रले मुलुकमा परिवर्तन ल्याउने, देशलाई अर्कै उचाइमा पुर्‍याउने आश्वासन दियो । तर, काम गरेर देखाउनचाहिँ सकेन । माओवादी केन्द्रले राम्रो काम गर्ला भन्ने विश्वास गरेका जनताले पनि उसलाई जिताए । एक सय २१ क्षेत्रबाट माओवादी केन्द्र प्रत्यक्ष निर्वाचित भएर आएको थियो । केही क्षेत्रमा थोरै मतान्तरका कारण माओवादी केन्द्रका उम्मेदवार हारेका थिए । माओवादी केन्द्रले जनताको साथ पाउने भयो र आगामी पाँच दशक उसले सरकार चलाउँछ भन्ने डर अन्य शीर्ष पार्टीहरूलाई पर्‍याे । त्यसपछि ओली, देउवासँगै महेश बस्नेत, गगनकुमार थापालगायतले कोठे राजनीति शुरू गरिसकेका छन् ।

कोठे राजनीति शुरू गरेपनि प्रचण्डले बुझेनन् । भर्खर जंगलबाट बाहिर आएका प्रचण्डले कूटनीति बुझेनन् । जब प्रचण्डले अन्य पार्टीबाट धक्का पाए, अनि मात्र उनले कोठे राजनीतिबारे बुझे । न कांग्रेस र एमालेले संविधान बनाउन दिए, न उनले बनाउन नै सके । कांग्रेस र एमालेले यसको फाइदा उठाए । माओवादी केन्द्रले केही गर्न सक्दैन, संविधान पनि बन्दैन भनेर जनतामा भ्रम फैलाउने काम भयो । माओवादी केन्द्रलाई सिद्धयाउनका लागि यी दुई पार्टी ज्यान फालेर लागिपरे । जसको नतिजा २०७० सालको चुनावमा देखियो । मुलुककै ठूलो पार्टी बनेको माओवादी केन्द्र बेस्सरी पछारियो । सानो पार्टीमै संकुचित भयो । २०६५ सालमा प्रधानमन्त्री बनेका प्रचण्डले ९ महिना पनि प्रधानमन्त्री चलाउन पाएनन् । २०६४ सालको चुनावमा माधवकुमार नेपालले दुई क्षेत्रबाट चुनाव हारेका थिए । तर, चुनाव हारेका व्यक्तिलाई मनोनीत सांसद बनाइयो । २०६६ सालमा प्रचण्डकै बलमा नेपाल प्रधानमन्त्री बने । उनले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पास गरिदिए । त्यही नेपाललाई प्रधानमन्त्री पदबाट हटाउनका लागि माओवादी केन्द्रले ठूलो आन्दोलन गर्नुपर्‍याे । उनी हटेपछि झलनाथ खनाल आफूलाई प्रधानमन्त्री बनाउन आग्रह गर्दै प्रचण्डको शरणमा परे ।

अनि झलनाथले पनि प्रधानमन्त्री खाए । उनले पनि प्रधानमन्त्री भएर सिन्को भाँचेनन् । जनता र राष्ट्रका लागि केही काम गरेनन् । त्यसपछि झलनाथलाई हटाएर बाबुराम भट्टराईलाई माओवादी केन्द्रले नै बनायाे । पहिले नै बाबुरामलाई प्रधानमन्त्री बनाउनुपर्थ्याे । पाँच वर्षको अवधिमा संविधान बनाउन र देशको विकास गर्न भनेर जनताले भोट दिएर पहिलो पार्टी बनाएको थियो । तर, एमाले र कांग्रेसले त जनताको दिमागमा माओवादी केन्द्रका बारेमा नराम्रो छाप छोडेको थियो । बीचमा बसेर यी दुई पार्टीले भड्काउने काम गरे । माओवादी केन्द्रकाे समर्थनमा नेपाल र खनाललाई प्रधानमन्त्री बनाउन ठूलो गल्ती थियो । आफू हटेपनि माओवादी केन्द्रभित्र त थुप्रो नेताहरू थिए । तर, घरकालाई विश्वास नगरेर प्रचण्ड बाहिरिका व्यक्तिहरूको खोजीमा निस्किए । बाबुराम, मोहन वैद्यलाई प्रधानमन्त्री बनाइदिएको भए पार्टी फुट्दैन थियाे । देशामा विकास पनि हुन्थ्यो, संविधान पनि बन्थ्यो । जनताको विश्वास अटल रहिरहन्थ्यो । नेपाल र खनालले प्रचण्डको राजनीति तहसनहस बनाइदिए । माओवादी केन्द्र ध्वस्तै बन्यो र जनताबाट पनि नाङ्गियो ।

२०६९ सालमा बाबुराम प्रधानमन्त्री हुँदा बालुवाटार र थानकोटको मातातीर्थको सयाैँ रोपनी जग्गा व्यक्तिको नाममा पास गरियो । भट्टराईले पनि संविधान बनाउन सकेनन् । अलिकति पनि विकासको क्रियाकलाप अघि बढ्न सकेनन् । अन्तमा सर्वोच्च अदालतका न्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा २०६९ साल चैत १ गते सरकार बन्यो । रेग्मीको सरकारले २०७० सालमा चुनाव गरायो । २०७० सालको चुनावमा माओवादी केन्द्र गम्भीर घायल भयो । जनताले नपत्याएपछि माओवादी पहिलोबाट झरेर तेस्रोमा आइपुग्यो । प्रचण्ड छाँगाबाट खसेझैँ भए । त्यतिखेर उनले बल्ल कांग्रेस र एमालेको कूटनीति बुझे । तर, सबै कुरा सुधार्नका लागि धेरै ढिला भइसकेको थियो । २०६४ सालमा गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाएर आफूले प्रधानमन्त्री खाएको भए त्यतिखेर नै संविधान बन्थ्यो । ५० वर्षसम्म माओवादी केन्द्र पहिलो पार्टीमा यथावत् रहिरहन्थ्यो । गिरिजालाई राष्ट्रपति नदिनु नै माओवादीका लागि अभिशाष बन्यो । जब चुनाव हार्‍याे, तब माओवादी केन्द्रलाई आफूले गरेको गल्तीको आभास भयो । गिरिजालाई राष्ट्रपति नदिएकोमा थकथकी लाग्यो । जुन अहिले पनि प्रचण्डले भन्ने गरेका छन्— मैले खुरुक्कै गिरिजाबाबूलाई राष्ट्रपति बनाउनुपर्ने रहेछ ।

माओवादी केन्द्रकाे खुङ्खार विरोध गर्नेमा केपी शर्मा ओली, महेश बस्नेत र गगनकुमार थापाहरू थिए । माओवादी केन्द्रलाई कमजोर बनाउने यी तीन जना नै हुन् । आफू स्थापित हुनका लागि पनि विरोध गरियो । चर्चामा आउन र चुनाव जित्नका लागि पनि विराेध गरियाे । तर, यसको प्रतिकार माओवादी केन्द्रका कुनै पनि नेताले गर्न सकेनन् । माओवादी केन्द्रकै विरोध गरेर महेश बस्नेतले चुनाव जिते । केपी शर्मा ओली र गगनकुमार थापा पनि सत्तामा गए । तर, माओवादी केन्द्र जहाँको त्यहीँ रह्यो । तर, पछिल्लो समय राजनीति ठ्याक्कै उल्टो बनेको छ । ढिलो भएपनि प्रचण्डले राजनीति र कूटनीति बुझे । प्रचण्डले एमाले पार्टी फुटाएर टुक्राटुक्रा बनाइदिए । जनताबाट भोट लिएर सरकारमा जान नसक्ने अवस्थामा एमाले छ । माधवकुमार नेपाल र झलनाथ खनाललाई आफ्नो झोले बनाइदिए । कांग्रेस पनि चार टुक्रामा बाँडिने अवस्थामा छ । शेरबहादुर देउवा प्रचण्डको पछिपछि हिँड्छन् । गगनकुमार थापा एकातिर, रामचन्द्र पौडेल अर्कोतिर । पार्टीभित्रै घमाशान चल्छ । कांग्रेसलाई पनि फुट्ने अवस्थामा छ । कांग्रेसको समय सकिँदै गएकाे छ । अहिले कांग्रेसका कार्यकर्ताहरूले प्रचण्डलाई आरोप लगाउन थालिसकेका छन् । माओवादी केन्द्रले गर्दा आफ्नो पार्टी फुट्न लागेको कार्यकर्ताहरूले पत्तो पाइसकेका छन् ।

आगामी मंसिर ४ गते हुन लागेको स्थानीय चुनावमा माओवादी केन्द्रकाे योजना देखिनेछ । कांग्रेस, एमालेलगायत अन्य पार्टी नराम्ररी पछारिनेछन् । चुनाव पछाडि प्रचण्डले अन्य पार्टीलाई फनफनी घुमाउँछन् । कहिले कांग्रेस त कहिले एमालेसँग मिलेर प्रधानमन्त्री खान्छन् । चुनावपछि प्रचण्डकै नेतृत्वमा सरकार बन्छ । जनताले भोट पाएपनि राजनीति शक्ति प्रचण्डको हातमा हुन्छ । कांग्रेस र मधेशकेन्द्रित दललाई जसरी माओवादी केन्द्रले नचाइरहेको छ, त्यसको नतिजा चुनावपछि देखिन्छ । यसपछि फेरि एमालेसँग मिलेर प्रधानमन्त्री खाने दाउ प्रचण्डको छ । राजनीतिको बाउ प्रचण्ड हुन्, उनीसँग कसैले सक्दैन ।

झन्डै १५/२० वर्षयता प्रचण्डकै हातमा छ नेपालकाे राजनीति । अबकाे ५ वर्ष चल्ने राजनीतिकाे चाबी पनि उनैसँग छ । उनले पार्टीमा मात्रै हाेइन । देशमै एकछत्र राज चलाउँदै आएका छन् प्रचण्डले । उनी अझै धेरै समय देशकाे प्रधानमन्त्री खान चाहन्छन् । अहिले पनि उनी त्यही ‘बार्गेनिङ्ग’मा छन् । उनी धेरैभन्दा धेरै सिट लिएर चुनावपछि प्रधानमन्त्री बन्न चाहन्छन् । त्यही भएर ११ सदस्यीय कार्यदलले पनि भनेजस्ताे काम गर्न सकेन । त्यहाँ देउवा जाेडिन्छन्, तर खेलाइरहेका चाहिँ उनै प्रचण्डले हुन् । भनेकाे अबकाे ५ वर्ष पनि उनै प्रचण्डले खानेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *