साना कम्युनिस्ट घटकलाई एकतामा आउन केपी ओलीकाे आह्वान

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन बाहिर रहेका साना कम्युनिस्ट घटकलाई एकतामा आउन आह्वान गरेका छन् ।

तुलसीलाल अमात्यको २५ औँ स्मृति दिवसको अवसरमा मंगलवार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले कम्युनिस्ट पार्टी सिद्धाउने दुष्ट उद्देश्य भएका वामपन्थी भन्नेहरू गठबन्धनमा रहेको भन्दै गठबन्धन बाहिर रहेका कम्युनिस्ट वामपन्थी व्यक्तिहरू शक्तिहरूलाई पार्टी एकताका लागि आह्वान गरेका हुन् ।

ओलीले कम्युनिस्ट सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउनेहरू सच्चा वामपन्थी हुनै नसक्ने तर्क गरे ।

त्यस्तै उनले जनार्दन शर्मामाथिको छानबिन पूर्ण नै नभएको भन्दै गठबन्धनले निर्लज्ज तवरले उनलाई नै अर्थमन्त्री बनाएको बताए । करको दर हेरफेरमा व्यक्ति मात्रै नभएर सिङ्गै सरकार र गठबन्धनको संलग्नता देखिएको उनको भनाई छ ।

त्यस्तै अध्यक्ष ओलीले वर्तमान सरकारको नेतृत्व गरिरहेको कांग्रेस देशद्रोही पार्टी भएको आरोप लगाए । मातृकाप्रसाद कोइरालाको नेतृत्वको सरकारले नै ११ साल देखि नै देशको हित विपरीतको सम्झौता हुन सुरु भएको उनले बताए ।

उनले मातृकाप्रसाद कोइरालाको तत्कालीन सरकारले नै उत्तरी छिमेकी देशको सिमानामा दक्षिणी छिमेकीको फौज लगेर राखेको र स्वाधीनता विपरीतको काम भएको आरोप लगाए ।

अध्यक्ष ओलीले कांग्रेसले विगतदेखि नै देशभक्तहरूमाथि दमन गरेको र त्यसले अहिले पनि निरन्तरता पाइरहेको तर्क गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *