प्रहरी समायोजनको माग गर्दै मधेस सरकारका मुख्यमन्त्री र मन्त्रीहरू नै धर्ना

जनकपुर । लामो समयदेखि प्रहरी समायोजन हुन नसकेपछि प्रहरी विहीन रहेको प्रदेश सरकारहरू आन्दोलनमै उत्रिन थालेका छन् । इतिहास मै पहिलो पटक सरकारका मुख्यमन्त्री र मन्त्रीहरू नै धर्नामा बसेर आन्दोलन थालेका हुन् ।
प्रहरी समायोजन हुनु पर्ने माग सहित मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत सहित मन्त्रीहरू धर्नामा बसेका हुन् । धर्नामा बसेका मन्त्रीहरूमा सञ्चार मन्त्री भरतप्रसाद साह, भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादव, राज्यमन्त्री रुबी कर्ण, खानेपानी तथा ऊर्जा मन्त्री ओमप्रकाश शर्मालगायत मन्त्रीहरू प्रदेश १ का प्रदेश प्रमुखको कार्यालय अघि धर्नामा छन् ।
मधेस प्रदेशले प्रहरी ऐन प्रमाणीकरण गराइसकेको भए पनि सङ्घीय सरकारले प्रहरी समायोजनमा नलग्दा सो ऐन कार्यान्वयनमा जान सकेको छैन । गत आइतबार मधेस सरकारले प्रधानमन्त्री शेरबहादुर देउवालाई सात दिनभित्र प्रहरी समायोजन टुङ्गो नलगाए आन्दोलनको चेतावनी दिएको थियो ।
प्रदेशले आफ्नै प्रहरी नहुँदा शान्ति सुरक्षा कायम गराउन समस्या आएको भन्दै मधेस प्रदेश सरकार लामो समयदेखि सङ्घीय सरकारलाई ध्यानाकर्षण गर्दै आएको छ ।
एक सातासम्म दैनिक २ घण्टा धर्ना बस्ने कार्यक्रम रहेको मधेस प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जानकारी दिए । मधेस सरकारले प्रदेश प्रहरी ऐन २०७५ पुस १५ नै मा प्रमाणीकरण गरिसकेको छ ।








