पदाधिकारीको टुंगो लगाउँदै प्रचण्ड, को-को पर्लान् ?
माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले महाधिवेशन सम्पन्न गरेको झण्डै आठ महिनापछि पदाधिकारी टुङ्गो लगाउने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशन सम्पन्न भएपछि पटकपटक पदाधिकारी टुङ्गो लगाउने तयारी गरेपनि सफल हुन सकेका थिएनन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकमा पदाधिकारीसहित रिक्त स्थानमा पदपूर्ति गर्नुपर्ने माग नेताहरूले गरेका छन् । उनीहरूले माग गरेपछि अध्यक्ष प्रचण्ड आन्तरिक तयारीमा जुटेका छन् । यद्यपि, बुधबार ‘को कुन पदमा रहने ?’ भन्नेबारे टुङ्गो लागेको छैन । आज बिहान पुनः बस्ने स्थायी समिति बैठकबाट पदाधिकारीसहितका जिम्मेवारी टुङ्गो लगाउने तयारी भइरहेको स्थायी समिति सदस्य एवं प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
बैठकमा साङ्गठनिक विषयमा छलफल भएको बताउँदै महराले आजको बैठकले केन्द्रीय समिति, स्थायी समिति, पोलिटब्युरो र पदाधिकारी टुङ्गो लगाउने दाबी गरेका छन् । महाधिवेशन सम्पन्न भएपनि माओवादीले अहिलेसम्ममा कुनै समितिलाई पूर्णता दिएको छैन । ‘केन्द्रीय समिति, पोलिटब्युरो र स्थायी समितिमा थप्नुपर्ने साथीका विषयमा छलफल भयो । पदाधिकारी पनि टुङ्ग्याउनुपर्ने विषयमा विस्तृत छलफल भयो । करिब टुङ्गोमा पुगेका छौँ । बिहान ८ बजेपछि अन्तिम टुङ्गो लाग्छ,’ प्रवक्ता महराले भने ।
विवाद महासचिवमै
पार्टी अध्यक्षपछि दोस्रो कार्यकारी र पछि पार्टी अध्यक्ष हुने मुख्य पद महासचिव हो । महासचिवमै विवाद भएका कारण प्रचण्डले अहिलेसम्ममा पदाधिकारी टुङ्गो लगाउन नसकेका हुन् ।
माओवादी केन्द्रको विधानअनुसार १५ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति गठन हुन्छ । माओवादी केन्द्रमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ । अध्यक्षसहित १५ पदाधिकारी केन्द्रीय समिति बैठकबाट निर्वाचित हुने व्यवस्था माओवादी विधानमा छ ।
माओवादीमा वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ हुने निश्चित छ । श्रेष्ठ र मातृका यादवले आफू वरिष्ठ उपाध्यक्ष हुनुपर्ने दाबी गर्दै आएका छन् । स्थायी समिति बैठकमा समेत श्रेष्ठ र यादवले वरिष्ठ उपाध्यक्षमा आफ्नो दाबेदारी रहेको सङ्केत गर्दै आएका छन् ।
उपाध्यक्षमा कृष्णबहादुर महरा, देव गुरुङ, पम्फा भुसाल, मातृका यादव, वर्षमान पुन, जनार्दन शर्मा, गणेश साह हुने चर्चा छ । वरिष्ठ उपाध्यक्ष नभएपछि उपाध्यक्ष र महासचिव हुन नसकेपछि उपाध्यक्ष हुनुपर्ने केही नेताका दाउ छ । महत्त्वपूर्ण भनिएको र अध्यक्षपछिको दोस्रो कार्यकारी पद महासचिवका लागि ६ नेताबीच प्रतिस्पर्धा छ । महरा, गुरुङ, भुसाल, पुन र शर्माका साथै शक्ति बस्नेतमध्ये एक महासचिव हुने चर्चा माओवादीभित्र छ ।
पुन र शर्माले एकअर्कालाई रोक्न आफै महासचिव हुन नसकेको अवस्थामा अरू नेतालाई अघि सारिरहेका छन् । पुन र शर्माबीच ‘महासचिव को हुने ?’ भन्नेबारे चर्को प्रतिस्पर्धा छ । सोही कारण अध्यक्ष प्रचण्डले समेत पदाधिकारी चयनमा ढिलाइ गर्दै आएका हुन् । स्रोतका अनुसार प्रचण्डले पुनलाई महासचिव बनाउने सम्भावना अत्यधिक छ । पुनलाई महासचिव बनाएर शर्मालाई उपाध्यक्ष बनाउने चाहना प्रचण्डको छ ।
पुनले आफू महासचिव नभए शक्तिबहादुर बस्नेतलाई र शर्माले भुसाललाई अघि सारेका छन् । महरा ‘आफै हुनुपर्छ’ भन्ने प्रतिस्पर्धामा नभए पनि दाहालले अन्य नेता प्रतिस्पर्धामा आउँदा पूर्वमहासचिव भएकाले महरालाई नै अघि सार्न सक्ने अनुमानसमेत गरिएको छ । महासचिवका शक्तिशाली दाबेदारका रूपमा चर्चा भइरहेका पुन महाधिवेशनका समय उपचारका लागि चीनमा भएकाले त्यतिबेला पदाधिकारी टुङ्गो लगाउन नसकिएको हो ।
दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष तत्कालीन स्थायी कमिटी सदस्यमध्येबाट ल्याउने गृहकार्यमा अध्यक्ष प्रचण्ड छन् । यद्यपि, पोलिटब्युरो सदस्य भइसकेकी शशि श्रेष्ठसहितका नेतालाई समेत पदाधिकारीमा ल्याउने विषयमा छलफल भइरहेको छ ।








