कांग्रेसका यी चर्चित अनुहार : को कहाँबाट भिड्दैछन् ?

काठमाडौँ । दलहरू चुनावकेन्द्रित भएका छन् । आगामी मंसिर ४ गते प्रदेश तथा संघको चुनाव हुने भएपछि दलहरू त्यसकै तयारीमा जुटिरहेका छन् । यसबीचमा कुनै नाटकीय परिवर्तन नभए यसपटकको चुनाव पाँचदलीय गठबन्धन (नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजावदी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा) भर्सेस नेकपा (एमाले) हुनेछ ।

गठबन्धन सिट बाँडफाँटको गृहकार्यमा लागेकाे छ भने एमालेले पनि चाँडै निर्वाचन क्षेत्र ताेक्ने बताएकाे छ । उसो त एमालेले काे नेता कहाँबाट लड्ने भन्नेबारे टुङ्ग्याउन सहजै सक्छ, किनकी ऊ एक्लै छ । तर, गठबन्धनलाई भने यही ‘महाभारत’ देखिएकाे छ । गठबन्धनले बनाएकाे ११ सदस्यीय सिट बाँडफाँट कार्यदलले अझैसम्म काम गर्न सकेकाे छैन । १६५ सिट बाँडफाँटमा बसेका गठबन्धनसम्बद्ध नेताहरूकाे दाबी २२७ पुगेकाे छ । तर, सहमति भेटिएकाे छैन । दलहरू आ-आफ्नाे अडानमा रहँदा याे सकस देखिएकाे छ ।

गठबन्धनसम्बद्ध दलहरूकाे दलगतरूपमा कसलाई कहाँ पठाउने भन्नेबारेकाे सिफारिस गर्ने भन्नेबारे निर्णयहरू आउन थालेका छन् । त्यसमध्ये यहाँ नेपाली कांग्रेसका चर्तित अनुहारहरू कहाँ-कहाँबाट सिफारिस भएका छन् भन्नेबारे चर्चा गरिएको छ ।

महामन्त्री, विश्वप्रकाश शर्मा

महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन् । उनी त्यहाँबाट सर्वसम्मतरूपमा सिफारिस भएका हुन् । कांग्रेस नेता इन्द्र बुढाथोकीकाअनुसार विश्वप्रकाश त्यहाँबाट निर्विरोध सिफारिस भएका हुन् ।

२०७४सालको निर्वाचनमा उनी सोही क्षेत्रबाट तत्कालीन वाम गठबन्धका उम्मेदवार राम कार्कीसँग पराजित भएका थिए । यसपटक नेकपा (माओवादी केन्द्र) पनि गठबन्धनमा रहेकाले शर्मालाई सहज छ । उनले पनि जित्ने बताउँदै आएका छन् । झापामा केही दिन अगाडि आयाेजित एक कार्यक्रममा भनेका छन्, ‘केन्द्रमा चाहिँ विश्वप्रकाशले गाडी हाँक्न सक्छ भन्ने छ । तर यता क्षेत्रतिर आयाे जहिल्यै ट्रयायल फेल । यसाे हुँदा अलिक भएन । अब ३ चाेटीमा भैंसी त छिन्छ भने विश्वप्रकाश कसाे नजित्ला । यसपटक जितिन्छ ।’

गठबन्धनका नेताहरूकाअनुसार कार्कीलाई ओखलढुङ्गा पठाउने र शर्मालाई झापा १ दिने प्रयास भइरहेको छ । तर, कार्कीले पनि सोही क्षेत्र रोजिरहेका छन् ।

महामन्त्री, गगनकुमार थापा

अर्का महामन्त्री गगनकुमार थापा आफ्नो पुरानै क्षेत्रबाट निर्वाचन लड्दैछन् । २०७४ सालको निर्वाचनमा पनि थापा काठमाडौँ क्षेत्र नं. ४ बाटै निर्वाचित सांसद हुन् । उनी पुन: साेही क्षेत्रबाट सर्वसम्मतरूपमा सिफारिस भएका छन् । उनको चुनावी ‘लडाइँ’ नेकपा (एमाले) का नेता राजन भट्टराईसँगै पर्ने निश्चित भएको छ । यसअघि पनि थापाले उनै भट्टराईलाई पराजित गरेका थिए । भट्टराई पनि सोही क्षेत्रबाट निर्विरोधरूपमा सिफारिस भइसकेका छन् ।

२०७४ सालकाे निर्वाचनमा थापाले २१ हजार ५ सय ५१ मत ल्याएर भट्टराईलाई पराजित गरेका थिए । भट्टराईले १८ हजार १ सय ४० मत मात्रै ल्याएका थिए । थापा त्यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा समेत यही क्षेत्रबाट निर्वाचित भएका थिए । यसपटक पनि उनकाे जित निश्चितजस्तै छ । उनी गठबन्धनकाे तर्फबाट उम्मेदवार बन्न लागेका हुन् ।

केन्द्रीय सदस्य, आरजू राणा देउवा

प्रधानमन्त्री शेरबहादुर देउवापत्नीसमेत रहेकी कांग्रेस केन्द्रीय सदस्य आरजू राणा देउवा कैलाली क्षेत्र नं. ५ बाट लड्नेछिन् । उनी पनि त्यहाँबाट सर्वसम्मतरूपमा सिफारिस भएकी छन् ।

अघिल्लो निर्वाचनमा पनि राणा साेही क्षेत्रबाट लडेकी थिइन् । तर, उनी जित्न भने सकिनन् । त्यसबेला उनी तत्कालीन वाम गठबन्धनका उम्मेदवार नारदमुनी रानासँग ४ हजार ८ सय ८० मतान्तरले पराजित भएकी थिइन् । विजयी रानाले २७ हजार २ सय २ मत प्राप्त गर्दा राणाले २२ हजार ३ सय २२ मत मात्र प्राप्त गरेकी थिइन् । तर यसपटक भने उनी जित्ने नै तरिकाले लागेकी छन् । यसपटकको निर्वाचनमा राणा गठबन्धनको उम्मेदवार हुने हुँदा सहजै जित्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् धनगढी उपमहानगरपालिकाका पूर्वमेयर नृपबहादुर वड बताउँछन् ।

२०७४ को निर्वाचनमा कांग्रेसकै नेता पुष्करनाथ ओझाले असहयोग गर्दा आरजुले पराजित हुनुपरेको भन्दै पुष्करनाथ ओझालाई कारबाही गरिएको थियो । अहिले पनि ओझाको कारबाही फुकुवा भएको छैन । पुष्करनाथ ओझा कांग्रेसले कारबाही फुकुवा नगरे पनि यसै निर्वाचन क्षेत्रबाट स्वतन्त्र चुनाव लड्ने तयारीमा छन् । त्यसो हुँदा राणाले पुष्करनाथलाई समेत फकाइरहेको बताइन्छ ।

केन्द्रीय सदस्य, प्रदीप पौडेल

युवाहरूमाझ लोकप्रिय नेता पौडेल तनहुँ क्षेत्र नं. २ बाट सर्वसम्मतरूपमा उम्मेदवार बन्दैछन् । नेविसंघका पूर्वअध्यक्षसमेत रहेका उनी २०७४ सालको निर्वाचनमा तनहुँ क्षेत्र नं. २ काे प्रदेश सभा ‘क’ बाट माओवादी केन्द्रकी आशा कोइरालासँग ५ मत पराजित बनेका थिए ।

यसपटक भने उनले प्रतिनिधि सभा ताकेका छन् । उनका निकटस्थहरू दाबी गर्छन्— उहाँले सजिलै जित्नुहुन्छ । उसो त उनी गठबन्धनको तर्फबाट उम्मेदवार बन्न लागेका हुन् । उनले भनेका छन्, ‘म यही क्षेत्रको हुँ ।यही क्षेत्रमा ठूलो महेनतसमेत परेको छ । मैले यसपटक यहीँबाटै जनताको प्रतिनिधित्व गर्नेछु ।’

उसो त यो क्षेत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेलको पल्लाभारी छ । यसपटक रामचन्द्रसँग पनि उनको राम्रै ‘टूनीङ्ग’ मिलिरहेको छ । यसाे हुँदा पनि उनले आफ्नाे जित सुनिश्चित रहेकाे बताउँछन् ।

१४औं महाधिवेशनयता प्रदीप देउवा खेमामा आएका छन् । महाधिवेशनमा उनी पार्टीकाे महामन्त्रीमा उठेका थिए । तर पराजित बने । तर, यसपटक सांसद भने बन्ने उनले बताउँदै आएका छन् । उसाे त उनलाई सिङ्गाे गठबन्धनकाे समर्थन रहनेछ ।

केन्द्रीय सदस्य, सुनीलबहादुर थापा

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापा धनकुटाबाट बाजी मार्ने दाउमा छन् । झन्डै ढाइ वर्ष अघिमात्रै राप्रपाबाट कांग्रेसमा प्रवेश गरेका उनी अहिले केन्द्रीय सदस्यको हैसियतमा छन् । सहमहामन्त्रीसमेत बनिसकेका थापाले अहिले धनकुटाबाट लड्दैछन् । उनी त्यहीँबाटै सिफारिस भएका छन् ।

२०७४ सालको निर्वाचनमा उनी नेकपा (एमाले) का राजेन्द्र राईसँग पराजित भएका थिए । तर, उनी त्यसबेला राप्रपाबाट पराजित भएका थिए । यसपटक भने उनले जित्ने बताइरहेका छन् । उनको चुनावी ‘लडाइँ’ एमालेका राजेन्द्रकुमार राईसँगै पर्ने सम्भावना बढी छ । २०७४ सालको निर्वाचनमा पनि राई सोही क्षेत्रबाट जितेका थिए । यसपटक पनि एमालेले सम्भवतः राईलाई नै खटाउने छ र थापाको प्रतिस्पर्धा उनै राईसँग हुनेछ ।

गत स्थानीय निर्वाचनअनुसार त्यहाँ कांग्रेस बलियो देखिएको छ । २०७४ सालको निर्वाचनमा ‘क्लीन स्वीप’ गरेको एमालेले त्यहाँ ७ वटामध्ये ३ वटामात्रै स्थानीय तह जित्न सफल भयो । त्यसो त थापाले अन्य ४ दलको समर्थनसमेत पाउनेछन् । यस्तो अवस्थामा थापाको जित सहज देखिन्छ ।

केन्द्रीय सदस्य, उमेश श्रेष्ठ

केन्द्रीय सदस्य उमेश श्रेष्ठ अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राज्यमन्त्रीको रूपमा छन् । उनी चितवन क्षेत्र नं. १ बाट सर्वसम्मतरूपमा सिफारिस भएका छन् । चितवन क्षेत्र नं. २ निवासी भएपनि श्रेष्ठले चितवन क्षेत्र नं. १ को सूचीमा आफ्नो नाम दर्ता गरेका छन् ।

दुईपटकसम्म समानुपातिकतर्फबाट सांसद बनिसकेका श्रेष्ठ यसपालि प्रत्यक्ष निर्वाचित सांसद बन्न खोजिरहेका छन् । श्रेष्ठलाई चितवनको क्षेत्र नं. २ बाट चुनाव लड्न कांग्रेसी नेता तथा कार्यकर्ताले सुझाव दिएका थिए । तर, उनले १ रोजे । उनले सहजरूपमा जित्ने बताइरहेका छन् । उनलाई गठबन्धनकाे समर्थन रहनेछ ।

क्षेत्रीय समितिमा आवेदन दर्ता गरिसकेपछि श्रेष्ठले चितवनलाई समृद्ध बनाउन आफू हरतरहले लाग्ने प्रतिबद्धता जनाएका छन् । चितवन क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ जितनारायण श्रेष्ठ, राजन कार्की, प्रकाश अधिकारी, राजन ताम्राकार, राजेश्वर खनाल र उमा रेग्मीले पनि आवेदन दर्ता गराएका छन् । समानुपातिकतर्फ शालिग्राम शर्मा, गौरीकुमारी श्रेष्ठ, शान्ति परियार र केशवराज कँडेलले आवेदन दर्ता गराएका छन् ।

केन्द्रीय सदस्य, शशांक कोइराला

पूर्वमहामन्त्री शशांक कोइराला नवलपुर १ बाट सिफारिस भएका छन् । चासोको रूपमा हेरिएको यस क्षेत्रमा कांग्रेसबाट लगातार तीन कार्यकाल चुनाव जितेका कोइराला चौथो पटकका भिड्दैछन् । नवलपुर निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा ‘क’बाट चुनाव लडेर मुख्यमन्त्री बनेका गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल यस पटक यसै क्षेत्रबाट सङ्घीय सांसदका लागि इच्छुक देखिए पनि कोइरालाले नै लड्ने बताएपछि उनी पछि हटेको बताइन्छ । कोइराला यस क्षेत्रबाट लड्ने भएपछि मुख्यमन्त्री पोखरेल सङ्घीय समानुपातिकमा बस्ने वा पुनः प्रदेश सभामा लड्ने तयारीमा छन् ।

२०७४ सालको निर्वाचनमा कोइराला ३६ हजार ६ सय ५२ मत प्राप्त गरी विजयी बनेका थिए भने उनका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका भविश्वर पराजुलीले ३२ हजार ३ सय ८ मत मात्रै प्राप्त गरे । उनी पराजित बने । अहिले माओवादी पनि गठबन्धनमै रहेकाले उनको जित सहज देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *