देश विकासका लागि युवाको भूमिका महत्वपूर्ण : मन्त्री बुढाक्षेत्री

सुर्खेत । कर्णालीका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले देशको चौतर्फी विकासका लागि युवाहरूको देशको चौतर्फी विकासका लागि युवा भूमिका महत्त्वपूर्ण गरेको बताएका छन् ।

राष्ट्रिय युवा परिषद् नेपालद्वारा सोमबार सुर्खेतमा आयोजित ‘कर्णाली युवा संवाद कार्यक्रम’ को उद्घाटन गर्दै मन्त्री बुढाले यस्तो बताएका हुन् ।

मन्त्री बुढाले प्रदेश सरकारले युवाहरूका लागि सीप, क्षमता विकासका विभिन्न कार्यक्रम समावेश गरेको बताए । उनले भने, ‘सामाजिक विकास मन्त्रालयले खेलकुद, श्रम तथा रोजगारीमा जोड्नुका साथै युवा सशक्तीकरणका क्रियाकलाप सञ्चालन गरिरहेको छ ।’

मन्त्री बुढा क्षेत्रीले राजनीतिक क्षेत्रमा युवाहरूको उपस्थिति बढ्न थालेको भन्दै स्थानीय सरकारमा थुप्रै युवाहरू निर्वाचित हुनुलाई युवा सशक्तीकरणका दृष्टिले महत्त्वपूर्ण उपलब्धि मान्न सकिने बताए ।

यस्तै, प्रदेशसभा सदस्य विमला केसीले युवाहरू मूल उद्देश्यबाट बरालिन नहुने विचार व्यक्त गरिन् । ‘कर्णालीको अशिक्षा र गरिबीविरुद्ध युवापंक्ति जाग्नुपर्छ,’ उनले भनिन् ‘युवाहरू श्रममा नजोडिएसम्म प्रदेशको विकास हुँदैन, प्रदेश सरकारले विभिन्न रोजगारीका कार्यक्रम ल्याएको छ, सबैले श्रमको सम्मान गर्न सके प्रदेशको विकासमा मद्दत पुग्दछ ।’

कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका पूर्व सदस्य एवं यूथ भिजन २०१५ निर्माण कार्यदलका संयोजक योगेन्द्र शाहीले युवा नीति तथा कार्यक्रम कार्यान्वयन सवालसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

कर्णाली युवा संवादमा कर्णाली प्रदेशसभा सामाजिक विकास समिति अध्यक्ष देवी ओली, हिमा गाउँपालिका जुम्लाका अध्यक्ष लक्ष्मण शाही र परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत प्यानल वक्ता थिए ।

समिति अध्यक्ष ओलीले सङ्घीयतालाई सफल बनाउने आधार प्रदेश संरचना भएकाले युवाको भविष्य पनि प्रदेशकै काँधमा रहेको बताइन् । परिषद्का कार्यकारी उपाध्यक्ष बस्नेतले युवा भविष्यको कर्णधार मात्र नभई वर्तमानको साझेदार एवं अंशियार भएको बताए । त्यस्तै गाउँपालिका अध्यक्ष शाहीले पालिकाले बनाएका ७३ नीतिमध्ये ११ वटा युवासँग सम्बन्धित नीति भएको जानकारी दिए ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा युवा सहभागीको माग

यस्तै कर्णालीका युवाहरूले अब हुने प्रदेश तथा प्रतिनिधिसभामा निर्वाचनमा सहभागी युवाहरूले क्षमताका आधारमा २५ वर्षमुनिका युवाहरूलाई पनि सहभागी गराउनुपर्ने माग गरेका हुन् ।

कर्णाली युवा संवादमा राज्यका हरेक निकायमा युवाको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने बताए । दैलेखकी कल्पना शाहीले प्रदेश स्तरमा युवा सीप विकास तालिम केन्द्र स्थापना गर्न ढिलाइ गरिएको बताइन् ।

यस्तै, कालिकोटकी रक्षा लुहारले महिला तथा किशोरीलाई रोजगारीमा जोड्न स्थानीय तह र पालिकाले आवश्यक नीति तथा कार्यक्रम बनाउन नसकेको गुनासो गरिन्।

‘पालिका बाहेकका माथिल्ला जिम्मेवार पदमा जानका लागि क्षमतावान् युवाहरूलाई उमेर बाधक भयो, २५–३५ उमेर समूहकालाई मात्र प्रदेशभन्दा माथिल्ला सदनहरूमा सहभागी गराउने व्यवस्था गरिएको छ,’ संवादमा सहभागी राजेन्द्र अधिकारीले भने, ‘प्रदेश, प्रतिनिधि र राष्ट्रियसभामा प्रतिनिधित्व गर्न सक्ने युवालाई २५ वर्षभन्दा एक दिन पनि कम भयो भने अवसरबाट वञ्चित हुनुपर्ने व्यवस्था न्यायोचित भएन ।’

संवादमा दैलेख, जाजरकोट, कालिकोट, जुम्ला र सुर्खेत जिल्लाका युवाहरूको सहभागिता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *