दसाैँ संस्करणको ‘मिस ग्रान्ड नेपाल-२०२२’ आयोजना हुने

काठमाडौँ । विगतमा जस्तै यस पटक पनि ‘मिस ग्रान्ड नेपाल २०२२’ आयोजना हुने भएको छ । सन् २०१३ देखि हुँदै आएको मिस ग्रान्ड नेपालको यस पटक दसौँ संस्करण हुने आयोजकले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
यस पटक बोली क्लब ग्रुप र मस्को इभेन्टको संयुक्त सहकार्यमा ‘मिस ग्रान्ड नेपाल २०२२’ आयोजना हुने आयोजकले जनाएको छ । पछिल्लो चार वर्षदेखि बोली क्लब ग्रुपले प्रतियोगिता आयोजना गर्दै आएको छ । यस पटकको ‘मिस ग्रान्ड नेपाल २०२२’ हिंसा र युद्ध रोकौँ भन्ने मूल नारासहित हुने मिस ग्राण्ड नेपालका नेशनल डाइरेक्टर सुरेश तामाङले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा सहभागी हुन चाहने युवतीहरूको भदौ ११ गतेबाट अडिसन सुरु हुने र १३ गते छनौट गरिने छ । भदौ १४ गते सहभागीहरूलाई ओरेन्टियसन गराइने उनले बताए । प्रतियोगितामा १८ देखि २८ वर्षसम्म उमेर समूहका देशभरका युवतीले भाग लिन पाउनेछन् । सहभागी युवतीको उचाइ ५:४ इन्च र +२ पास गरेको हुनुपर्नेछ ।
मिस ग्रान्डमा प्रथम हुने युवतीले इन्डोनेसियाको बाली र जाकार्तामा हुने कार्यक्रममा अक्टोबर ४ देखि २५ सम्म सहभागी हुने पाउने उनको भनाइ छ । त्यसै गरी पाँच लाख रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर पाउने छन् । प्रतियोगितामा अभिनेता अनुपविक्रम शाही, र्यापर आशिष् राणा (लाहुरे), नायिका आँचल शर्मा, छिरिङ बान्दी, सुरेश तामाङ र निशु झा (ब्युटी पेजेन्ट) निर्णायक रहने उनले बताए । केही निर्णायक थप हुन सक्ने उनको भनाइ छ ।
पत्रकार सम्मेलनमा बोल्दै अभिनेता अनुपविक्रम शाहीले प्रतियोगिताको निष्पक्ष निर्णय गर्ने बताए । त्यस्तै र्यापर लाहुरेले गीत गाइरहेको भए पनि अब नयाँ क्षेत्रमा प्रवेश गरेर उत्कृष्टता प्रदान गर्ने लक्ष्य लिएको बताए । ग्रान्ड फिनाले भदौ २५ गते काठमाडौँस्थित होटेल मेरियटमा हुने छ ।
प्रतियोगिताले मुख्यतया नेपाली युवतीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै सर्वाङ्गीण व्यक्तित्व विकास गर्न सहयोग आयोजकको विश्वास छ । साथसाथै विश्व मञ्चमा नेपाललाई चिनाउनु कार्यक्रमको अर्को उद्देश्य रहेको उनले बताए । बोली क्लब ग्रुप र मस्को इभेन्ट्सले विभिन्न समयमा सांगीतिक कार्यक्रम गर्दै आएको छ । मिस ग्राण्ड नेपाल मिस ग्राण्ड इन्टरनेसनलको मान्यता प्राप्त इभेन्ट्स हो ।








