महिला उद्यमशीलता प्रभावकारी बनाइ रचनात्मक भूमिका निर्वाह गर्न जरुरी छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसायलाई विस्तार गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न उद्योगी, व्यवसायीसँग आग्रह गरेका छन् ।

बिहीवार ललितपुरमा छैटौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो आग्रह गरे । उनले महिला उद्यमशीलता प्रवर्द्धन क्षेत्रलाई थप प्रभावकारी बनाइ रचनात्मक भूमिका निर्वाह गर्न जरुरी रहेको पनि बताए । प्रधानमन्त्री देउवाले यस्ता मेलाले व्यावसायिक सञ्जाललाई विस्तार गर्नुका साथै व्यवसायी र उपभोक्तासँगको सम्बन्धका साथै समन्वयलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । स्वदेशमै उपलब्ध कच्चा पदार्थ, स्रोत साधनलाई अधिकतम प्रयोग गरी स्वदेशमा उत्पादित सामग्री निर्यात गर्ने र विदेशी मुद्राको आर्जन, रोजगारी विस्तार गर्नमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री देउवाले भने, ‘महिला उद्यमशीलता प्रवर्द्धन क्षेत्रलाई थप प्रभावकारी बनाइ रचनात्मक भूमिका निर्वाह गर्न जरुरी छ । जुम्ला, हुम्ला, डडेल्धुराजस्ता विकट जिल्लाबाट पनि उद्यमशील महिलाहरू सहभागी भइ आफ्ना उत्पादन प्रदर्शनीमा ल्याएको जानकारी पाउँदा खुसी लागेको छ । यस्ता व्यापार मेलाहरूमा स्वदेशी कच्चा पदार्थ र नेपाली मौलिक सीपबाट उत्पादित स्वदेशी वस्तुहरूलाई प्राथमिकताका साथ समावेश गरेर प्रचारप्रसार तथा लगानी विस्तार गर्न आवश्यक छ । यसले दिगो विकासको लक्ष्यमा मद्दत पुग्नेछ । यसका लागि सरकार आवश्यक सहयोग गर्न तयार छ ।’

प्रधानमन्त्री देउवाले नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको भन्दै निजी क्षेत्रले नै नेपालको कुल गार्हस्थ्य उत्पादन, रोजगारीको सिर्जना बढाएको दाबी गरे । उनले अर्थतन्त्रका समस्या र चुनौतीको सामना गर्दै अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई चलाइराख्न सरकार र निजी क्षेत्रले उचित समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्ने खाँचो रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =