‘वाम एकता’का लागि नेतृत्व तयार भएनन्, एमालेसँग पनि चुनावी तालमेल हुनसक्छ : झलनाथ खनाल (अन्तर्वार्ता)

'एमालेमा रहेका नेता/कार्यकर्ताहरूकाे अझै माया छ'

काठमाडाैँ । झलनाथ खनाल नेपाली कम्युनिष्ट आन्दोलनका एक अगुवा नेता हुन् । इलाम जिल्लाको तत्कालीन साँखेजुङ गाविस वडा नं. ४ को पण्डित गाउँमा २००६ साल चैत ६ गते जन्मिएका झलनाथ पूर्वप्रधानमन्त्रीसमेत हुन् । हाल सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता रहेका उनी राष्ट्रिय राजनीतिमा देखा पर्ने गरेका र त्यसका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा उब्जिने समस्याहरूमाथि निरन्तर बहस-पैरवी गरिरहन्छन् ।

उनले एकीकृत समाजवादी गठन भइसकेपछि पनि पार्टीकाे प्रतिनिधित्व गर्दै संसद् र संसद्‌बाहिर उसैगरी आफूलाई प्रस्तुत गरे । अमेरिकी सहायता परियाेजनाहरू एमसीसीदेखि एसपीपीसम्मका कटु आलाेचक उनी ‘वैज्ञानिक समाजवाद’बारे निरन्तर वकालत गरिरहन्छन् । यसकाे माध्यमबाट मात्रै सबैखाले निकास भेटिन्छ भन्ने निष्कर्ष निकालेर बसेका झलनाथ त्यसका लागि सबैभन्दा पहिले ‘वाम ध्रुवीकरण’ हुनुपर्छ भन्ने ठान्छन् । त्यसकाे प्रयासस्वरुप विभिन्न भेटवार्ता, छलफल एवम् बहस भइरहे पनि वाम ध्रुवीकरणले आकार भने लिइसकेकाे छैन । यद्यपि शीर्षस्थ नेताहरूले प्रयास भने जारी राखेका छन् ।

यसबीचमा झलनाथसहितका नेकपाकालीन बहुमत सचिवालय सदस्यहरूकाे बैठक पनि पटक-पटक बस्याे र विचार/सिद्धान्त मिल्नेहरूसँग कार्यगत एकता गर्ने निष्कर्षसमेत निकाल्याे । जसअनुसार पाँचदलीय गठबन्धनभित्र ‘वाम उपगठबन्धन’काे तयारीसमेत भइरहेकाे छ भने अन्य प्रगतिशील शक्तिहरूसँग पनि तालमेल गर्ने दिशातिर गठबन्धनभित्र रहेका वामपन्थीहरू शक्तिहरू उन्मुख छन् । जसमा झलनाथ एमालेसँग पनि ध्रुवीकरण हुनुपर्ने पक्षमा छन् । यी यावत् सन्दर्भहरूमा गठबन्धनसमेतलाई कायम राखेरै अगाडि बढ्ने अवस्था बन्ला कि नबन्ला ? आसन्न निर्वाचनसम्म गठबन्धन सग्लै रहन्छन् कि रहँदैनन् ? गठबन्धनले धाेका दियाे भनेर निष्कर्ष निकालेकाे एकीकृत समाजवादी किन फेरि पनि गठबन्धनबिना भर मानिरहेकाे छैन ? अनि अब ‘वाम एकता’काे उपादेयता सकिएकाे हाे वा अझै बाँकी छ ? यी र यस्तै यस्तै प्रश्नहरूकाे जवाफ मकालुखबरले सम्मानित नेता झलनाथ खनालसँग खाेजेकाे छ ।, याे हेराैँ ।

०००

चुनावको मिति घाेषणा भइसकेको छ, तपाईं र तपाईंकाे पार्टीको तयारी के छ ?
चुनावको मिति घोषणा भइसकेपछि सबै पार्टीहरूले आ-आफ्ना रणनीति बनाउन थालेका छन् । हामीले पनि आफ्नो रणनीति बनाउन थालेका छौँ । हामीले भर्खरै केन्द्रीय परिषद्को बैठक सम्पन्न गर्‍याैँ । त्यो बैठकले देशका १६५ सङ्घीय निर्वाचन क्षेत्र र ३२० प्रादेशिक क्षेत्रमा उठ्नेगरी तयारीका लागि हामीले आमकार्यकर्तालाई आह्वान गरेका छाैँ । अहिले हामी सिङ्गो त्यसको तयारीमा जुटेका छाैँ । त्यसको साथै हामीले पाँचदलीय गठबन्धन पनि अगाडि बढाउने निर्णय गरेका छाैँ । आवश्यक मात्रामा गठबन्धन बाहिर पनि तालमेल गर्ने योजना छ र त्यसकाे प्रयास पनि भइरहेकाे छ । तालमेल कहाँ हुन्छ, हामी त्यसको तयारी गर्छाैँ र तालमेल नहुने ठाउँमा हामी अगाडि बढ्छाैँ । यो तरिकाले पार्टी अगाडि बढाउने तयारी भइरहेको छ । हामीसँग जनशक्ति छ, हामीले त्यसलाई परिचालन गर्नेछाैँ । र, म पनि सम्पूर्ण ढंगबाट निर्वाचनमा आफ्नो पार्टीलाई कसरी प्रस्तुत गर्ने भन्ने तयारीमा जुटेकाे छु । प्रधानमन्त्री तथा हाम्रो गठबन्धन दलको ठूलाे पार्टी कांग्रेस सभापतिसँग पनि निरन्तर छलफल भइरहेको छ । हामी यसैगरी अब आवश्यकताअनुसार छलफल वा तालमेल गरेर अगाडि बढ्छाैँ ।

देशका १६५ सङ्घीय निर्वाचन क्षेत्र र ३२० प्रदेशिक निर्वाचन क्षेत्रमै उम्मेदवारी दिने जनशक्ति एकीकृत समाजवादीसँग छ त, फेरि उम्मेदवारी दिएर मात्रै त नहाेला, जित्नु पनि पर्‍याे हाेला नि? 
हाम्रो पार्टी अहिले राष्ट्रव्यापीरूपमै विस्तार भइसकेकाे छ । हामीले यसलाई राष्ट्रिय पार्टीका रूपमा विस्तार गरिसकेका छाैँ । अझै हामीले यसलाई विस्तारको प्रकृयामा लानुछ । यो पार्टीलाई अझै हामीले सुधारेर लानुपर्ने भएकाे छ र हामी त्यसमै छाैँ । जस्तो कि यसलाई वर्ग-आधारित जन-आधारित व्यापक पार्टीको रूपमा यसलाई हामीले विकास गरेर लैजानुपर्ने छ । र, हाम्राे पार्टी व्यापकरूपमा विकास तथा विस्तारसमेत भइरहेको छ । त्यो आधारमा देशव्यापीरूपमा उठाउने जनशक्ति हामीसँग छ । तर हामी तालमेल पनि गर्छाैँ । जहाँ तालमेल सम्भव हुन्छ तालमेल गर्छाैँ, तालमेल र गठबन्धन नहुने ठाउँमा स्वाभाविक ढङ्गबाट हामी अगाडि बढ्छाैँ, हामी आफैँ उम्मेदवारी दिन्छाैँ र जित्छाैँ पनि ।

तपाईंकै पूर्वदल एमालेसँग पनि तालमेल फुकुवा हुनुपर्छ भन्ने तपाईंकाे अभिव्यक्ति छ, तर पार्टी अध्यक्ष माधवकुमार नेपालले तालमेल हुँदैन भनेर भनिरहनुभएकाे हामीले सुन्दै आएका छाैँ, तपाईंहरूबीच किन सामान्य समझदारी पनि नभएकाे ? यहाँहरू सँगै बसे छलफल गर्नुहुन्न ?
हामीले अहिलेको समाजवादी क्रान्ति र रूपान्तरणको युगमा वामपन्थीहरूकाे बीचमा एकता गर्ने कुरालाई जोड दिएर जाँदा राम्राे हुन्थ्याे । तर, वामपन्थी शीर्षस्थ नेताहरू नै त्यसका निम्ति तयार छैनन्, देखिँदैन । त्यसाे भएकाे हुनाले अहिले पाँचदलीय गठबन्धनलाई अगाडि बढाएर जानुको विकल्प छैन । अन्य कुराहरू हल्लाहअनुसार मात्रै हामीले गर्नेछाैँ । हामीले विद्रोह गरेर बनाएको पार्टी हो, यस्ता हल्लाहरू आउँछन्-जान्छन् । हामीचाहिँ मिलेर पार्टीलाई जाेगाएर अगाडि जाने हाे । अध्यक्ष कमरेडसँग हामी समझदारीमै काम गरिरहेका छाैँ । कतिपय वैचारिक कुराहरूमा कहिलेकाहिँ मत बाझिनु राम्राे हाे । त्यसले अझै निष्कर्षमा पुग्न सघाउँछ ।

पछिल्लो समय तपाईंको झुकाव एमालेतिर पनि छ भनेर विश्लेषण गरिन्छ, यसबारे तपाईंकाे भन्नू के छ ?
यो बिलकुल निराधार हल्ला हो । एमालेको नेतृत्वसँग हामीले विद्रोह गरेका हाैँ, एमाले पार्टीसँग होइन । हाम्रो विद्रोह कम्युनिष्ट आन्दोलनसँग होइन र थिएन पनि । हामी कम्युनिष्ट आन्दोलनलाई वैचारिक राजनीतिक कार्यदिशा र नीति-सिद्धान्तको आधारमा एकताबद्ध बनाउन चाहन्छाैँ । एउटा एकीकृत सशक्त पार्टी बनाउने हाम्रो उद्देश्य हो । तर, त्यस कामका लागि पहिले वैचारिक राजनीतिक कार्यदिशा नीति-सिद्धान्तमा एकरूपमा हुनुपर्छ । त्यो एकरूपता नभएका हुनाले हामीले एमालेको नेतृत्वसँग विद्रोह गर्‍याैँ । त्यहाँका आमकार्यकर्तासँग होइन, हामी त्यहाँका आमकार्यकर्ता र क्रान्तिकारी नेताहरूलाई अहिलेपनि माया गर्छाैँ । उहाँहरूसँग हाम्रो एकता हुन पाए हुन्थ्यो भन्ने चाहना छ । तर नेतृत्व दक्षिणपन्थी भड्कापको बाटोमा गएपछि हामीले विद्राेह गरेका हाैँ । हाम्रो विरोध नेतृत्वसँग हो, आमकार्यकर्ता र पार्टीसँग होइन, थिएन ।

उसोभए अझै पनि तपाईंलाई एमाले पार्टीप्रतिकाे भयङ्कर माया छ है ?
माया छ, हामीलाई सिङ्गो कम्युनिष्ट आन्दोलनको माया छ । एमाले मात्र होइन, उसका कार्यकर्ताहरू; जसलाई हामीले बनानाैँ । ती कार्यकर्ताको हामीलाई माया छ । तर, उहाँहरू सही वैचारिक राजनीतिक कार्यदिशा नीति-सिद्धान्तको पक्षमा आएर अझै ठूलो योगदान गर्नुभएकाे भए धेरै राम्रो हुन्थ्यो भन्ने शुभेच्छा पनि छ ।

भनेपछि तपाईंहरूकाे विद्रोह पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मात्र हो भन्न मिल्यो ?
एउटा व्यक्तिसँग मात्र पनि होइन, ओलीले अगाडि सारेका नीति-सिद्धान्त, कार्यशैली, कार्यपद्धति इत्यादिसँग हाे हाम्रो विद्रोह । ती गलत विचार, नीति र सिद्धान्तसँगको विद्रोह हो । हामीले व्यक्तिसँग लड्नु छैन । निर्वाचनमा एमालेसँग पनि कार्यगत एकता हुनसक्छ । यहाँ अनौठो मान्नुपर्ने कुरा छैन । त्यहाँ राम्रो मान्छेहरू पनि छन् । उहाँहरूले सही विचार र सिद्धान्तमा लाग्न नसकेपनि उहाँहरूप्रति सम्मान नै छ ।

‘वाम-एकता’ को चर्चा र बहस अझै वामवृत्तमा सेलाएको छैन, कतिपयले यसको उपादेयता सकियो भनेर पनि विश्लेषण गर्छन्, यसमा तपाईंको भनाइ के छ ?
यो कुरा अहिले खास गरिकन तुलनात्मक रूपले अरुभन्दा ठूलो आकारमा रहेको एकालेको नेतृत्वमा निर्भर छ । यदि एमालेको नेतृत्वले सबै वामहरूलाई सम्मानजनक ढंगले एकताबद्ध गरेर लैजाउँ भन्ने चाहना राख्छ भने वामपन्थी एकताको लागि पनि ढोका बन्द छैन । तर त्यो खालको सोच नराखेको अवस्थामा स्वाभाविकरूपले तालमेल र मोर्चाबन्दी गरेर अगाडि बढ्छ । अहिले वामएकताको सम्भावना न्यून छ । गठबन्धन अगाडि बढ्छ ।

पछिल्लो तपाईंका अभिव्यक्तिले गठबन्धन रुष्ट हो ? सिट बाँडफाँटमा स्थानीय तहको निर्वाचनमा पनि तपाईं रुष्ट देखिनुभएको थियो । समाजवादीलाई गठबन्धनले उचित स्थान दिएन भनेर कुराहरू पनि आए नि ? अहिले कसरी अगाडि बढ्ने सोचमा हुनुहुन्छ ?
हामी पाँचदलीय गठबन्धनलाई कायम राख्दै अगाडि बढ्ने सोचमा छाैँ । यदि कुनै वामपन्थी देशको मेजर वामपन्थीले नयाँ प्रस्ताव ल्याए सिङ्गो देशलाई नै एकताबद्ध गरेर जाउँ भन्ने प्रस्ताव ल्याए भने त्यो प्रस्तावको लागि हामी छलफल गर्न तयार छाैँ । ती सबै छलफलको लागि हामी ढोका बन्द गर्दैनाैँ । एमालेसँग पनि छलफलका लागि हाम्रो ढोका बन्द छैन । तर अहिले हामी पाँचदलीय गठबन्धन गरेर जाउँ भनेर निर्णय गरेका छाैँ । त्यसको तयारीमा हामी छाैँ । हामी हाम्रो भाग गठबन्धनमा राम्रो पाउने कुरामा विश्वस्त पनि छाैँ ।

तपाईंहरू गठबन्धनसँग रुष्ट पनि हुनुहुन्छ, तर फेरि पनि गठबन्धन कायमै रहनुपर्छ भन्नुहुन्छ । तपाईंहरू चिढिँदै भएपनि गठबन्धनसँग टासिरहनुभएकाे कन ? तपाईंहरू एउटै निर्णयमा किन तटस्थ रहनुहुन्न ?
हाम्रो पार्टी विचार मिल्ने वामपन्थीकाे बीचमा माेर्चा गर्ने पक्षमा छ । पार्टी एकीकरण अहिले कसैसँग सम्भव छैन । विचार मिल्नेहरूसँग वामपन्थी एकता गर्ने पक्षमा छाैँ । हाम्रो पार्टी, माओवादी केन्द्र, जनमाेर्चा, जसपाजस्ता पार्टीको मोर्चा हामी बनाउँदैछाैँ । हामीले चाँडै माेर्चा बनाउँछाैँ । त्यो माेर्चाले अब कोसँग, कसरी तालमेल गर्ने, कति सिटमा तालमेल गर्ने भन्नेबारेमा नयाँ ढङ्गले अगाडि बढ्न मद्दत गर्छ । तर हामी सरकारमा जानलाई मात्रै गठबन्धन बनाएको होइन । यो जनताको आवश्यकता हो । जनभावनाअनुसार काम गर्नका लागि हामी माेर्चा बनाएका हाैँ ।

उसोभए निर्वाचनअगाडि ‘वाम एकता’ सम्भव छ त ?
असम्भव त केही पनि छैन । सम्भावनाहरू छन् । त्यो सम्भावना हामीले मात्र देखेर सम्भव छैन । सबैले त्यो सम्भावना देख्नुपर्‍याे र सम्भावनालाई व्यवहारमा ल्याउने काममा पनि सबै नै लाग्नुपर्‍याे । सम्भावना धमिलोचाहिँ भा’को छ । चुनाव घोषणाभन्दा अगाडि नै एकता होस् भन्ने चाहना सबैको थियो । अब पाँचदलीय गठबन्धनले नै हामी गठबन्धन गरेर जाने भन्ने घोषणा गरिसकेपछि त्याे बृहत् ‘वाम एकता’ को सम्भावना धेरै कम भएर गएको छ । यद्यपि सम्भावना त छँदैछ ।

माओवादी र एकीकृत समाजवादीबीच मात्रै पनि पार्टी एकता हुने भन्ने हल्ला चलेको थियो, त्याे प्रयास साँचो थियाे ?
पार्टी एकता अहिले कसैसँग पनि सम्भव छैन । कार्यगत एकता गरेर जाने कुरा हो । हामी अहिले कार्यगत एकतामा नै रहन्छाैँ, काेहीसँग पार्टी एकता नै चाहिँ गर्दैनाैँ ।

अबको चुनावमा तपाईंकाे योजना के छ ? कहाँबाट उठ्नुहुन्छ ?
म उम्मेदवार बन्छु, पार्टीले निर्णय गरेको छैन ।त्यसमा पार्टीले निर्णय गर्ला । पार्टीले इलाम ‘क’ या ‘ख’ जुनबाट पनि उठ् भनेको खण्डमा म उठ्छु र म लोकप्रिय मतले जित्छु । जाेसँग उठेपनि जित्छु ।

पहिला त एमाले ठूलाे पार्टी भएका कारण जित्नुभएको थियो, अहिले त पार्टी फुटेको भनेर भन्छन् बाहिर, जित्ने आधार के छ तपाईंसँग ?
मेरा जित्ने आधार थुप्रै छन् । हाम्रो पार्टी सङ्गठन त्यहाँ ठूलो छ । व्यापक जनताको समर्थन छ । अन्य कतिपय पार्टीले पनि मलाई समर्थन गरेको अवस्था छ । त्यो भएको कारण मैले अत्यधिक मतले जित्ने कुरामा कुनै दुईमत छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *