दसैँमा नयाँ गाडी चढ्ने सपनामा ‘ब्रेक’ !

काठमाडौँ । सरकारले महँगा सवारीसाधन, मदिरा, मोटरसाइकल र मोबाइल आयातमा लगाएको प्रतिबन्ध फेरि लम्ब्याएको छ । विलासिताका वस्तुका रूपमा लिइएका यी चार किसिमका सामान आयातमा लगाइएको प्रतिबन्ध आगामी २८ असोजसम्मका लागि कायम राखिएको हो ।

योसँगै यसवर्षको दशैैँमा नयाँ गाडी र मोटरसाइकल खरिद गर्ने र बिक्री गर्ने क्रमशः उपभोक्ता र व्यवसायीको सपनामा ‘ब्रेक’ लाग्ने देखिएको छ । बढ्दो आयात घटाएर वैदेशिक मुद्रा सञ्चिति दरको हालको अवस्थामा केही सुधार ल्याउने उपायअनुसार सरकारले आगामी २८ असोजसम्म विलासिताका वस्तु आयातमा लगाइएको प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ । यसअघि सरकारले विभिन्न १० प्रकारका वस्तुमा आयात प्रतिबन्ध लगाएको थियो ।

अहिले चार किसिमका बाहेक ६ प्रकारका विलासिताका वस्तुका रूपमा हेरिएको खाद्यपदार्थलगायत सबै आयातको प्रतिबन्ध खुला गरिदिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा सरकारले कुर्कुरे, कुर्मुरे, लेजलगायत उत्पादनजन्य वस्तु चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, रंगीन टेलिभिजन (३२ इन्चमाथि), सबै प्रकारका खेलौना र तास आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको हो ।

विदेशी मुद्रा सञ्चितिदर ह्वात्तै घटेपछि सरकारले गत १३ वैशाखदेखि महँगा मदिरा, सवारीसाधन, आइफोन तथा मोबाइललगायत १० वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । त्यति बेला यी महँगा विलासिताका वस्तु आयातमा कडाइ गर्दै लगाइएको प्रतिबन्धका कारण वैदेशिक मुद्रा सञ्चितिदर बढेर हाल ९ अर्ब ५४ करोड अमेरिकी डलर पुगेको छ । जसले झन्डै ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने अवस्था बनाइदिएको छ ।

सरकारले गत १३ वैशाखदेखि सुरु गरेको विलासिताका वस्तु आयातमा लगाएको प्रतिबन्ध गत ३१ असारदेखि झन् कडा बनाउँदै १४ भदौसम्म कायम हुने निर्णय गरेको थियो । मंगलबार पछिल्लो निर्णयको समय अवधि समाप्त हुनु एक दिनअघि नै सरकारले गत सोमबार पुनः यस्तो नयाँ निर्णय गरेको हो ।

नजिकिँदो दसैँ-तिहार तथा छठलगायत चाडपर्व लक्षित गर्दै सरकारको पछिल्लो पटक आयात केही खुकुलो बनाउने निर्णय गरेसँगै अब यस्तो प्रतिबन्ध चार वस्तुमा मात्रै कायम छ । अझै आगामी २८ असोज दसैंपछिसम्म कायम राखिएका यी विलासिताका वस्तु आयात प्रतिबन्धको यसअघिको निर्णय केही खुकुलो बनाएको सरकारले मंगलबार राजपत्रमा सूचना प्रकाशन गर्दै चार वस्तु आयात लम्ब्याएको हो ।

यसअघि, प्रतिबन्ध लगाइएका १० मध्ये अन्य ६ प्रकारका विलासिताका वस्तु आयात भने खुलाइएको छ । सरकारको पछिल्लो यो निर्णयसँगै अझै महँगा जिप, कार, भ्यानलगायत सवारीसाधन, १ सय ५० सीसीमाथिका मोटरसाइकल, तीन सय अमेरिकी डलरमाथिका आइफोन एवं स्मार्ट फोन तथा विदेशी मदिरा आयातको प्रतिबन्ध दसैंपछिसम्म कायम रहनेछ । विशेषगरी तिहारमा बढी खपत हुने विदेशी महँगा मदिरा आयात भने सरकारले आगामी निर्णयमा खुलाउन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *