सडक निर्माणमा भ्रष्टाचार : अदानचुलीका अधिकृत, इन्जिनियरदेखि ठेकेदारविरुद्ध आरोपपत्र दायर

सुर्खेत । हुम्लाको अदानचुलीका निमित्त अधिकृत, इन्जिनियर, सव–इन्जिनियरले २१ लाख बढीको नक्कली विल बनाएर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ । आइतबार आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले उनीहरू विरुद्ध आरोपपत्र दायर गरेको प्रेस विज्ञप्ति जारी गरेका हुन् ।

आयोगका अनुसार अदानचुलीका निमित्त कार्यकारी अधिकृत टकदत्त प्याकुरेल, इन्जिनियर मकर ध्वज शाही र असिस्टेन्ट सव–इन्जिनियर विनोद थापाले पालिकाको आर्थिक वर्ष २०७६/०७७ का विभिन्न योजनाहरू आफू अनुकूलका व्यक्तिहरूलाई पारेर आर्थिक अनियमितता गरेको उजुरीको निवेदनमा आयोगले अनुसन्धान गरेको थियो ।

आयोगको अनुसन्धानको आधारमा अदानचुली गाउँपालिका–१ थलाल्नादेखि कल्खेसम्म र वडा नम्बर ४ को लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा सरकारलाई हानि नोक्सानी पुर्‍याएको अख्तियारको ठहर गरेको छ ।

अख्तियारले निमित्त अधिकृत प्याकुरेल, इन्जिनियर शाही र असिस्टेन्ट सव–इन्जिनियर थापाले उक्त सडक निर्माणमा २१ लख ४७ हजार चार सय ९२ रुपैयाँ ठेकेदार गणेश भण्डारीले फिल्डमा गरेको वास्तविक काम भन्दा नापी किताबमा बढी काम देखाई झुट्टा विल बनाएर भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको हो ।

उनीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ दफा ८ को उपदफा १ को खण्ड ९ग० र ९ङ०को कसुर ठहर गरी २१ लाख ४७ हजार चार ९२ रुपैयाँ बिगो दाबी र सोही ऐनको दफा ८ को उपदफा १ बमोजिम नै कैद सजाय समेत माग गरिएको छ ।

यस्तै, अख्तियारले ठेकेदार भण्डारीले उक्त सडक निर्माण कार्यमा गाउँपालिकालाई हानी पुर्‍याउने उद्देश्यले फिल्डमा भएको वास्तविक कामभन्दा नापी किताबमा बढी काम देखाएर काम भन्दा बढी भुक्तानी लिएको पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *