साेलुखुम्बु : ईन्टरनेट अवरुद्ध हुँदा राहधानी वितरण सेवा ठप्प !

साेलुखुम्बु । जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुमा ईन्टरनेट अवरुद्ध हुँदा राहधानी (पासपोर्ट) वितरण सेवा ठप्प बनेको छ । चट्याङका कारण ईन्टरनेट अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या देखिएकाे सहायक प्रमुख जिल्ला अधिकारीसमेत रहेकी सूचना अधिकारी सीता अधिकारीले मकालुखबरलाई जानकारी दिइन् । ‘पाँच दिनजत्ति भयाे,’ उनले भनिन्, ‘ईन्टरनेट छैन । त्याे भएर खासगरी राहदानी सेवाचाहिँ राेकिएकाे छ । यसले सेवाग्राहीलाई स्वाभाविकरूपमा असर गरेकाे छ ।’

उदयपुरको रौतामा परेकाे चट्याङका कारण डिभाइसमा समस्या आएपछि गत बिहीबारदेखि सोलुखुम्बु प्रशासनमा पनि ईन्टरनेट अवरुद्ध बनेको हो । ईन्टरनेटकाे विकल्प नहुँदा थप समस्या निम्तिएकाे अधिकारीले सुनाइन् । ‘ईन्टरनेट नै नभइसकेपछि त्यसकाे विकल्पमा केही गर्न नसकिने अवस्था छ ।’ ईन्टरनेट सेवा उपलब्ध हुन अझै २/३ दिन लाग्ने जानकारी आफूकहाँ आएकाे उनले बताएकी छन् । ‘त्यसबेलासम्म राहदानी सेवा प्रवाह गर्न नसकिने अवस्था बनेकाे छ,’ उनले भनेकी छन् ।

चाँडै सेवा लिन नपाउँदा थप समस्या झेल्नुपरेकाे सेवाग्रीहरूकाे भनाइ छ । ‘प्रशासनमा ईन्टरनेकाे विकल्प छैन । ईन्टरनेट नआउँदासम्म हामीले यत्तिकै बस्नुपरेकाे छ,’ प्रशासन परिसरमा भेटिएकाे सेवाग्राही प्रवीन राई भन्छन् । काम सक्ने र फर्किहाल्ने भनेर आएका सेवाग्राहीहरूकाे सदरमुकाम बसाइ अनिश्चित बनेकाे छ । यसले खर्चदेखि सबै कामहरू भद्रगाेल बनेकाे भनाइ राईकाे छ ।

अर्का सेवाग्राही गाेपाल वन पनि समयमा सेवा नपाउँदा चिन्तित छन् । ‘समयमा सेवा पाइएन । अब कति दिन सल्लेरी  (सदरमुकाम) बस्नुपर्ने हाे थाहा छैन । काम गर्ने महिनामा हामी अलपत्रै पर्‍याैँ,’ उनले भनेका छन् ।

सेवाग्राहीको समस्यालाई प्रशासनले मध्यनगर गरेर काम गरिरहेकाे जिकिर प्रमुख जिल्ला अधिकारी अनिल खनालकाे छ । कारणबस् राहदानी सेवा राेकिएपनि अन्य काममा प्रशासनले कुनै खाले ‘डीले’ नगरेकाे खनाल बताउँछन् । ‘ईन्टरनेट सेवा के भएर राेकियाे, यसबारे खासरूपमा थाहा भएन मलाई पनि,’ उनले भने, ‘तर हामीले चाँडै नै राहदानी सेवा दिने भनेर काम गरिरहेका छाैँ । यसबाहेक काम/कारबाहीमा कुनैखाले ढिलासुस्ती गरिएकाे छैन । सहजरूपमा सेवा प्रवाहकाे वातावरण मिलाएकाे छु ।’

उसाे त यसअघि प्रशासनले साँझ साढे ७ वा ८ बजेसम्म सेवा प्रवाह गर्थ्याे । प्रशासनले गणेशविक्रम शाह प्रमुख जिल्ला अधिकारी हुँदा शुरू भएकाे त्याे संस्कारलाई अहिले पनि निरन्तरता दिँदै आएकाे छ । यसबाट सेवाग्राही लाभान्वित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − one =