राष्ट्रपति भण्डारीको सक्रियता राजनीतिबाट प्रेरित भयो

काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता राजनीतिबाट प्रेरित भएको बताएका छन् ।
आफूले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधिसभाले हुबहु पास गरेपछि राष्ट्रपति भण्डारीले भेटवार्ता तीव्र बनाएकी छन् । उनले बुधबार मात्र सैनिक अधिकारी र कानुनविद्हरुसँग परामर्श गरेकी थिइन् ।
बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा राष्ट्रपतिले गरेको भेटवार्ता र राजीनामा दिने चर्चाबारे छलफल भएको नेकपा एसका नेता माधव नेपालले बताएका छन् । नेपालले राष्ट्रपतिको कदम देशप्रति शंखास्पद रहेको बताए ।
एक सहभागीका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटबारे जानकारी गराएका थिए ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि राष्ट्रपतिको सक्रियतामा असन्तुष्टि जनए भने गृहमन्त्री बालकृष्ण खाँणले विधेयकबारे बुझाउन आफूले गरिरहेको कामबारे ब्रिफिङ गरेका थिए । बैठकमा सहभागी एक नेता भन्छन्, ‘राष्ट्रपतिको सक्रियता राजनीतिबाट प्ररित छ भन्ने सबैको धारणा थियो ।’








