पिउने पानीको समस्या: महिलालाई बढी सास्ती

डोटी । डोटी दिपायल सिलगढी नगरपालिका २ नम्बर वडाकी अनिता कठायत हरेक दोस्रो/तेस्रो दिन परिवारका सबै सदस्यका कपडा पोको पारेर डोटीको द्वारिका खोला तिर जाने गर्छिन् । कपडा धुनका लागि घर नजिक पानीको व्यवस्था नभएपछि उनी द्वारिका खोलातिर जाने गरेकी हुन् ।

परिवारका सबै सदस्यको कपडा धुनका लागि खोला तिर जाँदै गर्दा त्यति समस्या नहुने भएपनि भिजेका कपडा घर ल्याउँदा भने उनलाई निकै समस्या हुने गर्छ । घर नजिक सरसफाइ गर्न पानी नभएपछि अनिता घर भन्दा ४५ मिनेटको दुरीमा रहेको द्वारिका खोलामा कपडा धुन जाने गर्छिन् । नुहाउनका लागि पनि द्वारिका खोला नै जानुपर्ने बाध्यता छ ।

अनिताले कपडा धुन र नुहाउनका लागि द्वारिका खोला सातामा २ दिन मात्रै जानुपर्ने भएपनि पिउने पानीका लागि भने उनले हरेक दिन बिहान यो खोला पुग्नुपर्छ । ‘घर नजिक पिउने पानीका लागि धारा छैन । खोलानाला पनि नजिक छैनन् । पिउने पानी ल्याउन हरेक दिन द्वारिका खोला नै जानुपर्ने बाध्यता छ,’ अनिताले भनिन, ‘एकै पटक धेरै भाँडामा पानी ल्याउन समस्या हुनेभएपनि ल्याउनै पर्ने बाध्यता हुन्छ ।’

करिब एक घण्टा टाढाको द्वारिका खोलाबाट पिउने पानी पिठ्युँमा बोकेर ल्याउँदा अनितालाई समस्या हुन्छ । तर, बिसन्चो भएको दिनपनि परिवारका सबैको लागि अनिताले नै पिउने पानीको जोहो गर्नुपर्छ । खोलाको पानी बोकेर ल्याएपनि सफा भने हुँदैन । तर, त्यही पानी पिउनुको विकल्प छैन यहाँका नागरिकलाई ।

पिउने पानीको समस्या अहिलेको भने होइन । वर्षौँदेखि यहाँका जनताले पिउने पानीको समस्या भोग्दै आइरहेका छन् । चुनावका बेला जनप्रतिनिधिहरूले यही समस्यालाई मुख्य विषय बनाएर चुनाव जित्ने गर्छन् । तर, जनताको यो समस्या भने ज्युँका त्युँ रहेको देखिन्छ । ‘यस अघि स्थानीय तहको निर्वाचनमा जितेकाले पानीको समस्या छिटै समाधान गर्छौ भन्थे । ५ वर्ष पुरा भयो । नयाँ जनप्रतिनिधि आए । तर, अहिले पनि हाम्रा दुः ख भने उस्तै,’ सोही ठाउँकी स्थानीय लक्ष्मी कठायतले भनिन्, ‘अहिलेका जनप्रतिनिधिले पनि त्यही आश्वासन दिएर चुनाव जिते । अब यो पटक पनि त्यही हुन्छ कि ?’

दिपायल सिलगढी नगरपालिका १ नम्बर वडा तिखाकी ७५ वर्षिया तारादेवी खड्काले जीवनको लामो समय आफूले पिउने पानी बोकेर बिताइन् । अहिले पानी बोक्ने जिम्मेवारी बुहारीको काँधमा छ । उनले भनिन्, ‘यो ठाउँकी मुख्य समस्या भनेकै पानीको हो । पुरुष कामले बाहिर हुन्छन् । घरमा वृद्ध, बालबालिकाले पिउने पानी बोक्न सक्दैनन् । घरमा भएकी बुहारीलाई यो कामको बोझ सम्हाल्नुपर्छ ।’

तारा खड्काको अनुभवमा पानीको समस्या हिजो र आजमा केही फरक आउन सकेको छैन । बरु जलवायु परिवर्तनका कारण पानी अभावको समस्या बढ्दैछ । समस्याबारे जानकार भएपनि जनप्रतिनिधिले पिउने पानीको समस्या समाधानका लागि काम गर्ने चाहना नै नगरेको तारादेवीको गुनासो छ । ‘कुनै पनि समस्या समाधानै नहुने हुँदैन । तिन तहका सरकार छन् । तिनै तहका सरकार मिलेर काम गरेभने यो ठाउँको पानी अभावको समस्या छिटै समाधान हुन्छ । तर, नेताहरूले यसलाई चुनावको एजेण्डा मात्रै बनाए’ तारादेवीले गुनासो गर्दै भनिन् ।

पुरुषहरू रोजगारीका सिलसिलामा प्रायः गाउँबाहिर रहन्छन् । गाउँमै भएका केही पुरुषहरू पनि चोक चौतारामा गफिँदै बसेको देखिन्छन् । तर, महिलालाई पिउने पानी बोक्नमा घरमा भएका पुरुषले पनि सहयोग गरेको देखिँदैन ।

दिपायल सिलगढी नगरपालिका १ नम्बर वडा तिखाकी गौरीदेवी भुललाई पनि पिउने पानीको समस्याले सधैँ सताइरहन्छ । हरेक दिन बिहान उठ्ने बित्तिकै उनलाई भान्सामा रहेका रित्ता गाग्री लिएर पानी लिन घर भन्दा एक घण्टा टाढा रहेको धन गाड नजिकको मूलमा जानुपर्छ ।

बरिखाका बेला आकाशको पानी परेको दिन त त्यही पानीले पिउन भ्याउँछ । तर, पानी नपरेको दिन भने उनलाई धनगाड नै जानुपर्छ । ‘एक घण्टा टाढाको बाटो, त्यो पनि विकट बाटो हुन्छ पहाडमा,’ गौरी देवीले भनिन्, ‘यहाँ बस्ने सबैलाई पानीको समस्या छ । एक घण्टा धनगाड पुग्न लागेपनि पिउने पानी भर्नका लागि मूलमा बढी समय लाग्छ ।’

गौरीदेवीका अनुसार जेठ वैशाखको बेला मूलमा पानी कम हुने भएकोले महिलालाई पानी भर्न पालो पाउन दिनभरि नै लाग्छ । रातिको २ बजे त कहिले रातिको १० बजे पानी ल्याउन गएका महिला बिहान ३-४ बजे पानी भरेर घर फर्किने गर्छन् ।

यहाँका महिलाको यो समस्या बारे यस अघिका जनप्रतिनिधि अवगत नै थिए । अहिलेका जनप्रतिनिधिले पनि यो समस्या छिटै समाधान गर्ने भनेर आश्वासन बाँडेर चुनाव जिते ।

यस अघिका जनप्रतिनिधिबाट निराशा पाएका यहाँका जनता अहिलेका जनप्रतिनिधिले पिउने पानी अभावको समस्या समाधान गर्छन् कि भनेर केही हदसम्म आशावादी बनेका देखिन्छन् । ‘हरेक पटक नेताले आश्वासन दिने गरेका भएपनि यो पटक त काम सुरु गर्छन् कि भनेर आशा जागेको छ । प्रदेश र संघको चुनाव पनि नजिक आएको छ । त्यसका लागि भएपनि काम सुरु गर्छन् कि भन्ने आशा लागेको छ’ खानेपानी व्यवस्थापन समितिका अध्यक्ष भोज बहादुर खड्काले भने ।

जनताको समस्या समाधान हुनका लागि चुनाव नै नजिक आउनुपर्ने प्रवृतिको कहिले अन्त्य हुने भन्ने चिन्ता भोज बहादुरलाई छ । यद्यपि, निर्वाचनका बेला जनताका सबै समस्या समाधान गरिदिने प्रतिबद्धता गरेका जनप्रतिनिधिले अपेक्षित काम गर्न नसकेको गुनासो उनीसँग थुप्रै छ ।

दिपायल सिलगढी नगरपालिका २ नम्बर वडा अध्यक्ष राजेन्द्र खड्काले वडामा पिउने पानीको समस्या कायम रहेको बताए । उनले यस वर्ष नगरपालिकाबाट पिउने पानीको सहज व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको बताए । प्रदेश र संघ सरकारसँग पनि यसका लागि समन्वय भइरहेको उनको भनाई छ । ‘यो सानो रकमले हुने काम नै होइन । संघ सरकारको सहयोग विना यहाँको पानीको समस्या समाधान गर्न असम्भव छ । त्यसैले हामी यो पटक पिउने पानीको सहजताका लागि काम सुरु गर्नेछौँ ।’ वडाध्यक्ष खड्काले बताए ।

स्थानीय तहको निर्वाचन २०७९ बाट चुनिएर आएका जनप्रतिनिधिले आफूले निर्वाचनका बेला पानीको समस्या समाधान गरिदिने बाचा गरेकोले त्यसमा गम्भीर रहेको बताएका छन् । डोटी दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख बाजिसिंह खड्काले पिउने पानीको व्यवस्थापनका लागि केही वडामा बजेट विनियोजन भइसकेको र केहीमा बाँकी रहेको बताए । उनले भने, ‘डोटी जिल्ला भरमा सबैभन्दा बढी पिउने पानीको समस्या तिखामा छ । यहाँका महिलाहरू पिउने पानी ल्याउन घण्टौँ टाढा जानेगर्छन् । यो समस्या अब छिटै समाधान हुन्छ ।’

नगरप्रमुख बाजि सिंह खड्काका अनुसार दिपायल सिलगढी नगरपालिकाको माथिल्लो बस्ती (५, ६, ७, ८ र ९ नम्बर वडा) का लागि केन्द्रीय खानेपानी विभागबाट ३७ करोडको खानेपानी कार्यक्रम टेण्डर भएर काम सञ्चालनको अवस्थामा रहेको छ । तल्लो बस्ती (१,२,३,४ नम्बर वडा) मा भने अहिले संघ सरकार मातहतकै टुक्रे योजनाहरू कार्यान्वयनका चरणमा रहेका छन् ।

यो समस्याको दीर्घकालीन समाधानका लागि संघ सरकारसँग समन्वय भइरहेको उनले बताए । तल्लो बस्तीमा पनि छिटै दीर्घकालीन र ठूलो योजना ल्याएर जनताको पिउने पानीको समस्या समाधान गरिने उनले बताए । तल्लो बस्तीका लागि डोटीको सेती नदीबाट पनि पिउने पानी ल्याउनका लागि स्थानीय तहले योजना र बजेट ल्याएको उनले बताए । उनले भने, ‘दोस्रो चौमासिकमा बजेट कार्यान्वयनका चरणमा गएर काम सुरु हुन्छ । स्थानीयले चालु आर्थिक वर्षभित्रै घर नजिक पिउने पानी पाउँछन् ।’

नगरपालिकाका सूचना अधिकारी विष्णुराज जोशीले स्थानीय सरकारले आर्थिक वर्ष २०७८/७९ देखि नै स्थानीयहरूको पिउने पानीको समस्या समाधानका लागि काम गरिरहेको बताए । उनले आर्थिक वर्ष २०७९/८० मा मात्रै साना ठूला ४५ नगरस्तरिय खानेपानी योजना कार्यान्वयनको चरणमा रहेको बताए । छिटै नगरको यो समस्या समाधान हुने नयाँ जनप्रतिनिधिहरूको प्रतिबद्धता पनि रहेको छ ।

घर नजिक पिउने पानीको व्यवस्था भइदिए यहाँ बस्ने सबैलाई सहजता हुनेछ । सबैभन्दा बढी सहजता यहाँका महिलाहरूले महसुस गर्नेछन् । ‘पिउने पानी बोक्नमै हाम्रो बढी समय जान्छ । त्यो समय जोगिए, हामीलाई निकै सहजता हुनेथियो,’ स्थानीय कमला खड्काले भनिन्, ‘घर नजिक पानीको व्यवस्था भए महिलालाई ठूलो कार्यभार कम भएको महसुस हुनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *