‘संसदबाट पारित विधेयक फिर्ता पठाउने तर संसद् विघटन गरी ल्याएको अध्यादेश संविधानको व्यवस्था देखाएर फिर्ता गर्नै मिल्दैन भन्ने’

काठमाडौँ । कांग्रेस सांसद मिनेन्द्र रिजालले संसदबाट पारित विधेयक फिर्ता पठाउने तर संसद् विघटन गरी ल्याएको अध्यादेश संविधानको व्यवस्था देखाएर फिर्ता गर्नै मिल्दैन भन्ने भनेर प्रश्न गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले २०७८ जेठ ९ गते प्रतिनिधिसभा दोस्रोपटक विघटन गरेको भोलिपल्ट नागरिकता अध्यादेश जारी गरेको प्रसंग उल्लेख गर्दै रिजालले प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूलाई प्रश्न गरेका हुन् ।
‘२०७८ जेठ ८ गते संसद् विघटन हुन्छ । ९ गते नागरिकता अध्यादेश आउँछ । संसद् विघटन गर्ने अनि अध्यादेशको रूपमा नागरिकता कानुन ल्याउने । अध्यादेशको रूपमा आयो भने राष्ट्रपतिले तत्काल केही गर्न आवश्यक भएमा अध्यादेश ल्याउन पाउनेछ भन्ने अधिकारको दुरुपयोग गरेर अध्यादेश फिर्ता गर्ने अधिकार छैन भन्ने ? उनले भने, ‘संसद्ले पारित गरेको विधेयक फिर्ता गर्न मिल्ने अनि संसद् विघटन गरेको र संसद्प्रतिको उत्तरदायित्व अन्त्य गरेर राष्ट्रपतिकहाँ गएको अध्यादेश फिर्ता गर्न मिल्दैन’
रिजालले नेपालमा नागरिकता समस्या समाधान गर्नुपर्ने बताए । नेपालमा जहिल्यै पनि केही मानिसलाई नागरिकताविहीन बनाएरै राख्ने सोचबाट मुक्त बनाउँनुपर्ने उनको धारणा थियो ।








