साफ महिला फुटबल च्याम्पियनसिप मंगलवारदेखि

काठमाडौँ । नेपाली राष्ट्रिय महिला टिमले पहिलो पटक महिला साफ फुटबल च्याम्पियनसिपको उपाधि जित्ने प्रयासका साथ मैदान उत्रने जनाएको छ ।

काठमाडौँमा सोमबार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै नेपाली टिमका कप्तान एन्जिला तुम्बापो सुब्बाले पहिलो पटक महिला साफ फुटबल च्याम्पियनसिपको उपाधि जित्न प्रयास गर्ने बताइन् ।

नियमित कप्तान रेनुका नगरकोटी प्रतियोगिता तयारीको क्रममा घाइते भएपछि मुख्य प्रशिक्षक कुमार थापाले एन्जिलालाई कप्तानीको जिम्मेवारी दिएका हुन् । यस्तै अमृता जैसीलाई उपकप्तान चयन गरिएको छ ।

कप्तान एन्जिलाले आफूमा गरिएको विश्वासलाई गुम्न नदिने समेत बताइन । एन्जिलाले आफ्नो कप्तानीमा टिमलाई उपाधि दिलाउने इच्छा रहेको समेत बताइन् ।

त्यस्तै नेपाली टिमका मुख्य प्रशिक्षक थापाले विगतलाई बिर्सिएर प्रतियोगितामा राम्रो गर्ने योजना रहेको बताए । मुख्य प्रशिक्षक थापाले अहिले कुनै पनि टोलीलाई कमजोर प्रतिद्वन्द्वी रूपमा लिन नहुने बताए ।

त्यस्तै अन्य देशका टिम प्रशिक्षक तथा कप्तानहरूले पनि उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने दाबी गरेका छन् । प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ मंगलबारबाट सुरु हुँदैछ ।

नेपालले उद्घाटन खेलमा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 9 =