देव गुरुङ बन्दैछन् माओवादी केन्द्रकाे महासचिव ?

काठमाडाैँ । बुधबार बसेकाे नेकपा (माओवादी केन्द्र) काे स्थायी समिति बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले भने— ‘केन्द्रीय पदाधिकारी केही दिनभित्रै टुङ्गाे लाग्दैछ । त्यसकाे तयारी लगभग टुङ्गाे लागिसकेकाे छ ।’ यसपछि एक स्थायी समिति सदस्यसँग मकालुखबरले महासचिव काे बन्छ ? भनेर जिज्ञासा राखेकाे थियाे । बुधबार साँझ राखिएकाे त्याे जिज्ञासामा ती सदस्यकाे भनाइ थियाे— ‘विवाद नआउनेगरी र सबैकाे स्वीकाराेक्ति रहनेगरी अध्यक्ष कमरेडले छान्नुहुन्छ । जिम्मेवारी उहाँलाई नै दिइसकिएकाे हाे ।’ उनी व्यक्तिकाे नाम किटान गर्न भने मानेनन् ।

उसाे त महासचिवकाे मुख्य दाबेदारका रूपमा जनार्दन शर्मा र वर्षमान पुन देखिएका थिए । पार्टीकाे काम/कारबाहीमा ‘फ्रन्टलाइन’मा देखिने गरेका उनीहरूमध्येबाट महासचिव बनाउने भनिएपनि सकस भएकाे माओवादी वृत्तमा सुनिन्छ । । त्यसाे त शर्मा-पुनबीच खास हार्दिकताकाे सम्बन्ध छैन । भनिन्छ— जनयुद्धकालीन मनमुटाव अझैसम्म छ । त्यसकारण शर्मा-पुनमध्ये एकजनालाई महासचिव बनाइएकाे खण्डमा पार्टीमा आन्तरिक टुटफुट आउँछ कि भन्नेमा नेतृत्व पनि सचेत देखिन्छ । त्यसै पनि उनीहरूले पार्टीमा फरक-फरक गुट चलाउँछन् भन्ने आराेप लाग्दै नै आएकाे छ । यही कारण उनीहरूमध्येमा एकजनालाई महासचिव बनाइहाल्ने कदम नेतृत्वबाट भएन ।

यस्ताे अवस्थामा शर्मा-पुनले आपसलाई महासचिवका रूपमा स्वीकारेर बस्ने स्थिति नदेखिएकाे र उनीहरूबाहेकका नेतामा विकल्प खाेज्ने प्रयास भइरहेकाे एक नेता बताउँछन् । उनले भनेका छन्, ‘उहाँहरू (शर्मा-पुन) मध्ये एकजनालाई महासचिव बनाउँदाखेरि पार्टीलाई क्षति हुन्छ कि भन्नेमा नेतृत्वले पनि साेच्नुभएकाे छ र सचेतता अपनाउँदै हुनुहुन्छ ।’ उसाे भए विकल्पमा काे त ? भन्ने प्रश्नमा ती नेता भन्छन्— ‘उहाँहरू नहुँदाखेरि हुने भनेकाे देव गुरुङ कमरेड वा उहाँकै सिनियारिटीकाे लाइनकाे मान्छे त हाे नि ।’

हुन त माओवादीमा यसअघि नै महासचिव बनिसकेका र हालका प्रवक्ता महरालाई नै पुन:महासचिव बनाएर अगाडि बढ्नेबारे पनि छलफल नभएकाे हाेइन । तर, उनीमाथि यसअघि सभामुख हुँदा लागेकाे दागका कारण पनि उनलाई महासचिव बनाउन नहुने कतिपय स्थायी समिति सदस्यहरूकाे भनाइ थियाे । यसपछि दृष्टिगत गर्दै नेतृत्वले यसबारे खासरूपमा छलफल चलाएनन् । जे हाेस् अहिलेकाे पार्टी राजनीति र भूमिका हेर्दाखेरि गुरुङ महासचिव बन्ने सम्भावना बलियाे रहेकाे माओवादी नेताहरूकाे भनाइ छ । ती नेताले थपेका छन्, ‘केही दिनचाहिँ आन्तरिक परिवेश फेरिएन भने उहाँ (गुरुङ) नै महासचिव बन्न सक्नुहुन्छ ।’

यसअघि शर्मा-पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सँगै भेटेका थिए । त्यसबेला उनीहरूले आफूहरूमध्ये जाे महासचिव बनेपनि हुने र अझै सकस परे आफूहरूबाहेकका नेतामा विकल्प खाेज्न खुल्ला रहेकाे प्रचण्डलाई बताएका थिए । यसपछि पुनसँग राखिएकाे जिज्ञासामा उनले भनेका थिए— ‘म आकांक्षी भने हुँ । तर बन्नैपर्छ भन्दिनँ । त्यसमा नेतृत्व खुल्ला हुनुहुन्छ ।’

२०७८ पुस ११ गतेदेखि १८ गतेसम्म काठमाडाैँमा चलेकाे ८औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष र केही केन्द्रीय सदस्यबाहेक अन्य पार्टी कमिटी र पदाधिकारी टुङ्ग्याउन सकेकाे थिएन । यसबीचमा स्याथी समिति, पाेलिटब्यूराेसँगै केही पार्टी कमिटीहरू यसबीचमा बसेकाे केन्द्रीय समित बैठकले टुङ्ग्याए पनि केन्द्रीय पदाधिकारी भने अझैसम्म टुङ्ग्याउन सकेकाे छैन । महाधिवेशनमा शर्मा र पुन गुटले खुलेरै नेतृत्वमाथि दबाब सिर्जना गरेका थिए । यसबेला पुन चीनमा थिए भने शर्मा महाधिवेशनमै सक्रियरूपमा लागेका थिए । त्यसबेला पुनकै आग्रहमा प्रचण्डले साता दिन चलेकाे महाधिवेशन उठात् सकाएकाे चर्चा माओवादी वृत्तमा चलेकाे थियाे ।

यसअघि असार १९-२१ बसेकाे बैठकले नै पदाधिकारी टुङ्ग्याउने भनिएकाे थियाे । तर, प्रचण्डले सकेनन् । केन्द्रीय सदस्यहरूकाे दबाबलाई थेग्न उनले ‘प्लिज केही दिन दिनुस्’ भनेर अनुनय गरेका थिए । तर, झन्डै डेढ महिना बित्दासमेत उनले टुङ्ग्याउन सकेका छैनन् । त्यसबेला पनि उनले पदाधिकारीकाे नाम टुङ्गाेमा पुर्‍याएकाे तर, त्याे नामावली उनकाे गाेजीबाटै गायब भएकाे बताइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *