कार्चेनको कार्याकाल सकियो, नयाँ मन्त्री छान्ने जिम्मा पूर्वमुख्यमन्त्री शाहीलाई

सुर्खेत । कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीका रूपमा गैरसांसद नियुक्त भएका छिरिङ डम्डोल (कार्चेन) लामाको कार्यकाल सकिएको छ ।

लामाको कार्यकाल सकिएपछि नयाँ मन्त्री सिफारिस गर्न सोमबार बसेको नेकपा माओवादी संसदीय दलको बैठक बिना निष्कर्ष टुङ्गिएको हो ।

अन्य मन्त्री हेरफेर र समानुपातिक सांसदको कुरा उठेपछि बैठक निष्कर्ष विहीन भएका हो । पुराना मन्त्री हेरफेर गरेर नयाँलाई अवसर दिने विषय उठेपछि सहमति हुन नसकेको हो ।

पार्टीमा आवश्यक छलफल गरी विवाद टुङ्ग्याउने जिम्मा संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिइएको संसदीय दलकी प्रमुख सचेतक कृष्णा शाहले जानकारी दिइन् ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को सिफारिसमा लामालाई २०७८ माघ २३ गते मन्त्रीमा नियुक्त गरेका थिए । सांसद नरहेको व्यक्ति ६ महिनाको लागि मन्त्री बन्न सक्ने व्यवस्था छ । लामाको कार्यकाल आज (सोमबार) सकिएपछि माओवादी संसदीय बैठकले उनको ठाउँमा अर्का सांसदलाई सिफारिस गर्ने तयारी गरेको दलका सचेतक कृष्णा शाहले बताइन् ।

राजनीतिमा लाग्नुअघि लामामाथि जिल्ला अदालत हुम्लाले मूर्ति चोरीको अभियोग पुष्टि गरेको थियो । मूर्ति चोर जस्तो गम्भीर अभियोग लागेका लामालाई मन्त्री नबनाउन भन्दै मुख्यमन्त्री शाहीमाथि दबाब परेको थियो । तर, सत्ता गठबन्धनका कारण मुख्यमन्त्री शाहीले लामालाई मन्त्री नियुक्त गर्न बाध्य भएका थिए ।

यसअघि माओवादी डोल्पाका सांसद वीरबहादुर शाहीलाई मन्त्री बनाउने चर्चा चलेपनि अन्ततः गैरसांसद लामालाई मन्त्री बनाएर शाहीलाई ब्याक गराइएको थियो । नयाँ मन्त्रीमा डोल्पाको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रत्यक्षतर्फका उनै सांसद वीरबहादुर शाहीको नाम चर्चामा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *